१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाघले लियो दुईको ज्यान

बर्दिया — यहाँ तीन दिनमा बाघ आक्रमणबाट दुई जनाको ज्यान गएको छ । निकुञ्ज नजिकैका बस्तीमा बाघ आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाएका हुन् । आइतबार बिहान ठाकुरबाबा नगरपालिका १, डुम्रेनीमा बाघले आक्रमण गर्दा एक वृद्धको ज्यान गएको हो ।

बाघले लियो दुईको ज्यान

बंगुरलाई आहारा दिने क्रममा ७० वर्षीय पहडिया थारूमाथि बाघले आक्रमण गरेको थियो । नगरपालिका कार्यालयबाट करिब पाँच सय मिटर दूरीमा रहेको घरको आँगनमा रहेको बंगुर खोर नजिक वृद्धालाई आक्रमण गरी मारेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।


तीन दिनअघि मात्र गेरुवा गाउँपालिका ४, दंहामा बाघकै आक्रमणबाट ५६ वर्षीया रामकली शाहीको मृत्यु भएको थियो । नजिकै सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा उनी बाघ आक्रमणमा परेकी थिइन् । उनीसँगै गएका चारपाँच जना महिलाले भागेर ज्यान जोगाएका थिए ।


बाघले दिनदहाडै ज्यान लिन थालेपछि निकुन्ज आसपास त्रास छ । गत वर्ष माघ २२ गते बढैयाताल गाउँपालिका २, सीतापुरमा घाँस काटिरहेको समयमा बाघले आक्रमण गर्दा सोही ठाउँका ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको थियो ।


नरभक्षी बाघको खोजीमा ६ वटा हात्ती परिचालन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ‘दुई हात्ती भुरीगाउँ हुँदै निकुन्ज क्षेत्रमा परिचालन गरिएको छ,’ उनले भने, ‘चारवटा हात्ती गेरुवामा परिचालित छन् ।’ बाघको खोजीमा निकुन्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना पनि परिचालित छन् ।

प्रकाशित : भाद्र ८, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?