कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

रासस

काठमाडौँ — गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो ।

टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए ।

विभागका महानिर्देशकको संयोजकत्वमा गठित ८ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न ६ नाम छनोट गरेको थियो । ती ६ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो । ‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ ।


उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार, कसरी आएको थियो भन्ने मौसमी अवस्थाको जानकारी, हावाको गति, लम्बाइ र चौडाइ, स्थानीयको अनुभवलगायत मौसमी गतिविधिको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको महानिर्देशक वैद्यले बताए । समितिले उक्त प्रतिवेदन दुई हप्ताअघि मन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालयले आवश्यक तयारी गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

बारा र पर्सामा भीषण हावाहुरी आएलगत्तै जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपाल संस्थाका ६ सदस्यीय मौसमविद्को टोलीले गत चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । टोलीले उक्त मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्य सार्वजनिक गरेको छ ।

विभागका वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठ नेतृत्वको उक्त टोलीले ड्रोन क्यामेराबाट क्षतिको अवस्थाबारे भिडियो र तस्बिर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो । यसबाहेक भू–उपग्रहबाट लिइएका तस्बिरको समेत अध्ययन गरी विश्लेषण गरिएको थियो । ‘टोर्नाडो’ पर्साको जगत्नाथपुरबाट सुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको थियो ।

प्रकाशित : भाद्र ८, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?