लामिछानेसहित तीन जनाविरुद्ध दुरुत्साहन मुद्दा [अपडेट]

आइतबार बयान सुरु, थुनछेक बहसपछि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा सामान्य तारिखमा आदेश आउने 
रमेशकुमार पौडेल

चितवन — सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरू तीनै जना साउन ३० गते पक्राउ परेका हुन् ।

लामिछानेसहित तीन जनाविरुद्ध दुरुत्साहन मुद्दा [अपडेट]

अनुसन्धानका लागि दुई पटक म्याद थप गरी १० दिन थुनामा राखेको चितवन प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले तीनै जनामाथि एकै प्रकारको सजाय मागदाबी गरेको छ ।


सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिताको दफा १७७ र १८५ को कसुरमा उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ‘हामीले दफा १८५ (२) अनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरेका छौं,’ थापाले भने । गत वर्षको भदौदेखि लागू भएको संहितामा आत्महत्या गर्न बाध्य पारे सजाय हुने व्यवस्था छ ।


चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार मुद्दा दायर भएपछि आरोपितहरूसँग अदालतमा बयान लिन सुरु भएको छ । ‘अस्मिता कार्कीको बयान सकियो । बाँकी दुई जनाको बयान सोमबार हुन्छ,’ गिरीले भने । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग गरी रिहा गर्ने वा सामान्य तारिखमा छाड्ने आदेश दिन सक्नेछ ।


पुडासैनी साउन २० गते नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको मोबाइल फोन सेटमा रेकर्ड भएको भिडियो फेला परेको थियो । जसमा पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गरेको फोनमा भेटिएको भिडियो सञ्चारमाध्यमहरूमार्फत बाहिरिएको थियो ।


लामिछाने टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का सञ्चालक हुन् । पुडासैनी पहिला लामिछानेकै टिममा थिए । पछि उनी कार्यक्रम सञ्चालकका रूपमा अर्को टेलिभिजनमा गएका थिए ।


लामिछानेलाई पक्राउ गरेर भरतपुर ल्याइएपछि यहाँको चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि दिनहुँ प्रदर्शन भइरहेको छ । आइतबार पनि भरतपुर क्षेत्रमा प्रदर्शनकारीको बाक्लो उपस्थिति थियो । बिहान १० बजेदेखि जम्मा भएका प्रदर्शनकारीले दिनभर लामिछानेलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए । भीडलाई हटाउन प्रहरीले साँझपख दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

..........

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि आइतबार मुद्दा दायर गरिएको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।


पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रहरीले आइतबार नै अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।


तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ ।


अभियोग पत्रमा प्रहरी हिरासतमा रहेका रवि लगायत कसलाई के अभियोग लगाइएको छ भन्ने खुलाइएको छैन । रविसहित तीनैजनालाई प्रहरीले जिल्ला अदालत पुर्‍याइसकेको छ ।


मुद्दा दायर भएपछि अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ। यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ। मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन्। यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ।


साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ। प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुसन्धान गरेको हो। उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन्।


नेपालमा गत वर्षको भदौदेखि लागु भएको नयाँ कानुन अनुशार आत्महत्या गर्न बाध्य पारे पनि सजाय हुने व्यवस्था भएका हो। आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ। चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन्। तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ। जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ।


प्रकाशित : भाद्र ८, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?