पुडासैनी मृत्यु प्रकरण : प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?

रमेशकुमार पौडेल

चितवन — पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन नेपाल प्रहरीको केन्द्रि अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीले अनुसन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएका छन्।

उनको अनुसार अब अगाडिको प्रकृयाको टुंगो लगाउनुपर्ने जिम्मा सरकारी वकिलको हुने छ।

आइतबार तीनै जना आरोपीहरुलाई या त थुना मुक्त गर्नुपर्छ वा अदालतमा उपस्थित गराएर अगाडिको काम कारबाही तय गर्नुपर्ने हुन्छ। अनुसन्धान पूर्ण भइसकेको अवस्थामा जिल्ला सरकारी कार्यालयले फाइलको अध्ययन गरी को–कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नसक्छ। मुद्दा चलाउने निर्णय भए आजै मुद्दासहित तीनैजना आरोपीलाई अदालतमा पेश गरिन्छ र अदालती प्रकृया सुरु हुन्छ।

सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धानमा थप केही प्रमाणहरु चाहिने वा अनुसन्धान गर्नुपर्ने लागेमा प्रहरीलाई थप अनुसन्धानका लागि फाइल फिर्ता पठाउन सक्छ। यदी सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा आरोपीहरुलाई अभियोजन गर्न सकिँदैन भन्ने लागेमा मुद्दा नचालउने सिफारिस गर्न सक्छ।

जिल्ला सरकारी कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताले सदर गर्नुपर्ने हुन्छ भने यसैबीच प्रहरीले आरोपीहरुलाई थुनामुक्त गर्नसक्छ।

हिरासतमा लिएको व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रवधान छ। चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुसन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय लिएको थियो।

मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ।
यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ। मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन्। यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ।

साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ। प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुसन्धान गरेको हो। उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन्।

नेपालमा गत वर्षको भदौदेखि लागु भएको नयाँ कानुन अनुशार आत्महत्या गर्न बाध्य पारे पनि सजाय हुने व्यवस्था भएका हो। आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ। चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन्। तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ। जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ।


प्रकाशित : भाद्र ८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

तीज

कान्तिपुर संवाददाता

घरभरि चहलपहल बढेको थियो  । सानिमा, फुपू दिदी, माइजूहरू  ।

मामुले रातो सारी, चुरा, पोते लगाएको देखेर देवी पनि निकै दङ्ग थिइन् । कक्षा ४ मा पढिरहेकी देवीलाई तीज खुबै रमाइलो लागिरहेको थियो ।
‘तीजको रहर आयो बरी लै...’ गीत पूरै नआए पनि भाका मिलाई मिलाई छमछमी नाँचिरहेकी थिइन् उनी ।
मामुले सोध्नुभो, ‘देवी, आज निकै खुसी देखिन्छौ नि, किन हो ?’
मस्किएर जवाफ दिइन्, ‘मामु आज हजुरलाई कति राम्रो देखिएको छ । रातो सारी, रातो चुरा... ।’
‘अरू दिन म राम्रो देखिँदैन थिएँ र ?’
‘अरू दिन टि–सर्ट प्यान्ट, वान पिस लाउनुहुन्थ्यो । आज बेग्लै राम्रो क्या । वर्ल्डकै बेस्ट मामु ।’
‘अरू दिन त मामुलाई अफिस जानुपर्ने भएकाले सजिलो लुगा लगाउने गरेको नि,’ छोरीको चुरुकफुरुक देखेर मामुले जिस्किँदै भन्नुभयो, ‘हजुरआमाले हिजो पकाएको दरले राम्रै काम गरेजस्तो छ । मामुको निकै प्रशंसा गर्न थाल्यौ त... ।’
‘हो, हिजो मामुहरूले पकाएको मीठा मीठा खानेकुराको दर त बिर्सर्नै सक्दिनँ नि,’ देवीले भनिन्, ‘आज त केही पनि खान्नँ । म’नि तीजको व्रत बस्ने हो, फुपूदिदी र माइजूहरूजस्तै । कर गर्ने होइन नि मलाई, खाऊखाऊ भनेर... ।’
देवीको कुराले मामु छक्क पर्नुभो । ‘साना केटाकेटीले पनि व्रत बस्छन् त ? ठूलो भएपछि बसौली । अहिले हातमुख धोएर दूध र बिस्कुट खाऊ,’ सम्झाउन खोज्नुभयो, ‘होइन, बेकारको स्कुल बिदाले दिक्क बनाउँछन् बच्चाहरूले...।’
मामुको कुराले देवीलाई रिस उठ्यो । उनी जिद्दी गर्न थालिन्, ‘सानी भए’नि म त व्रत बस्ने हो । अस्ति फुपूले किनेर ल्याइदिनुभएको रातो चुरा दिनुस् । रातो लेहेंगा पनि दिनुस् ।’
त्यति नै बेला देवीका बाबा पनि आइपुग्नुभो, ‘हैन, केको गन्थन हो मामु–छोरीको ?’
‘हेर्नु न, मामुले मलाई तीजको व्रत बस्नु हुँदैन, सानी छेस् भन्नुहुन्छ,’ देवीले बाबालाई कुरा लगाउन थालिन्, ‘बाबा म ठूली भइसकेँ नि हैन ? फोर क्लास पढ्ने भइसकेँ नि है ।’
बाबा मुसुमुसु हाँस्नुभो । अनि भन्नुभयो, ‘कसले भन्यो मेरी छोरी सानी छ भनेर १ ठूली भइसकी । ज्ञानी छे । आफ्नो काम आफैं गर्छे, होइन त ?’
‘बाबा म पनि व्रत बस्छु । रातो चुरा र लेहेंगा लगाउँछु नि है,’ उनले बाबासँग पनि अडान दोहोर्‍याइन् ।
‘हुन्छहुन्छ । बाबा पनि व्रत बस्ने, छोरी पनि बस्ने, ओके १’ ‘ओके बाबा..’ उनी खुसी हुँदै कोठाभित्र पसिन् ।
‘तपाईं पनि बच्चाको अगाडि चाहिँदो नचाहिँदो कुरा गर्नुहुन्छ के ? तीजको व्रत पनि केटा मान्छेले बस्छन् ?’, मामुले बाबासँग गुनासो गर्नुभयो, ‘बच्चालाई पनि उकास्ने कस्तो हजुर त...?’
‘न रिसाऊ न । भगवान्को व्रत जोकोही पनि बस्न भइहाल्न नि,’ बाबाले भन्नुभयो, ‘छोरीले पनि परम्परा र रीतिरिवाजबारे जानोस्, बुझोस्, सिकोस् । खाली रिसाएर मात्रै हुन्छ । एकछिन् भोकै बस्छे, भोक लागेपछि फेरि खानेकुरा मागिहाल्छे नि ।’
मामु र बाबाको गन्थन चलिरहेकै थियो । देवी दौडँदै आइन्, रातो लेहेंगा र चुरामा चिटिक्क परेर ।
‘बाबा म कस्ती देखिएको छु ?’
‘आहा.. मेरी छोरी त कति राम्री देखिएकी.. चिटिक्क,’ बाबाले म्वाइँ खाँदै अँगालो हालेर भन्नुभो, ‘कसले बनाइदियो यति राम्री ?’
बाबाको प्रशंसाले देवी फुरुक्कै पर्दै भनिन्, ‘फुपूले पाउडर लगाइदिनुभो अनि गाजल पनि । हेर्नु त बाबा, यो चुरा अस्ति फुपूले नै ल्याइदिनुभएको ।’
‘ल.. ल.. अब मन्दिर जाऔं, छोरी पनि तयारी भएकी छे,’ फुपूले देवीलाई सुम्सुम्याउँदै भन्नुभो ।
धैरै गहना लगाएको देखेर बाबाले मामुलाई सम्झाउन थाल्नुभयो, ‘मन्दिर जाँदा यत्तिका गहाना लगाउन हुन्न के... खोल । भीडभाडमा हराउँछ, चोरी हुन सक्छ ।’
‘ह्या... वर्षदिनको तीजमा पनि गहना लगाउन नपाउनु,’ गुनासो गर्दै मामुले केही गहना फुकालेर राख्नुभयो ।
०००
मन्दिरमा भीड थियो । उनीहरूले बाहिरबाटै भगवान्को दर्शन गर्ने योजना बनाएका थिए । तर देवीको मामुलाई मनले मानेन । उहाँले भन्नुभयो, ‘म त भित्रै गएर दर्शन गर्छु ।’ मामु र फुपू दुवैजना पूजा गर्ने लाइनमा बस्नुभयो ।
बाबाले देवीलाई मन्दिरवरिपरि घुमाउन थाल्नुभयो । देवी दङ्ग पर्दै बाबासँग घुम्न थालिन् । ठाउँठाउँमा पिउने पानी बाँडिरहेका थिए । कतै पसलमा मिठाई र सेल पकाइरहेको देखिन्थ्यो । त्यो देखेर मुख रसाए पनि व्रत बसेकाले देवीले बाबालाई कुनै माग राखिन, चुप लागिरहिन् ।
कति व्रतालुहरू कमजोरीले लडेका थिए । उनीहरूलाई स्वयंसेवकले लगिरहेका थिए । देवीले सोधी, ‘बाबा किन यी आन्टीहरूलाई के भएको ?’
‘भोको पेट भएर कमजोरीले बेहोस् भएको नानु । भोको बस्दा ग्यास्टिक हुन्छ, रिंगटा लाग्छ । कमजोर भइन्छ नि त,’ बाबाले बुझाउनुभयो ।
कतिपय महिलाहरू गहना हरायो भन्दै रोएको/चिच्याएको देखेर देवीलाई नरमाइलो लागिरहेको थियो । साना बच्चा भीडमा अभिभावक हराएकाले रोइरहेको पनि उनले देखिन् । उसलाई पनि डर लाग्यो । उसले बाबाको हात झनै बलियोसँग समाइन् ।
उनीहरू वरिपरि घुमेर मन्दिर अगाडि आइपुग्दा मामु र फुपू पनि पूजा सकेर बाहिर निस्किनुभएको थियो । दौडँदै मामुको हात समाइन् देवीले । आफूले देखेका कुरा सुनाइन् ।
मामुले सबैलाई टीका र प्रसाद लगाइदिनुभयो । खाने प्रसाद पनि हातमा राखिदिनुभयो । देवीले प्रसाद लिन मानिनन् । उनले भनिन्, ‘आज त व्रत, दिनभरि केही खानुहुन्न भनेको होइन ? म त प्रसाद पनि खान्नँ ।’
‘त्यसो भन्नुहुन्न । पूजापाठ सकिएपछि प्रसाद खानुहुन्छ । बरु भोको पेट बस्नु हुन्न । अघि ती आन्टीहरूजस्तै कमजोर भएर लडिन्छ, बुझ्यौ ?’ बाबाले सम्झाउनुभयो, ‘अझ फलफूल त व्रत बसेका बेलामै खानेकुरा हो । ल यो स्याउ र जुस खाऊ त, मामु, छोरी, फुपू सबैले ।’ मामु र फुपूले पनि बाबाको कुरा काट्न सक्नुभएन । सबैले फलफूल र जुस खाए । मन्दिरवरिपरि निकै रमाइलो थियो । जताततै गीत घन्किरहेको थियो । मानिस समूह–समूहमा नाचिरहेका थिए । देवी पनि तीजको गीतमा नाच्न थालिन् । बाबा, मामु र फुपूले ताली बजाउनुभयो ।

रेजिना पाण्डे

प्रकाशित : भाद्र ८, २०७६ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्