१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भुक्तानी असारमै, काम अधुरै

मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिका ५ जुगुनिया–वीरनगरसम्मको सडक स्तरोन्नतिको काम कागजमा पूरा भइसक्यो । काम सकेर ठेकेदारले गत असारमै भुक्तानी पनि बुझिसके । तर फिल्ममा भने काम अझै अधुरै छ, जारी छ ।

सबै भुक्तानी लिएको एक महिनापछिसम्म काम पूरा नभएपछि स्थानीयले विरोध जनाएका छन् । स्तरोन्नतिको काम गुणस्तरहीन भएको पनि उनीहरूको आरोप छ । गत वर्ष जुगुनियादेखि वीरनगरसम्म करिब ५ किमि ग्राभेल सडक स्तरोन्नति र ६ वटा कल्भर्ट निर्माणका लागि ठेक्का लगाइएको थियो ।


जुगुनियादेखि बाघमारासम्म करिब १ किमि र नौरंगियादेखि वीरनगरसम्मको १ किमि सडकमा कुनै काम भएको छैन । बाँकी ३ किमिमा ८/१० ट्रली मिस्कट छरिएको छ । ‘ल हेर्नुस् गाउँको सिंहदरबारले गरेको काम,’ स्थानीय गोवर्द्धन यादवले डालपुर चोकमा स्तरोन्नतिका नाममा खसालेको बालुवा देखाउँदै भने । अहिलेका जनप्रतिनिधि कमाउन आएको उनको आरोप छ ।यस्तै कारणले विकास वर्षौं पछाडि धकेलिने उनले बताए । सडकका ठाउँठाउँमा बालुवा छरिएको छ । सडकको अवस्थामा कुनै सुधार छैन । ‘जस्तो पहिला थियो, अहिले पनि उस्तै छ,’ स्थानीय पूर्णप्रसाद न्यौपानेले भने, ‘पूजाको प्रसाद जस्तो मिस्कट छरेर झारा टारे ।’ ठेकेदारले गाउँपालिकाबाट २३ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिएको देखिन्छ ।


स्थानीयका अनुसार यहाँ ८/१० लाख रुपैयाँको काम भएको देखिन्न । अहिले यो सडक हिलाम्मे छ । यही सडकमा अघिल्लो आवमा पनि ७ लाख रुपैयाँ खर्चिइएको थियो । सडकमा अहिले ६ ह्युमपाइपका कल्भर्ट निर्माण गरिएको छ । त्यसमा प्लास्टर गरिएको छैन ।


गाउँपालिकाले गत असारमै काम पूरा भएको जनाउँदै भुक्तानी दिएको थियो । स्थानीयले विरोध जनाएपछि साउन अन्तिमसम्म ठाउँठाउँमा १/२ ट्रली बालुवा र मिस्टक खसालेर रोलिङको काम गरेको स्थानीय राजेन्द्र यादवले बताए । ‘झारा टार्ने काम मात्र भएको छ,’ उनले भने, ‘सडक स्तरोन्नति भनेर बजेट विनियोजन गरेकोबारे स्थानीयलाई जानकारी छैन ।’ योजनाबारे उल्लेख गरिएको बोर्ड कतै पनि छैन । ‘गाउँपालिकामा सोध्न जाँदा पनि कसैले केही बताएनन्,’ उनले भने, ‘नियोजित रूपमै अनियमितता गर्न खोजेको प्रस्ट हुन्छ ।’


सडक स्तरोन्नति र कल्भर्ट निर्माणका लागि ५० लाख रुपैयाँ बजेट थियो । योसहित तीनवटा योजनाको ठेक्का एकीकृत रूपमा लगाइएको थियो । गत आर्थिक वर्षमा जुगुनिया–वीरनगर सडक ५० लाख, त्रिपालनगर–बद्ददौर सडक ५० लाख र लोहरौला–सुरइपुल सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।


तीनवटै सडकको स्तरोन्नतिका लागि एकीकृत रूपमा १ करोड ३० लाख रुपैयाँको ठेक्का आहवान गरिएको थियो । अमर निर्माण सेवाले भ्याटसहित ८० लाख २४ हजार २ सय २४ रुपैयाँ ठेक्का सकारेको थियो । ०७५ चैत २६ मा भएको सम्झौताअनुसार ०७६ जेठ मसान्तसम्म सक्नुपर्ने समयसीमा तोकिएको थियो । काम पूरा नभएपछि एक महिना म्याद थप गरियो । असारमा काम नसकिँदै भुक्तानी दिइयो ।


तीन योजनाको गरेर ठेकेदारले ६२ लाख रुपैयाँ भुक्तानी बुझिसकेका छन् । जसमध्ये जुगुनिया–वीरनगर सडकको मात्र २३ लाख रकम भुक्तानी भइसकेको छ । अन्य योजनाको काम पनि कमसल भएको स्थानीयले बताए । असार मसान्तसम्म काम पूरा नहुँदै भुक्तानीका लागि योजनाको मूल्यांकन गरेर सिफारिस गरिएको गाउँपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले स्विकारे । ‘मैले रोक्न कोसिस गरेको थिएँ,’ उनले भने, ‘तर सकिनँ ।’ असारमा काम सकिएको कागजात तयार गरेर भुक्तानी लिएको उनले बताए । ‘तर काम साउन मसान्तमा सकियो,’ उनले भने ।


अमर निर्माण सेवाका स्थानीय प्रतिनिधि रामशरण यादवले साउन मसान्तमा सडक ग्राभेल गरी रोलिङको काम सम्पन्न भएको बताए । असारको चटारोका कारण योजना सम्पन्न नहुँदै भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीको भनाइ छ । ‘गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले अनुगमन गरेपछि मात्र रकम भुक्तानी दिइएको हो,’ उनले भने, ‘तर काम साउन मसान्तमा मात्र सकियो ।’

प्रकाशित : भाद्र ८, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?