कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्थलीमा ढल सडकमा

रामेछाप — मन्थली बजारमा ढल निकासको व्यवस्था नहुँदा हरेक दिन दुर्गन्ध बढ्दै छ । ढल नभएकाले सेफ्टी ट्यांकीको भरमा काम चलाइएको छ । ट्यांकी भरिँदा केही स्थानीयबासीले सडक नालामा ढल छाड्ने गरेका छन् । नगरपालिका र टोल विकास संस्थाले जथाभावी ढल छाड्नेलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । 

सेफ्टी ट्यांकी सफा गर्न जिल्लामा साधन र जनशक्ति छैन । तराई र सिन्धुलीबाट साधन झिकाएर फोहोर तान्ने गर्दै आएका स्थानीय त्यस्ता साधनले भने जति पैसा तिर्न बाध्य छन् । ‘भनेको बेलामा साधन पाइँदैन,’ स्थानीय कृष्ण थापा भन्छन्, ‘पाएमा पनि महँगो शुल्क बुझाउनुपर्छ । सेफ्टी ट्यांकीबाट निकालेको फोहोर फाल्ने स्थानसमेतको अभाव रहेको छ ।’


खानेपानी तथा ढल निकास विभागले मन्थली बजारको ढल व्यवस्थापनका लागि काम गर्न थालेको ६ वर्ष बितेको छ । करिब २ वर्गकिलोमिटर क्षेत्रफल भएको बजारबाट ढल व्यवस्थापन गर्ने कुरा अझै अधुरो छ । बिसर्जन स्थानको काम करिब सकिएपछि कतिपय लाइनबाट उक्त स्थानसम्म पुग्ने ढलको पाइपलाइन बनाउनै बाँकी छ ।


मन्थली बजार व्यवस्थापन समिति सचिव नवीन केसीका अनुसार सरकारले न्यून बजेट मात्र विनियोजन गर्ने र त्यो पनि कार्यालयले खर्च गर्न नसक्ने कारणले ढल निर्माणको काम यतिका वर्षसम्म अधुरो रहेको हो । यस वर्षसमेत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले मन्थली ढल निर्माणका लागि प्राप्त भएको रकम खर्च नगरेर करिब ८५ लाख फ्रिज गरेको छ ।


बजारको अधिकांश भागमा पाइप बिच्छाइसकेको उक्त आयोजना थप केही स्थानमा पाइप जोड्न सके आउने वर्षदेखि सञ्चालनमा आउन सक्ने सचिव केसीले बताए । उनले विसर्जन स्थानमा गत वर्ष रणजोरको बाढीले क्षति पुर्‍याएकोले उक्त स्थानमा मर्मतको काम गर्नुपर्ने र करिब २ सय मिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको बताए ।


पहिलो चरणमा बजार क्षेत्रको ढल विसर्जनका लागि काम थालिएको हो । आकाशे, गडुबारी, बजारकै पश्चिमी क्षेत्रमा पर्ने घरहरूमा उक्त आयोजनाले काम गर्न सकेको छैन । कुमालटार, सानीमदौ, भैंसेश्वर क्षेत्रमा पनि ढल विस्तार गर्नुपर्ने स्थानीयको माग रहेको छ । आकाशे र गडुबारी क्षेत्र होचो भागमा परेकाले पहिलो चरणको विसर्जन स्थानमा उक्त क्षेत्रको ढल ल्याउन नसकिने हुँदा काम थालनी नभएको हो ।


खानेपानी तथा ढल व्यवस्थापन आयोजना रामेछापका आयोजना प्रमुख जगन्नाथ पुर्बेले अबको एक वर्षमा मन्थली ढल सञ्चालनमा ल्याउने गरी काम अघि बढाउने बताए । उनले पाइपलाइनको बाँकी काम र विसर्जन स्थानमा मर्मत गरेर ढल सञ्चालनमा ल्याइने बताए ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?