कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा

चाँदनी कठायत

(वीरेन्द्रनगर) — बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् ।

बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा

करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनि लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कात्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको अनुसन्धानको क्रममा दुईजना जनप्रतिधि थुनामा परेका उनले बताए ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले घटना अनुसन्धानको क्रममा कात्तिक १९ मा स्थानीय उर्गेन पासाङ गुरुङ, जाम्पा छुल्डिम गुरुङ र छिरिङ गुरुङलाई काठमाडौंबाट पक्राउ गरेका थियो । कात्तिक २२ गते पासाङ लुन्डुप गुरुङ र त्यसको भोलिपल्ट वडाध्यक्ष कार्मा पक्राउ परेका थिए । चोरी घटनामा संलग्न भनिएका उपाध्यक्ष मल्ल टसी गुरुङ भने फरार थिए ।


प्रहरी निरीक्षक बमका अनुसार फरार उपाध्यक्ष गुरुङ पक्राउ परेका अन्य अभियुक्तसँगै एकैपटक जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले टसी गुरुङलाई सामान्य तारेखमा र वडाध्यक्ष कार्मा, छिरिङ तथा जाम्पालाई ५० हजार धरौटीमा रिहा गर्‍यो । अन्य तीनजना भने पुर्पक्षका लागि कारागार चलान भए ।


उच्च अदालत सुर्खेत (जुम्ला इजलास) ले असार १३ मा जिल्लाको आदेश उल्ट्याएपछि उपाध्यक्ष र वडाध्यक्ष पनि पुर्पक्षको लागि थुनामा परेका हुन् । प्रहरी निरीक्षक बमले उच्च अदालतको आदेशलगत्तै असार १८ चारैजनालाई पक्राउ गरी कारागा चलान गरिएको बताए ।


प्रहरीले भने ७ वर्षअघि चोरी भएका राहाप गुम्बाका बुद्धमूर्ति र स्तुपा अझैसम्म पनि फेला पार्न सकेको छैन । डोल्पाका बिभिन्न स्थानमा रहेका गुम्बाबाट मूर्ति चोरी हुँदै आएका छन् । धार्मिक तथा पुरातात्त्विक महत्त्वका मूर्ति तथा धर्मग्रन्थ चोरी हुनु प्रहरीको लागि चुनौती बनेको प्रहरी निरीक्षक बमले बताए । उपल्लो डोल्पाका शे गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायत गुम्बाबाट मूर्ति हराउने गरेका उनको भनाइ छ ।


बौद्ध धर्मालम्बीको बाक्लो बस्ती भएको उपल्लो डोल्पामा पछिल्लो चार बर्षयता थुप्रै बहुमूल्य मूर्ति चोरी भएका छन् । प्रहरीका अनुसार २०७२ चैत २८ गते डोल्पो बुद्ध गाउँपालिका ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट ४ थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी पुस्तक चोरी भएका थिए । हराएका ४ थान मूर्तिमध्ये ३ थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक स्थानीयको सक्रियतामा चोरी भएकै दिन बरामद गरिएको थियो । मूर्ति तस्करले पुरातात्त्विक मूर्तिमात्र नभई सुन र चाँदीका धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि आफ्नो निसानामा पारेका प्रहरीको भनाइ छ । त्यस्तै शे–फोक्सुन्डो गााउँपालिकाको रिग्मो गाउँमा रहेको ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट गत बर्ष हराएका ७ थान मूर्तिहरू अझै पत्ता लाग्न सकेका छैनन् ।


प्रकाशित : भाद्र ७, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?