कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मार्च अन्तिममा ‘सगरमाथा डायलग’

‘विश्वभरका २ सय विज्ञ अतिथि बोलाइने’

काठमाडौँ — नेपालले आफ्नो सरोकार र अन्तर्राष्ट्रिय सामयिक चासोका मुद्दामा बहस गर्ने/गराउने गरी ‘सगरमाथा डाइलग’ सुरु गर्ने भएको छ । आगामी मार्चमा गरिने यो संवाद कार्यक्रमका लागि जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र विषयक शीर्षक निर्धारण गरिएको छ ।

मार्च अन्तिममा ‘सगरमाथा डायलग’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको निर्देशक समितिको बैठकले डाइलगको सम्पर्क कार्यालय त्रिपुरेश्वरस्थित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा राख्ने निर्णय गरेको छ ।


‘नेपाललाई प्रत्यक्ष सरोकार राख्ने विषय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा विशिष्ट विज्ञहरूको राय लिने र बहस मञ्चको रूपमा यो डाइलगलाई विस्तार गर्ने सोच राखिएको छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘यसमा वातावरण, मौसम परिवर्तन, ऊर्जा, पर्वतीय अर्थतन्त्र, मौलिक परम्परा, राजनीतिक उपलब्धि वा शान्ति स्थापना आदिजस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय सरोकारमा आउनेछन् ।’


परराष्ट्रको नीति योजना विकास कूटनीति महाशाखाका अनुसार राष्ट्रसंघीय निकायका विषयविद्, विभिन्न मुलुकबाट सरकार प्रमुख र विज्ञहरू गरेर झन्डै २ सय जनालाई पहिलो बैठकमा आमन्त्रण गरिने भएको छ । स्थायी मञ्चका रूपमा रहने डाइलगले हरेक २ वर्षमा विषयगत रूपमा छलफल चलाउनेछ । शुक्रबारको बैठकमा परराष्ट्र सचिव शंकर बैरागीसहित विभागीय प्रमुखको उपस्थिति थियो ।


भारतमा पनि विदेश मन्त्रालयको संयोजकत्वमा राइसिना डाइलग भनेर सन् २०१६ यता बर्सेनि यस्तै बहुआयामिक विषयको संवाद कार्यक्रम चलाइने गरिन्छ । सिंगापुरमा पनि सांग्रिला डाइलगका नाममा बहुपक्षीय संवाद सञ्चालनमा छ ।

प्रकाशित : भाद्र ७, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?