१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

टीकापुर थारुवान सम्मेलन : बर्दिया सीमामा सुरक्षा बल तैनाथ

कमल पन्थी

बर्दिया — टीकापुरमा सुरु भएको थारुवान राष्ट्रिय मोर्चाको सम्मेलनलाई मध्यनजर राख्दै कैलालीसँग जोडिएको बर्दिया सीमामा सुरक्षा बल तैनाथ गरिएको छ । 

टीकापुर थारुवान सम्मेलन : बर्दिया सीमामा सुरक्षा बल तैनाथ

ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजापुर र आसपासका क्षेत्रमा परिचालन भएका छन् । ०७२ भदौ ७ गते टीकापुरमा भएको घटनालाई मध्यनजर राख्दै अप्रिय घटना नहुन दिन सुरक्षा बल तैनाथ राखिएको स्थानीय प्रशासनले जनाएको छ । उक्त घटनामा ७ प्रहरीसहित एक नाबालकको मृत्यु भएको थियो ।


आयोजक पक्षले शान्तिपूर्ण रुपमा कार्यक्रम हुने भएकोले सम्मेलनप्रति आशंका नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले संवेदनशीलतालाई मध्यनजर राख्दै सुरक्षा बल तैनाथ गरिएको बताए ।


‘राजापुरलाई कमाण्ड बेश बनाएर सुरक्षा बल तैनाथ छन्,’ उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ सय ५० जना सुरक्षा बल तैनाथ गरिएको छ ।’ कैलालीसँग जोडिएको जिल्लाको दौलतपुर, सनकट्टी र सत्तीघाटमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


जिल्लाबाट शनिबार बिहानसम्म करिब ५ हजार थरुवान समर्थक कार्यक्रममा सहभागी भएको सुरक्षा स्रोतले बतायो । टीकापुर जाने क्रम जारी छ । सामाजिक सद्भाव तथा थरुहट एकता, संविधान संशोधनसहित थरुहट प्रदेशका लागि भन्दै टीकापुरमा सम्मेलन भइरहेको छ । प्रजिअ कुरुम्बाङले टीकापुर सम्मेलन सम्पन्न नभएसम्म सुरक्षा निकायका प्रमुखसहित राजापुरमा मुकाम बनाएर बस्ने जनाए ।

प्रकाशित : भाद्र ७, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?