सवारी लाइसेन्समा बेथिति : पासफेल बिचौलियाले गर्ने

कुन दर्ता नम्बर कुन कर्मचारीलाई दिएको र कति पैसा खर्च गरेको जस्ता टिपोटसहितको डायरी प्रहरी कब्जामा
भूषण यादव

वीरगन्ज — यातायात व्यवस्था कार्यालय वीरगन्ज प्रसौनीविर्ताको ट्रायल सेन्टर अगाडिबाट गत मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले चारजना बिचौलियालाई नियन्त्रणमा लियो ।

विशेष सूचनाका आधारमा प्रहरीले विन्दवासिनी गाउँपालिका ३ इटियाही निवासी राजकुमार साह, सोही गाउँपालिका ४ मधुवन बस्ने अमलेशप्रसाद साह, प्रसौनी गाउँपालिका ३ नौतन बस्ने सतरोहन साह र हेटौंडा उपमहानगरपालिका ५ पिप्ले बस्ने समर्थन न्यौपानेलाई सादा पोसाकमा खटिएका प्रहरीले मंलगबार बिहान करिब ८ बजे नियन्त्रणमा लिएको थियो । उनीहरूबाट ९२ हजार रुपैयाँ र केही कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसदिन ट्रायल सेन्टरमा मोटरसाइकल र स्कुटीको प्रयोगात्मक परीक्षा चलिरहेको थियो । प्रहरी नायव उपरीक्षक अनन्त राम शर्माका अनुसार फेल भए पनि पास गराइदिने भन्दै परीक्षार्थीसँग निश्चित रकम असुली भइरहेको सूचनाको आधारमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । नियन्त्रणमा लिएको झन्डै ११ घन्टापछि मात्र प्रहरीले चारजनालाई सार्वजनिक गरेको थियो ।

यसअघि गत वैशाख १३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात सवारी चालक अनुमति कार्यालय नजिकै दुई जना विचौलियालाई घूस सहित नियन्त्रणमा लिएको थियो । लाइसेन्स बनाइदिए वापत सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घूस लिँदा–लिँदा हेटौंडाबाट शिवराम महर्जन नेतृत्वमा आएको अख्तियारको टोलीले स्थानीय रोशन रौनियार र बाराका सुनिल यादवलाई नियन्त्रणमा लिएको थियो ।

रौनियार र यादव लेखापढीमा संलग्न थिए । अख्तियारका अनुसार स्काभेटरको लाइसेन्स बनाइदिएवापत पहिलो खेपमा ३५ हजार रुपैयाँ लिइसकेका रहेछन् । थप ३५ हजार माग गरेपछि सेवाग्राही अख्तियारको कार्यालयमा आएका थिए । मकवानपुरका नेत्रबहादुर सारुको निवेदनमा अख्तियारले काराही गरेको थियो ।

यातायात कार्यालय नजिकै रहेको शेखर इन्स्युरेन्सको तेस्रो पक्ष बिमाको काउन्टरमा रौनियार र यादवलाई सारुले ३१ हजार रुपैयाँ दिएका थिए । ३ हजार रुपैयाँको दस्तुर समेत सारुले बुझाएका थिए ।

सारुले गत फागुन १८ गते स्काभेटरको अनुमति पत्रका लागि ट्रायल परीक्षा दिएका थिए । रौनियार र यादवको डायरी, मोबाइल र फेसबुक म्यासेन्जरबाट पठाएको सन्देश अख्तियारले अध्ययन गरी लाइसेन्स फाँटका कर्मचारीको समेत बयान लिएको थियो ।

कुन दर्ता नम्बर कुन कर्मचारीलाई दिएको र पास गराइदिएपछि कति रकम दिएको त्यसको हिसाब टिपोट गरिएको डायरी अख्तियारले फेला पारेको थियो । लाइसेन्स फाँटका बद्री दाहालमाथि अख्तियारले मुद्दा अगाडि बढाएको छ । हाल उनी निलम्बनमा छन् ।

सम्बद्ध स्रोतका अनुसार अख्तियारको कारबाहीपछि केही महिना कडाइका साथ भएको ट्रायल पछिल्लो समय फेरि बिचौलियाले दिएको पैसाको भरमा पास/फेल हुन थालेको छ । लिखित परीक्षाको नतिजा त्यही दिन सार्वजनिक गरिए पनि ट्रायल परीक्षाको नतिजा भने कम्तीमा ५/६ दिनपछि मात्र कम्प्युटरमा हाल्ने गरिएको छ ।

‘ट्रायलमा खटिएका कर्मचारीलाई बिचौलियाले रकम र फेल भएका परीक्षार्थीको दर्ता नम्बर दिन्छन्,’ एक जानकारले भने, ‘केही दिनमा सबै संकलन भइसकेपछि नतिजा प्रकाशन गर्छन् ।’ ट्रायल पास भएका परीक्षार्थीले मात्र प्रवेश पत्र फिर्ता पाउँछन् । ‘नतिजा प्रकाशन भएपछि त्यही प्रवेश पत्रको आधारमा सवारी चालक अनुमति पत्रका लागि कार्यालयमा पुगेर रसिद काट्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक विचौलिया भन्छन्, ‘रसिद काट्ने ठाउँमा आधा घन्टा मात्र उभिनुस् तपाई आफैंले कतिजना बिना प्रवेश पत्रकै रसिद काट्न आएको देख्नुहुन्छ ।’

साउन दोस्रो साता आफ्नो मान्छे किन फेल गराएको भन्दै ट्रायल सेन्टरमा कर्मचारीबीच कुटाकुट नै भएको थियो । अख्तियारको पछिल्लो कारबाहीपछि कर्मचारीले कागजमा लेखिएका दर्ता नम्बर मात्र लिने गरेका छन् । यसअघि मोबाइलमा दर्ता नम्बर म्यासेज गर्दा पनि फेल भएका परीक्षार्थी पास हुन्थे ।

कार्यालय स्रोतका अनुसार मंगलबार क्राइम टोलीले नियन्त्रणमा लिएका चारजनामध्ये दुईजनाको लाइसेन्स फाँटका कर्मचारीसँग राम्रो सम्बन्ध छ । ‘प्रहरीले उनीहरूको फोन विवरण अध्ययन गरे धेरै प्रस्ट हुन्छ,’ ती स्रोतले भन्यो, ‘कार्यालय नजिकैको एक नास्ता पसलमा पैसा लेनदेन हुन्छ ।’

नियन्त्रणमा रहेका विचौलियासँग १७ जना परीक्षार्थीको प्रवेश पत्र पनि थियो । विचौलिया पक्राउ परेपछि उनीहरूले ट्रायलसमेत दिन पाएका छैनन् । ‘ट्रायल दिने ती १७ जनामध्ये अधिकांश लिखित परीक्षामा समेत फेल भएका थिए,’ ती कर्मचारीले भने, ‘प्रहरीले उनीहरूको लिखित परीक्षाको कापी जाँच गरे प्रस्ट हुन्छ ।’ ट्रायल सेन्टरका इन्चार्ज भोला साहले यातायातमा विचौलियाको बिगबिगी बढेको स्वीकारे पनि आफ्नो उनीहरूसँग कुनै सम्पर्क नरहेको दाबी गरे ।

‘यातायात र ट्रायल सेन्टर अगाडि बाटोमा हिँडदा आफूलाई पनि बिचौलियाले लाइसेन्स चाहियो भन्छन्,’ उनले भने, ‘विचौलियाको बिगबिगी बढेको छ । तर, उनीहरूसँग कुनै किसिमको चिनजान छैन ।’ मंगलबार पनि केही व्यक्ति पैसासहित पक्राउ परेको आफूले २० मिनेटपछि मात्र थाहा पाएको उनले सुनाए ।

दुई साता अगाडि मात्र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको प्रमुख भई आएका सुशीलकुमार साह तेलीले यसबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘अध्ययन गर्दैछु,’ उनले भने, ‘विकृति छ भने सुधार गरिनेछ ।’

विभिन्न विचौलियासँग भेटी तयार पारेको विवरण अनुसार फेल भएका परीक्षार्थीले मोटरसाइकल/स्कुटीको १० हजार, जिप/कार को १७ हजार, बस/ट्रकको २५ हजार र स्काभेटर/डोजरको ३० हजार रुपैयाँ बिचौलिया मार्फत कर्मचारीले बुझेपछि सजिलै पास गराइदिने गरेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इनार र गाउँलेको दोस्ती

शंकर आचार्य

पर्सा — मधेसमा २० वर्ष अघिसम्म इनारकै पानी खाइन्थ्यो । गाउँ–टोल सबैतिर इनार । डोरीले पानी तानेर इनारमा नुहाउने र कपडा धुनेको ताँती हुन्थ्यो । जमाना बदलयो । सँगसँगै पानीको पाइप भान्सा र बाथरुमसम्मै पुग्यो । धेरै इनार सुके । बचेका संरक्षण अभावमा मासिए ।

तर, पर्साको पटेर्वासुगौली ४ दापमा रहेको इनारसँग भने गाउँलेको गज्जबको दोस्ती छ । गुदर बाबा मन्दिरनजिकको त्यो इनार गाउँलेको श्रद्धा र विश्वासले रमणीय स्थल बनेको छ ।

गाउँलेले मन्दिर परिसर बाहिर सडकसँग जोडिएको यो इनारलाई छानो हालेर सफा–सुग्घर राखेका छन् । विगतमा काठको घेराबेरा रहेको इनारलाई स्थानीयले तीन दशकअघि पक्की पर्खाल लगाए । अझै पनि गाउँको अधिकांश घरधुरीले दैनिक यो इनारबाट पानी लगेर बिहान घरमा पुजाअर्चना गर्ने तथा खाना पकाउन पानी प्रयोग गर्छन् । परम्परागत शैलीको यो इनार करिब ५० फिट गहिरो छ ।

७६ वर्षीय सुभन राउत थारू गाउँघरमा हुने यज्ञ, हवन, वैवाहिक समारोहमा मात्र नभई दैनिक घरमा गरिने पूजाअर्चना तथा खाना पकाउन तथा पिउनका लागि समेत यसै इनारको पानी अधिकांश गाउँलेले प्रयोग गर्ने बताउँछन् । ‘इनारको पानी पवित्र रहेको हाम्रो विश्वास छ,’ उनले भने, ‘इनारको पानीले पकाएको खाना स्वादिलो हुने, धार्मिक अनुष्ठान सफल हुने र पूजा अर्चनामा वितरण गरिने प्रसादको भण्डार कहिल्यै नरित्तिने जनविश्वास पनि छ ।’

५२ वर्षीय विष्णु दास थारूले गाउँलेले साझा सम्पत्ति रहेको इनारलाई संरक्षण गरिएको बताए । इनारसँग गुदर बाबा नाम गरेका सिद्ध पुरुषको रोचक कथा पनि जोडिएको छ । परापूर्व कालमा गाउँमा गुदर नाम गरेका एक पुरुष थिए । उनी गाउँकै एक जमिन्दारको घरमा हली बसे । खेतमा हलो जोत्ने क्रममा उनले गोरुलाई हलोसहित खेतमा छोडिदिन्थे र आफू आरामले सुत्ने गर्थे । गोरु खेतमा आफैं हिड्थे र हलो पनि मानिसले चलाएजस्तो आफै चलिरहन्थ्यो ।

प्रत्यक्षदर्शीले जमिन्दारलाई यो आश्चर्य सुनाएपछि गुदरलाई हप्कीदप्की गर्‍यो । गोरु आफै हलो कसरी जोत्छ ? यो रहस्य खोल्न जमिन्दारले गुदरलाई बाध्य पारे । उनले आफू भारतको कुनै प्रसिद्ध मन्दिरको मठमा आउने साधु सन्तको सेवाटहल गर्ने काम विगतमा गरेको र त्यहाँ साधुसन्तलाई दही च्युरा खुवाउने काम गरेको बताउँदै आफ्नो हात देखाउँदा उनको हातमा दही लागेको देखेपछि जमिन्दारले सिद्ध पुरुष रहेको चाल पाए । त्यसपछि मठ बनाएर गुदर त्यहीं बसे ।
मठमा हाल अन्य देवी देउताको मन्दिर मात्र नभई गुदर बाबाको मूर्ति पनि छ । स्थानीयले उनलाई अभिभावक तथा ग्राम देउताका रूपमा पूजा–अर्चना गर्छन् । स्थानीयले घरपरिवारमा हुने विवाह, ब्रतबन्ध, विशेष धार्मिक अनुष्ठान अघि गुदर बाबाको पुजाअर्चना गरी आशीर्वाद लिने पनि गर्छन् ।

पछि गुदर बाबाको भारतको चित्रकुट नामक प्रसिद्ध धार्मिक स्थलमा समाधि लिएको र हाल पनि त्यहाँ उनको समाधि रहेको उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT