कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मन्दिरको जग्गा हडप्ने खेल

७ बिघा १० कट्ठा १७ धुर जग्गामा चलखेल   प्रतिधुर ३१ रूपैयाँ २८ पैसामा लिएर ५ लाखसम्ममा ९९ सय वर्षका लागि भाडा
देवनारायण साह

मोरङ — विराटनगर ३ कञ्चनबारीस्थित सत्यनारायण मन्दिरको नाममा रहेको दुई अर्बभन्दा बढी मूल्यको ७ बिघा १० कट्ठा १७ धुर जग्गा जालझेल गरी हडप्ने चलखेल भएको छ । मन्दिरको जग्गा अन्य प्रयोजनमा उपयोग गर्न लागिपरेका व्यक्तिसँगै उद्योगी, विराटनगर महानगरपालिका र प्रदेश सरकारसमेत जोडिएका छन् । 

मन्दिरको जग्गा हडप्ने खेल

कोसी राजमार्गसँगै जोडिएको आयल निगम क्षेत्रीय कार्यालयको दक्षिणपट्टिको कित्ता नम्बर ४ को ४३ को २ बिघा १७ कट्ठा जग्गा प्लटिङ गरेर ९९ वर्षका लागि भाडामा दिइएको छ ।


यस्तै, राजमार्गसँगै जोडिएको औषधि व्यवस्था विभाग जाने सडकभन्दा दक्षिणपट्टिको खाली जग्गा कित्ता नम्बर ३ (ख) २२६ को २ बिघा ३ कट्ठा ४ धुरमध्ये १ बिघा ७ कट्ठा ९५ वर्षका लागि भाडामा लिएर महानगरपालिकाले भ्यु टावर बनाउन शिलान्यास गरिसकेको छ ।


उक्त जग्गामध्ये पूर्वबाट र औषधि व्यवस्था विभागको कार्यालयको पश्चिमपट्टिको कित्ता नम्बर ३ (ख) २१८३ को १ बिघा ५ कट्ठा १३ धुर २ गरी २ बिघा जग्गामा उद्योग संगठन मोरङले औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि शिलान्यास गरेको छ ।


गत आर्थिक वर्षमा सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री लालबाबु पण्डितले भ्यु टावर र औद्योगिक प्रदर्शनी स्थलको शिलान्यास गरेका थिए । सत्यनारायण मन्दिर भएको कित्ता नम्बर २७ को ५ कट्ठा जग्गासमेत भ्यु टावर निर्माणका लागि महानगरले खाली गराउन दबाब दिँदै आएको छ । महानगरका पदाधिकारीले जग्गा खाली

गर्नु भन्दै आएको मन्दिरका पुजारी ताराचन्द राजवंशीले बताए ।


मन्दिरको नाममा रहेको ३(ख) को २२४ नम्बर कित्ताको १ बिघा जग्गा बाल सुधारगृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई दिइएको छ । ०६३ भदौ १७ मा सत्यनारायण मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी राजवंशी र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रमुख मोदराज डोटेलबीच उक्त जग्गा बाल सुधारगृह स्थापनाका लागि हकभोग गर्न दिने सम्झौता भएको थियो ।


सुधारगृह सञ्चालनका लागि मन्दिरसँग लिएको जग्गामै महिला तथा बालबालिका कार्यालयको पनि भवन छ । उक्त कार्यालय हाल खारेज भएपछि भवनमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोको निवास राखिएको छ ।


०३० मंसिर १३ मा तत्कालीन कञ्चनबारी गाउँ पञ्चायत–३ का निःसन्तान ६१ वर्षीय शीतलु मडर राजवंशीले खरिदबिक्री नहुने गरी जग्गा सत्यनारायण मन्दिरको नाममा रजिस्ट्रेसन पास गरिदिएको अभिलेखमा छ । कञ्चनबारीका तत्कालीन जमिनदार राजवंशीको अन्य ठाउँमा पनि धेरै जग्गाजमिन भए पनि उपभोग गर्ने आफन्त नभएकाले घरमा काम गर्दै आएका गणेशी राजवंशीलाई धर्मपुत्र बनाएको स्थानीय बताउँछन् । शीतलुको मृत्यु भएपछि मन्दिरको संरक्षकमा पत्नी मुन्द्रीदेवी थिइन् । मुन्द्रीदेवीको मृत्युपछि गणेशीले मन्दिरमा पूजापाठ गर्दै आएका थिए ।


जग्गा हडप्ने चाल

गणेशीका माइला छोरा ताराचन्द राजवंशीका अनुसार दाजु केशव राजवंशीसँग ०५६ तिर ज्योति म्याच फ्याक्ट्रीको जग्गा प्लटिङ गरेर बिक्री गरिरहेका विराटनगर बखरीका बल्लभप्रसाद अधिकारीसँग परिचय भयो । ‘बल्लभप्रसादसँग परिचय भएकै दिनदेखि मन्दिरको जग्गाका लागि नराम्रो दिन सुरुवात भयो,’ ताराचन्दले भने, ‘बल्लभले म्याच फ्याक्ट्रीको जग्गा बेच्ने क्रममै मन्दिरको जग्गाबारे थाहा पाए र त्यसपछि हडप्ने खेल सुरु भएको हो ।’


अधिकारीले धेरै दिन लगाएर गणेशी र उनका छोराहरू जेठा केशव र कान्छो जगदीशलाई फकाएका थिए । ‘बल्लभले बुवा र दाजुभाइलाई फकाएर तीनै भाइ छोरालाई १ करोड ५० लाखका दरले ४ करोड ५० लाख रुपैयाँ दिने लालच दिए,’ ताराचन्दले भने, ‘बुवा र जेठो दाजुले २०६८ भदौ १ गते त्यो पैसा दिएपछि मन्दिरको अध्यक्षका साथै सबै जग्गा ९९ वर्षका लागि भाडामा दिने सहमति भयो तर मलाई त्यो थाहै थिएन ।’


गणेशीसँगै आफू र तीन भाइ छोराहरूले मन्दिरमा पूजाआजा र सम्पत्ति संरक्षण गर्न नसकेकाले आफूलाई चल, अचल सम्पत्ति हस्तान्तरण गर्ने करारनामामा अधिकारीले सही गराएको ताराचन्दको दाबी छ । मन्दिर भएको कित्ता नम्बर २७ को ५ कट्ठा जग्गामा परापूर्वकालदेखि बसोबास गर्दै आएकाले घरघडेरी र खाने व्यवस्थाका लागि प्रतिव्यक्ति १ करोड ५० लाखको दरले तीनै भाइलाई ४ करोड ५० लाख दुवै पक्षबीच सहमति भएको थियो ।


उक्त रकम प्राप्त गरेपछि आ–आफ्ना सबै घर र गोठहरू भत्काई खाली गरिदिएर संस्थाले व्यवस्था गरिदिएको ठाउँमा त्यहाँबाट उठेर जाने सहमति भएको कागजात तयार गरिएको थियो । केशवको २०६९ असार २८ र त्यसको दुई महिनापछि गणेशीको मृत्यु भयो ।


‘बुवा र दाजुको मृत्यु भएपछि बल्लभप्रसादले अनेक चलखेल गर्न थाले,’ ताराचन्दले भने, ‘सुरुमा बल्लभ आफैं मन्दिरको अध्यक्ष बन्न खोजे, हामीले मानेनौं र भाउजू श्यामादेवीलाई संरक्षक तथा अध्यक्ष बनायौं ।’ कान्छो भाइ जगदीश उपाध्यक्ष, दाजु केशवका ज्वाइँ लक्ष्मीकान्त विश्वासलाई सचिव र आफू कोषाध्यक्ष बनेर मन्दिर सञ्चालन गर्न थालेको उनले सुनाए ।


‘यसैबीच बल्लभले भाउजू श्यामादेवीलाई फकाएर पूर्वसहमतिअनुसारको १ करोड ५० लाख रुपैयाँ लिएर अध्यक्ष पद लिने खेल रचियो,’ ताराचन्दले भने, ‘बल्लभप्रसादले आफ्नी पत्नी शान्ता अधिकारीको नाममा दर्ता रहेको तत्कालीन गाविस बखरी वडा ६ (ग) तथा विराटनगर–१५ को कित्ता नम्बर २१९५ को १ कट्ठा जग्गा र त्यसमा भएको कम्पाउन्ड वाल लगाएको तीन तला घर तथा गोठ लिने सहमति गरे ।’ श्यामादेवीले अहिले बल्लभले दिएको घरमा बस्दै आएकी छन् ।


आफूलाई बल्लभप्रसादले छोरा मुकुन्द अधिकारीको नाममा रहेको तत्कालीन बखरी ६(ग) को कित्ता नम्बर २१९४ को १ कट्ठा जग्गा र त्यसमा कम्पाउन्ड वाल लगाएको एक तला पिलरसहितको घर, गोठ पास गरिदिने, थप केही जग्गा र रकमसमेत गरी १ करोड ५० लाख पुर्‍याई चुक्ता गर्ने भनेको ताराचन्दले बताए ।


‘त्यो घर जग्गाका साथै रकम लिन मैले मानिनँ,’ उनले भने, ‘त्यसपछि मलाई दैनिकजसो धाकधम्की आउन थाल्यो र अन्तमा बल्लभले जबरजस्ती गाडीमा बसाएर धनकुटाको क्षेत्रीय प्रशासन कार्यालयमा लगेर ८ लाख रुपैयाँ दिएर सही छाप गराएँ ।’


कञ्चनबारीस्थित कान्ता रिजालको नाममा दर्ता रहेको कित्ता नम्बर ३(ख) १५२४ को १ कट्ठा १७ धुर जग्गा बल्लभप्रसादले खरिद गरी जगदीशको नाममा पारित गराई घर निर्माण गर्ने र खाने व्यवस्थाका लागि अरू केही जग्गा र रकमसमेत गरी १ करोड ५० लाख भुक्तानी गर्ने आश्वासन दिएका थिए । जगदीशले घरजग्गा पाएनन् तर त्यतिबेला नयाँ कारका साथै रकम लिएको स्थानीय बताउँछन् ।


श्यामादेवीलाई घरजग्गा दिएपछि मन्दिर सञ्चालक समितिको २०६९ फागुन २ गतेको विशेष साधारणसभाको निर्णयले बल्लभप्रसाद अधिकारीलाई अध्यक्षमा सर्वसम्मतिले निर्णय गर्‍यो । उक्त साधारणसभाले नै ०६८ भदौ १ मा तत्कालीन मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी र उनका जेठो छोरा केशव राजवंशीले गरेको करारनामा अनुमोदन गरेको उल्लेख छ ।


‘साधारणसभाले मन्दिरका पूर्वअध्यक्ष श्यामादेवी, उपाध्यक्ष जगदीश, सचिव लक्ष्मीकान्त र कोषाध्यक्ष ताराचन्दलाई जग्गा ९९ सय वर्षका लागि भाडामा दिने अधिकार प्रत्यायोजन गरेको उल्लेख छ,’ साधारणसभाको निर्णयमा भनिएको छ । उनीहरूले साधारणसभाको निर्णयअनुसार मन्दिरको कित्ता नम्बर ४३ को जग्गामध्ये धरान रोडपट्टिबाट २ बिघा, ३(ख) को २२६ को २ बिघा ३ कट्ठा ४ धुर, कित्ता नम्बर २१८३ को १ बिघा ५ कट्ठा १३ धुर गरी जम्मा ५ बिघा ८ कट्ठा १७ धुर जग्गा बल्लभप्रसादलाई ९९ वर्षका लागि भाडामा दिए ।


उक्त जग्गा वार्षिक प्रतिबिघा १५ मन मोटो धानका दरले एक वर्षमा हुने जम्मा धान ८२ मनको दरले ९९ वर्षको ८ हजार १ सय १८ मन धानको मोरङ व्यापार संघले २०६९ मंसिर १ गतेदेखि ०६९ माघ १५ गतेसम्म कायम गरेको अधिकतम मूल्य प्रतिमन ८ सय ३४ रुपैयाँको दरले हुन आउने ६७ लाख ७८ हजार ४ सय १२ रुपैयाँ बल्लभप्रसादले मन्दिरको बैंक खातामा जम्मा गरिदिएको उल्लेख छ ।


तर बैंक खातामा एकमुष्ट रूपमा रकम जम्म नगरेको र केही रकम जम्मा गर्दै झिक्दै गरी भाडाबापतको रकम जम्मा गरेको र पुनः झिकेको ताराचन्दले बताए । उक्त रकम मन्दिरको नाममा एक रुपैयाँ पनि हालसम्म खर्च भएको छैन । बल्लभप्रसादले २०६९ साल फागुन ४ गते मन्दिरको बैंक खातामा भाडाबापतको रकम जम्मा गरेर ९९ वर्षका लागि उक्त जग्गा भाडामा लिएको उल्लेख छ ।


मालपोत र महानगरको निर्णय

बल्लभप्रसादले मन्दिरको जग्गा हकभोगमा कानुनी अवरोध आउन नदिनका लागि तत्कालीन विराटनगर उपमहानगरपालिका र मालपोत कार्यालय मोरङबाट समेत निर्णय गराएको पाइएको छ ।


उक्त मन्दिरको नाममा दर्ता रहेको जग्गा भाडामा दिन पाऊँ भनी निजी गुठी सञ्चालनको मागअनुसार विराटनगर उपमहानगरपालिकाको २०६८ माघ १५ गतेको निर्णयअनुसार उक्त उपमहानगरपालिकाको २०६८ माघ १७ गतेको चलानी नम्बर १८३२० को अनुमतिपत्र र मालपोत कार्यालय मोरङको २०६८ माघ २२ को निर्णय र २०६८ माघ २२ गतेको चलानी नम्बर ७९५० को पत्रमा मन्दिरको नाममा दर्ता रहेको जग्गा योग्य व्यक्तिलाई भाडामा दिई त्यसबाट प्राप्त हुने रकमले मन्दिरको पूजाआजा तथा विकास निर्माणमा खर्च गर्न बाधा नहुने उल्लेख छ ।


मालपोत कार्यालय मोरङका प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेलले जग्गा मन्दिरको भएकाले भाडामा दिनु भनी मालपोत कार्यालयले निर्णय गर्न नमिल्ने बताए । उनले तत्कालीन मालपोत कार्यालयका प्रमुखले कसरी र किन निर्णय गरेर पत्र दिएकोबारे आफूलाई जानकारी नभएको बताए ।


यस्तै, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले उक्त जग्गा मन्दिरको भएकाले तत्कालीन उपमहानगरले कुनै किसिमको निर्णय र सहमति दिन नमिल्ने बताए । धर्मका लागि दान दिएको जग्गा अरू कसैले कुनै पनि बहानामा उपभोग गरेर खान नमिल्ने र त्यस्तो भएको अवस्थामा अदालतमा मुद्दा परे तत्काल खारेज हुने बताए ।


उनले मन्दिरको जग्गामा महानगरको भ्यु टावर बनाउने कुनै योजना नभएको बताए । ‘भ्यु टावरको योजना सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले ल्याएर शिलान्यास गरिएको भए पनि यो वर्ष मन्त्रालयको त्यस्तो योजना नै छैन,’ उनले भने, ‘योजना भएको भए हामीलाई बजेट र त्यसको अख्तियारी आउँथ्यो ।’ महानगर प्रमुख भीम पराजुली भने मन्दिरको संरक्षक महानगरपालिका भएकाले भ्यु टावर निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको दाबी गर्छन् । ‘हामी त्यो जग्गामा भ्यु टावर बनाएरै छाड्छौं,’ उनले भने ।


मन्त्रालयका सचिवको साथ

बल्लभप्रसादले मन्दिरको जग्गा हडप्न सहरी विकास मन्त्रालयका तत्कालीन सचिव किशोर थापा, सहसचिव सुरेशप्रकाश आचार्य, सहसचिव महेन्द्र सुब्बा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको साथ लिएको पाइएको छ । उनीहरूसँगै दि ब्रिटिस कलेज थापाथलीका अप्रेसन मेनेजर आईभी थापा, कान्ता रिजाल, उद्योगी माधवप्रसाद कोइरालालगायतको साथ र सहयोग लिएका हुन् ।


बल्लभप्रसादले उनीहरूलाई सत्यनारायण मन्दिरअन्तर्गत छहारी वृद्धाश्रम नामक संस्था स्थापना गरेर जग्गा हडप्ने खेलमा सहभागी गराएका हुन् । बल्लभप्रसादले मन्दिरको विधान बनाएर २०६७ चैत १४ गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएका छन् ।


उक्त विधानअनुसारको अधिकार प्रयोग गरी मन्दिर सञ्चालन समिति छहारी वृद्धाश्रम विराटनगर–४ नामको विनियम २०७० तयार गरेर उनीहरूलाई सहभागी गराएका हुन् । उनीहरूलाई मन्दिरको प्रमुख संरक्षक बनाइएको हो । बल्लभप्रसादले मन्दिरबाट ९९ वर्षका लागि भाडामा लिएको जग्गामध्ये कि.नं. २१८३ को १ बिघा ५ कट्ठा १३ धुर निःशुल्क वृद्धाश्रम, गौशाला र पानीट्यांकी निर्माण गर्न छहारी वृद्धाश्रमलाई दान दिएको उल्लेख छ ।


यस्तै, कि.नं. २२६ को २ बिघा ३ कट्ठा ४ धुर र उक्त कित्तासँगै जोडिएको दक्षिणपट्टिको मन्दिर भएको कि.नं. २७ को ५ कट्ठामा धरान रोडतिरबाट भव्य कमर्सियल कम्प्लेक्स, माथिल्लो तलामा सभाहल, सशुल्क वृद्धाश्रम र विभिन्न भगवान्का मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो ।


तर गत वर्ष उनीहरूले उक्त जग्गा उद्योग संगठन मोरङलाई औद्योगिक प्रदर्शनीस्थल र विराटनगर महानगरलाई भ्यु टावर निर्माण गर्न ९५ वर्षका लागि दिएका छन् । मन्त्रालयका सचिवहरूले मन्दिर संस्थापकका नातिहरूलाई तिर्ने भनिएको ४ करोड ५० लाख र छहारी वृद्धाश्रम र कम्प्लेक्स भवनका लागि स्टिमेट डिजाइन गर्नका लागि हाडा डिजाइन एसोसिएट कुपण्डोल ललितपुरलाई भुक्तानी गरेको २ करोड गरी कुल ६ करोड ५० लाख बल्लभप्रसादले खर्च गरेबापत जग्गा दिएका छन् ।


मन्त्रालयका सचिवहरूले मन्दिरको जग्गामध्ये आयल निगमको दक्षिणतिरको कित्ता नम्बर ४३ को धरान रोडसँग जोडिएको २ बिघामध्ये १ बिघा १८ कट्ठा तत्काल हकभोग गर्नुका साथै भवन निर्माण गरेर व्यवसाय गर्नुका साथै अन्य व्यक्तिलाई पनि दिन र भविष्यमा रजिस्ट्रेसन पासका लागि पहल गर्ने निर्णय गरेको उल्लेख छ । उनीहरूले नै उक्त २ बिघामध्ये लायन्स क्लब ग्रिन सिटी विराटनगरलाई २ कट्ठा जग्गा दान दिने निर्णय गरेको उल्लेख छ ।


३१ रुपैयाँमा लिएर धुरको ५ लाखमा

बल्लभप्रसादले मन्दिरको जग्गा प्रतिधुर ३१ रुपैयाँ २८ पैसामा ९९ सय वर्षका लागि भाडामा लिएर धुरको ५ लाखसम्ममा भाडामा लगाएका छन् ।


कि.नं. ४३ को २ बिघा १७ कट्ठामध्ये १ बिघा १८ कट्ठा आफू लिएर बाँकी तत्कालीन एकीकृत नेकपा माओवादी मोरङलगायतलाई वितरण गरिएको छ । बल्लभले प्रदान गरेको ५ कट्ठा जग्गामा माओवादीका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी कार्यालय शिलान्यास गर्न खोज्दा स्थानीयले विरोध जनाएका थिए ।


बल्लभले उक्त २ बिघा १७ कट्ठालाई ५२ टुक्रा बनाएर भाडामा लगाएको पाइएको छ । उनले स्थानीय उद्योगी फुजिमा आयल प्रालिका अध्यक्ष तथा मन्दिरका संरक्षक माधवप्रसाद कोइरालाकी पत्नी पुष्पा कोइरालालाई ३ कट्ठा १० धुर दिएका छन् । माधवप्रसादले आफू वृद्धाश्रममा मात्रै संलग्न भएको र उक्त जग्गामा आफ्ना कान्छो छोरा सुबोध कोइरालाले लगानी गरेको दाबी गरे । सुबोध उद्योग संगठन मोरङका सदस्य हुन् ।


बल्लभले २०७३ असार १४ गते जगदीश राजवंशीलाई २२ लाख ५० हजारमा १ कट्ठा ३ धुर जग्गा ९९ वर्षका लागि दिएको उल्लेख छ । यस्तै, २०६९ वैशाख १ गते विराटनगरकी मञ्जु धिमाललाई कि.नं.४३ बाट १० धुर, चन्द्रकला थापालाई १० धुर, सरिता सापकोटालाई १० धुर, सुनीताकुमारी महतोलाई १० धुर र यशोदादेवी पराजुली अधिकारीलाई १० धुर जग्गा ९९ वर्षका लागि दिएको भोगचलन इजाजतपत्रमा उल्लेख छ ।


मन्दिरको उक्त जग्गामा मञ्जु धिमाल, सरिता सापकोटा, सुरेश ढुंगेल, भदवी र सुनीता महतोले टहरा बनाएर बसोबास गरिरहेका छन् । लायन्स क्लबको भवन पनि अधुरै रहेको छ भने तत्कालीन नेकपा माओवादीले पनि भवन निर्माण गर्न सकेको छैन । बल्लभप्रसादलगायत अहिलेका मन्दिर सञ्चालक समितिका अन्य पदाधिकारी तथा सदस्यलाई धेरैपटक सम्पर्क गर्दा पनि कसैले प्रतिक्रिया दिन चाहेनन् ।


कानुन व्यवसायी गोपी सिंहले निजी गुठीको जग्गा भाडामा लगाउन सकिने तर भाडा दिंदाको नियत कस्तो छ त्यो महत्त्वपूर्ण रहेको बताए । उनले रुपैयाँमा भाडामा कमाउन लिएको जग्गा पुनः लाखौं लाखमा भाडा लगाएर खानु नै गलत भएको बताए । यस्तो अवस्थामा करार बदरका लागि मुद्दा परे अदालतले खारेज गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?