कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नारफूको सडक सपना

४ हजार ५० मिटर उचाइमा अवस्थित सडक सञ्जालले नछोएका यी गाउँबाट गाडी हेर्नमात्रै स्थानीयले कस्सिएर दुई दिनको पैदल यात्रा गर्नुपर्छ ।
आश गुरुङ

फू, मनाङ — गाउँबाट दुई दिनको पैदल छिचोलेपछि मात्रै तेन्जिङ पासाङ लामा मोटर चढ्न पाइने ठाउँ पुग्छन् । बाटो बिग्रिए मोटर सजिलै बेंसीसहर पुग्ने/नपुग्ने टुंगो हुन्न । लामालाई मात्रै होइन, सिंगो फू र नार गाउँवासीको समस्या यही हो ।

नारफूको सडक सपना

दुवै गाउँका बासिन्दाले मोटर पाइने ठाउँ पुग्न उत्तिकै पैदल दूरी पार गर्नैपर्छ । ‘डाँडामाथिको घाम भइसकियो, आफ्नो गाउँ आएको मोटर नदेख्दै मरिन्छ क्यारे,’ आँगनमा घाम तापिरहेकी फू गाउँकी ८८ वर्षीया सङगेछयोङज्योङ लामाले भनिन्, ‘गाउँले र माननीयले मोटरबाटो ल्याउने त भनेका छन् । कहिले हो कहिले ।’


सडक नपुगेका यी दुवै गाउँ छिमेकी चीनको तिब्बतसँग सिमाना जोडिएका छन् । अलि नजिक फू र तल्लो क्षेत्रमा नार पर्छ । सदरमुकाम चामेबाट पुग्न दुई दिन लाग्ने फू तिब्बती सीमा क्षेत्रबाट एक दिनको पैदल दूरीमा पर्छ । मनाङकै नार र फू निकै पछि मात्रै पत्ता लागेका बस्ती हुन् । खोलाले बगाएर ल्याएका जौको छोक्रा कहाँबाट आउने रहेछ भनेर खोजी गरिँदा मनाङमै ती दुई गाउँ पनि रहेछन् भन्ने पत्ता लागेको चामेका स्थानीयको भनाइ छ ।


तत्कालीन राजा महेन्द्रका पालामा २०२८ सालतिर पत्ता लागेको भनिएका गाउँका बासिन्दाको रहनसहन तिब्बतीसँग मिल्दोजुल्दो छ ।


तिब्बतीसँग ‘मीत’ लगाएर खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याएर उपभोग गर्ने गरिएकामा नार र फूसम्म पहिले गोरेटो बाटो पनि थिएन । पछि गोरेटो बाटो खुलेसँगै तल्लो क्षेत्रको लमजुङबाट मनाङको कोतो हुँदै खच्चडमार्फत खाद्यान्न आपूर्ति हुँदै आएको छ । अहिले तिब्बततर्फका सबै नाका बन्द छन् । खाँचोका सबै सामान लमजुङबाटै ल्याइने नार्पाभूमि गाउँपालिका–५ का वडाध्यक्ष सोनामतेजे लामाले बताए ।


‘हाम्रो मुख्य आवश्यकता सडक हो । सडक आए मात्र यहाँ विकास हुन्छ,’ उनले भने । संघीय संरचनापछि साबिकका नार र फू गाविसलाई मिलाएर नार्पाभूमि गाउँपालिका बनेको हो । यहाँ ५ वटा वडा छन् । जनगणना २०६८ अनुसार नारमा ८६ र फूमा ३६ गरी १ सय २२ घरधुरीमा ५ सय ३८ जनसंख्या थियो ।


अहिले गापामा १ सय २८ परिवार र ६ सय १५ जनसंख्या छ । गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामा मोटरबाटो मूल आवश्यकता भए पनि भौगोलिक हिसाबले सजिलो छैन । ‘नार खोलाको तिरैतिर ल्याउने हो । चट्टान र पहिरो मात्रै छ,’ उनले भने, ‘अबको तीन वर्षमा गाउँपालिकाको केन्द्र च्याँखुसम्म मोटरबाटो ल्याउने गरी काम थालेका छौं ।’


मनाङबाट प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङ ना र फूका लागि सडक योजनामा सबैको जोड रहेको बताउँछन् । नारखोलामाथि फडकेमा हिँड्नुपर्थ्यो । पोल्देनका पिता पेमाछिरिङ पञ्चायतकालको अन्तिमतिर स्थानीय विकास सहायकमन्त्री बने । त्यतिबेला नारखोलामाथिको जोखिमयुक्त फडकेलाई हटाएर झोलुंगे पुल हालिएको थियो ।


२४ ठाउँमा खोला वारपार गर्नुपर्नेमा उतिबेला सबै फडके फालेर ५ ठाउँमा वारपार हुने गरी झोलुंगे पुल निर्माणसँगै गोरेटो बाटो बनाइएको थियो । चालु वर्ष गण्डकी प्रदेश सरकारले सडक निर्माणका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘त्यो बजेटले सडकको विस्तृत अध्ययनदेखि निर्माण सुरुवात हुन्छ । हामी नार र फूमा सडक पुर्‍याउन चाहन्छौं,’ उनले भने, ‘अब काम गर्ने बेला आएको छ ।’


सडक निर्माणका लागि नार्पाभूमिले २ करोड खर्च गरिसकेको अध्यक्ष लामाले बताए । ‘सडक निर्माणको योजना सुरु भएको तीन वर्ष भयो तर मोटर हिँड्ने गरी ट्र्याक कतै खोल्न सकिएको छैन,’ उनले भने, ‘कोतो नजिकै स्याउबारी भीर र हुलाकी ओडारपारि तातोपानी भीरमा सडकको काम भइरहेको छ ।’


गाउँपालिकाले अधिकांश बजेट सडक पूर्वाधारकै योजनामा विनियोजन गरे पनि अप्ठेरो भौगोलिक अवस्थाका कारण काम निरन्तर अघि बढेको छैन । ‘अबको तीन वर्षमा च्याँखुसम्म मोटरबाटो पुर्‍याउने योजना छ,’ उनले भने । च्याँखुसम्म चामे नजिकै कोतोबाट पुग्ने दूरी करिब २५ किमि छ । ‘दूरीका हिसाबले धेरै टाढा त होइन तर हिँड्नै अप्ठ्यारो छ । यस्तो ठाउँमा सडक लाने हाम्रो सपना चानचुने होइन,’ उनले भने । च्याँखुबाट पनि नार र फू पुग्न १/१ दिन लाग्छ ।


चामे नजिकै कोतोबाट २ हजार ९ सय मिटरको मेतामा १ दिनमा पुगिन्छ । फू गाउँ ४ हजार ५० र नार ४ हजार २ सय मिटर उचाइमा छन् । फू पुग्न मेताबाट च्याँखु, क्याङ हुँदै जानुपर्छ । नार भने मेताबाट महेन्द्रपुल तरेर जानुपर्छ । दुवै गाउँ बर्सेनि हिउँदमा जिल्लाका अरू बस्तीबाट सम्पर्कविहीन हुन्छन् । गाउँको मोबाइल टावरले काम गर्दैन ।


स्थानीयवासी नौ महिना गाउँ बस्छन् । तीन महिना जाडो छल्न काठमाडौं, पोखरा र बेंसीसहर झर्छन् । सहर/बजार झर्न नसक्ने नारका बासिन्दा मेता र फूका गाउँले क्याङ र च्याँखुमा बस्छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?