कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमामा भारतले बनायो अर्को बाँध

शिव पुरी

औरैया, रौतहट — दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ बनाउन सुरु गरेका हुन् ।

सीमामा भारतले बनायो अर्को बाँध

यस्तो गतिविधिले नेपाली बस्तीमा त्रास बढेपछि सुरक्षाकर्मीको निगरानी बढाइएको छ । वाग्मतीदेखि पश्चिमको औरैया र बन्जाराहासम्मको भारतीय बाँधको उचाइ थपिँदै छ । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबानको समस्या बढेको हो ।


त्यही बाँधको झन्डै ३ फिट उचाइ थप्न भारतले पूर्व क्षेत्रबाट काम सुरु गरेको छ । औरैया क्षेत्रमा नयाँ बाँध बनाउन थालेपछि रौतहट प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पिलर नम्बर ३४७ मिचेर बोरामा माटो पुर्ने काम गरेको पाइएपछि रोकेको बताए ।


‘अन्तर्राष्ट्रिय कानुनले पनि यस्तो संरचना बनाउन दिंदैन,’ उनले भने, ‘मर्मतको नाममा दशगजा क्षेत्रमा नयाँ बाँध बनाउने काम भइरहेको छ । त्यसैले रोक लगाएका हौं ।’ उनका अनुसार अहिले सशस्त्र प्रहरीलाई औरैया नाकामा निगरानीमा खटाइएको छ । ईशनाथ नगरपालिका–२ स्थित औरैयाको सीमासम्म भारतीय बाँध छ ।


२०७४ मा ईशनाथको बन्जाराहा क्षेत्र डुबानमा परेपछि १ नम्बर वडामा सीमाको बाँध केही ठाउँ भत्किएको थियो । भारतीय पक्षले त्यसैलाई मर्मतको निहुँमा उचाइ थप्ने काम थालेको हो ।


स्थानीयको गुनासो आएपछि प्रजिअ थापा, सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिहरूले बाँधको निरीक्षण पनि गरेका छन् ।


भारत सरकारले बाँधको उचाइ थप्न बजेट नै दिएको खुलेको छ । प्रजिअ थापाले पूर्वी चम्पारणका डीएम श्रीकुमारसित यो मामिलामा फोन वार्ता गरेका छन् । उनले नयाँ निर्माण नभई भत्किएको स्थानमा मर्मतको काम मात्र भइरहेको जवाफ दिएका छन् ।


लालबकैया र वाग्मती नदीको जलस्तर बढदा बाँधका कारण भेलले निकास नपाएर नेपाली बस्ती जलमग्न हुने गरेको छ । बाँधमा पानीको निकासका लागि साइफन छ तर त्यस्तो बेला भारतीय पक्षले खोल्दैन । भारतीय बाँधका कारण रौतहटको गौर, राजदेवी, ईशनाथ नगरपालिका र दुर्गाभगवती गाउँपालिका डुबानमा पर्छन् ।


बाँधको निरीक्षण गरेर फर्किएका वडाध्यक्ष बिगु साहले डुबानको समस्या वारिपारि समान भएपछि मिलेर काम गर्नुपर्ने अवस्थामा एकातिरका बासिन्दालाई मात्रै मर्का पार्ने काम भएकाले सरकारले भारतीय बाँधको विकल्प सोच्नुपर्ने बताए । ‘भारतीय बाँधले बर्सेनि दुःख दिन्छ,’ उनले भने, ‘समस्या समाधान गर्न त परै जाओस्, झन् उचाइ थपेर बलियो बनाउने र नभएको ठाउँमा बाँध बनाउन थालिएको रहेछ ।’ भारतीय बाँधकै कारण राजदेवी नगरको बेलबिछुवा, ब्रहमपुरी लक्ष्मीपुर, गौर र ईशनाथ नगरको बैरिया, औरैया र बन्जाराहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको उनले बताए ।


भारतीय पक्षले पिलर नम्बर ३४७ देखि बकैयासम्म उचाइ थप्दै बाँध मजबुत बनाउन खोजेको छ । औरैया क्षेत्रमा नयाँ बाँध बनाउन थालेको विषयमा गृह मन्त्रालयमार्फत नापी विभागलाई स्थलगत हेर्न पत्राचार गरेको प्रजिअ थापाले बताए । ‘नापी विभागलाई पनि दशगजामा भएको अतिक्रमण र सीमा मिचेर बाँध बनाउन थालेको विषयमा हेर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘समयमा रोक्न सकेनौं भने पछि समस्या जटिल बन्छ ।’


सीमावर्ती पूर्वी चम्पारणका सुरक्षा निकायका अधिकारीलाई पनि फोन गरेर काम रोक्न लगाएको उनले बताए । अन्तर्राष्ट्रिय सीमा कानुनअनुसार दशगजा क्षेत्रको ३० फिट दायाँबायाँ कुनै पनि प्रकारको स्थायी संरचना बनाउन पाइँदैन ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?