कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाहाललाई अवसर १५ महिनापछि

अध्यक्षको कार्यकारी अधिकार पाएको पहिलो दिनै दाहालद्वारा अनुशासनको सीमाभित्र बस्न नेताहरूलाई निर्देशन 

काठमाडौँ — तत्कालीन एमाले र माओवादी केन्द्रको एकताक्रममा दुई जना अध्यक्ष राख्ने सहमति भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको बराबरी कार्यकारी भूमिका हुने भनिएको थियो । बैठक सञ्चालनमा आलोपालो अध्यक्षता गर्ने समझदारी थियो । तर एकता भएको १५ महिनासम्म दाहालले त्यो अवसर पाएनन् ।

दाहाललाई अवसर १५ महिनापछि

ओलीले बिहीबार सिंगापुर जानुअघि पार्टी बैठक सञ्चालन र एकताका बाँकी काममा समझदारी बनाउने जिम्मेवारी दाहाललाई दिएका छन् । कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका छन् । बिहीबारको बैठकमा अध्यक्ष ओलीसँग असन्तुष्ट नेता माधव नेपाललाई शुक्रबार बिहानै भेटेर उनले छलफल गरेका छन् ।


कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र अब केही सहज भएको नेताहरूले बताएका छन् । ‘दुई अध्यक्ष भने पनि ओली प्रधानमन्त्रीसमेत भएकाले पार्टीभित्र दाहालको भूमिका सहयोगी अध्यक्षको जस्तो मात्र थियो,’ सचिवालयका एक नेताले भने, ‘प्रधानमन्त्रीले बल्ल पार्टी अध्यक्षको जस्तो व्यवहार गर्नुभएको छ, बराबरी हैसियतको अध्यक्षका रूपमा स्वीकार्नुभएको छ ।’


ओली प्रधानमन्त्री बनेको तीन महिनापछि गत वर्ष जेठमा पार्टी एकताको औपचारिक घोषणा भएको थियो । त्यसपछि नेकपाको ९ सदस्यीय सचिवालयका दर्जनौं बैठक बसे । एक पटक केन्द्रीय समिति र तीन पटक स्थायी समिति बैठक बस्यो । ती सबैको अध्यक्षता ओलीले गरे ।


अध्यक्षको हैसियत बराबरी हुने भएकाले बैठकमा आलोपालो अध्यक्षता गर्ने अनौपचारिक सहमति थियो । त्यो सहमति अहिलेसम्म लागू भएको थिएन । प्रधानमन्त्री भएपछि ओलीले आधा दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् । उनका अधिकांश भ्रमण एक साताभन्दा लामा थिए ।


त्यतिबेला उनले दाहाललाई आफ्नो अनुपस्थितिमा औपचारिक बैठक सञ्चालन गर्न अनुमति दिएका थिएनन् । बरु सचिवालयका अन्य नेताबीच बसेको अनौपचारिक बैठकलाई समेत उनले शंकाको दृष्टिले हेर्ने गरेका थिए । ओली विदेशमा रहेका बेला दुई पटक दाहाल, वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो ।


त्यसलाई ओलीले आफूविरुद्धको गठबन्धनका रूपमा बुझेका थिए । एकताका दर्जनौं काम रोकिएको अवस्थामा पनि ओली नभएका बेला बैठक बस्दैनथ्यो । यसअघि ओली उपचारका लागि सिंगापुर जाँदा १५ दिन बैठक रोकिएको थियो ।


‘पछिल्ला निर्णयहरूबाट प्रधानमन्त्री अहिले सबैलाई अझै राम्ररी समेटेर जानुपर्छ भन्ने तहमा पुग्नुभएको बुझेका छौं,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलेले भने, ‘अध्यक्षलाई आफू नभएका बेलामा पनि काम गर्नुहोस् भनेर हिँड्नु धेरै सकारात्मक कुरा हो ।’


ओलीले पछिल्लो डेढ सातामा तीनवटा महत्त्वपूर्ण निर्णय गरे । पहिलो, प्रतिपक्षी दललाई समेत राखेर बालुवाटारमा बैठक गरे र संविधान पक्षधर शक्तिलाई एक हुन आग्रह गरे । दोस्रो, आफ्नो अनुपस्थितिमा प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने खालको निर्णय गरे । तेस्रो, दाहाललाई अध्यक्षको अधिकार प्रयोग गर्ने अनुमति दिए ।


एकता प्रक्रियाअन्तर्गत केन्द्रीय आयोग, महानगरका सचिव तोक्नेलगायत केही काम बाँकी छन् । त्यसपछि पार्टीको अभियान सञ्चालन गर्ने एजेन्डा छन् । ती एजेन्डामा सहमति खोज्न दाहालले शुक्रबारबाटै भूमिका सक्रिय पारिसकेका छन् । उनले शुक्रबार वरिष्ठ नेता नेपालसँग मिलेर अघि बढ्नुपर्ने भन्दै छलफल गरेका छन् ।


दाहालले ओलीसँगको पछिल्लो तिक्ततालाई बोकेर हिँड्न नहुने र सबै मिलेर पार्टीलाई अघि बढाउनुपर्ने प्रस्ताव गरेको उनको सचिवालय निकट स्रोतले बताएको छ । दाहालले सचिवालयका अन्य नेतासँग पनि अनौपचारिक छलफल गर्न सुरु गरिसकेका छन् ।


वरीयता हेरफेर, इन्चार्ज नियुक्तिलगायतमा ओलीले बढी चासो दिएपछि वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका हुन् । ओली र नेपालबीच मनमुटाव बढेको अवस्थामा दुई नेतालाई मिलाएर समन्वयात्मक ढंगले जान भूमिका खेल्ने अवसर दाहाललाई प्राप्त भएको छ । केही समयअघि नेपाल र दाहालको निकै उठबससमेत हुने गरेको थियो । गत साताका दुईवटा बैठकमा दाहाल ओलीकै कित्तामा उभिए । तैपनि नेपाल र दाहालबीचको सम्बन्धमा ओलीजति असमझदारी छैन ।


नेपालको सन्देश ओलीलाई

प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग बिहीबार तिक्ततापूर्ण संवाद भएपछि यसलाई लम्ब्याउन नहुनेमा दुवै पक्षका नेताहरू देखिएका छन् । अध्यक्षसँगको संवाद अप्रिय भएपछि नेता नेपालले मिलेर जाने सकारात्मक सन्देश पठाउन नेताहरूलाई आग्रह गरेका छन् ।


नेपालले वंशीधर मिश्रसँग पार्टीभित्रका विवादलाई विधिसम्मत हल गर्ने र व्यक्तिगत तिक्ततामा नजाने धारणा राखेका थिए । त्यसपछि यो सन्देश प्रधानमन्त्री ओलीसमक्ष पुगोस् भन्ने उनले चाहेका थिए । त्यसपछि मिश्रले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालसँग नेपालका धारणा सेयर गरेका थिए ।


प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकारहरूले नेपालको तर्फबाट भनेर आएको सन्देश ओलीलाई पठाएका छन् । प्रेस सल्लाहकार अर्यालले नेताहरू मिलेर जानुपर्छ भन्नेमै आफूहरूको भूमिका हुने बताए ।


अनुशासनको सीमाभित्र बस्न निर्देशन

यसैबीच दाहालले पार्टी नेता–कार्यकर्तालाई अनुशासनको सीमाभित्र बस्न सचेत गराएका छन् । जसले जे म लाग्यो त्यही बोल्ने प्रवृत्ति हावी भएको भन्दै उनले संयमता अपनाउन आग्रह गरेका हुन् ।


‘हामी हिजो निकै अनुशासित थियौं र यहाँ आइपुगेका हौं, आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं,’ शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षणमा अध्यक्ष दाहालले भने, ‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको छ, यसलाई सच्याउनुपर्छ ।’


उनले कम्युनिस्टहरू सत्तामा पुगेपछि राजा/महाराजाको जस्तो लक्षण देखिन नहुने बताए । सोभियत संघलगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण उल्लेख गर्दै उनले बुर्जॅवाहरूले कम्युनिस्टसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउँदा जनताले उल्ट्याएको प्रसंग उल्लेख गरे ।


‘पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरू राजा/महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्,’ उनले भने, ‘यस्तै प्रवृत्ति बढदै गयो भने पूर्वी युरोपमा जस्तै अवस्था आउन सक्छ ।’ दाहालले आचरण सुधार्न कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?