पूर्वराजा र चन्द समूहका कारण गणतन्त्र संकटमा परेको भन्नु हाँस्यास्पद : नेता कोइराला

विनु तिम्सिना

(विराटनगर) — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाह र चन्द समूहका कारण गणतन्त्र संकटमा परेको भन्नु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । ‘सरकारले सर्वदलीय बैठक बोलाएर पूर्वराजा र विप्लवका कारण गणतन्त्र खतरामा पर्‍यो भनेछ, मलाई त बडो हाँसो लग्यो,’ उनले भने, ‘राजा या विप्लवका गणतन्त्र खतरामा छैन वास्तविक खतरा त सत्ता पक्षबाटै छ ।’ 

पूर्वराजा र चन्द समूहका कारण गणतन्त्र संकटमा परेको भन्नु हाँस्यास्पद : नेता कोइराला

विराटनगरमा शुक्रबार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयको अन्तर्क्रियामा नेता कोइरालाले राम्रो काम गर्ने हो भने सरकार कुनै पनि शक्तिसँग डराउन नपर्ने बताए । उनले चन्द समूहको समस्या वार्ता र संवादमार्फत सरकारले टुंगो लगाउनुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएर ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र राजावादीबाट राज्य प्रणाली नै उल्टाउने खालका गतिविधि बढ्न थालेको’ भन्दै संयुक्त रूपमा यसको सामना गर्न विपक्षी दलहरूसँग आग्रह गरेका थिए ।


बढ्दै गएको दण्डहिनता, भ्रष्टाचार, राज्यका निकाय जवाफदेही नहुनु र न्यायपालिकाप्रति जनताको घट्दो विश्वासका कारण सामान्य विषयमा पनि जनता स्वत:स्फूर्त रुपमा सडकमा निस्कन थालेको उनले बताए । सरकार, सदन र न्यायापालिकाप्रति जनताको विश्वास घट्दै गएको र यो देशका निम्ति घातक हुनसक्ने उनको भनाइ थियो ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सरकारले विप्लव नेतृत्वको पार्टीलाई लगाएको प्रतिबन्ध असंवैधानिक भएको भन्दै तुरुन्त त्यसको खारेजीको माग गरे । ‘सरकारले विप्लव नेतृत्वको पार्टीलाई लगाएको प्रतिबन्ध संवैधानिक छैन, यो तुरन्त खारेज गरियोस्,’ उनले भने, ‘यो प्रतिबन्धले हिंसा झन् बढाएको छ ।’


पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका निम्ति अहिलेका नेताहरुले आफ्नो जवानी गुमाउनु परेको बताउँदै उनले सरकारको यस्तै रवैया रहने हो भने अहिलेका नयाँ पुस्ताले पुनः राजतन्त्र फर्काउन आफ्नो जवानी बिताउनुपर्ने बताए ।


मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलले राजनितिक दलका निम्ति मानव अधिकार देखाउने दाँत मात्रै भएको आरोप लगाए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारको नेतृत्व गरिरहेको पार्टी कम्युनिष्ट नभएको बताए । सत्तापक्ष र प्रतिपक्ष मिलेर देशमा लुटतन्त्र चलाइरहेको उनको आरोप थियो । ‘देशमा लुटतन्त्र छ । राज्यविहीनताको अवस्था छ र प्रतिपक्षी पनि छैन अहिले,’ उनले भने, ‘सबै कुरा भागबण्डामा मिलिरहेकै छ अनि किन प्रतिपक्षी बोल्ने ?’


लेखक तथा राजनितिक विश्लेषक नरेन्द्रजंग पिटरले २०६२/०६३ पछि भइरहेको सहमतीय राजनीतिको अभ्यासले सिण्डिकेट र संस्थागत भ्रष्टाचारलाई बढावा दिइरहेको बताए ।

प्रकाशित : भाद्र ६, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?