पूर्वराजा र चन्द समूहका कारण गणतन्त्र संकटमा परेको भन्नु हाँस्यास्पद : नेता कोइराला

विनु तिम्सिना

(विराटनगर) — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाह र चन्द समूहका कारण गणतन्त्र संकटमा परेको भन्नु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । ‘सरकारले सर्वदलीय बैठक बोलाएर पूर्वराजा र विप्लवका कारण गणतन्त्र खतरामा पर्‍यो भनेछ, मलाई त बडो हाँसो लग्यो,’ उनले भने, ‘राजा या विप्लवका गणतन्त्र खतरामा छैन वास्तविक खतरा त सत्ता पक्षबाटै छ ।’ 


विराटनगरमा शुक्रबार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयको अन्तर्क्रियामा नेता कोइरालाले राम्रो काम गर्ने हो भने सरकार कुनै पनि शक्तिसँग डराउन नपर्ने बताए। उनले चन्द समूहको समस्या वार्ता र संवादमार्फत सरकारले टुंगो लगाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएर ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र राजावादीबाट राज्य प्रणाली नै उल्टाउने खालका गतिविधि बढ्न थालेको’ भन्दै संयुक्त रूपमा यसको सामना गर्न विपक्षी दलहरूसँग आग्रह गरेका थिए।

बढ्दै गएको दण्डहिनता, भ्रष्टाचार, राज्यका निकाय जवाफदेही नहुनु र न्यायपालिकाप्रति जनताको घट्दो विश्वासका कारण सामान्य विषयमा पनि जनता स्वत:स्फूर्त रुपमा सडकमा निस्कन थालेको उनले बताए। सरकार, सदन र न्यायापालिकाप्रति जनताको विश्वास घट्दै गएको र यो देशका निम्ति घातक हुनसक्ने उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सरकारले विप्लव नेतृत्वको पार्टीलाई लगाएको प्रतिबन्ध असंवैधानिक भएको भन्दै तुरुन्त त्यसको खारेजीको माग गरे। ‘सरकारले विप्लव नेतृत्वको पार्टीलाई लगाएको प्रतिबन्ध संवैधानिक छैन, यो तुरन्त खारेज गरियोस्,’ उनले भने, ‘यो प्रतिबन्धले हिंसा झन् बढाएको छ।’

पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका निम्ति अहिलेका नेताहरुले आफ्नो जवानी गुमाउनु परेको बताउँदै उनले सरकारको यस्तै रवैया रहने हो भने अहिलेका नयाँ पुस्ताले पुनः राजतन्त्र फर्काउन आफ्नो जवानी बिताउनुपर्ने बताए।

मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलले राजनितिक दलका निम्ति मानव अधिकार देखाउने दाँत मात्रै भएको आरोप लगाए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारको नेतृत्व गरिरहेको पार्टी कम्युनिष्ट नभएको बताए। सत्तापक्ष र प्रतिपक्ष मिलेर देशमा लुटतन्त्र चलाइरहेको उनको आरोप थियो। ‘देशमा लुटतन्त्र छ। राज्यविहीनताको अवस्था छ र प्रतिपक्षी पनि छैन अहिले,’ उनले भने, ‘सबै कुरा भागबण्डामा मिलिरहेकै छ अनि किन प्रतिपक्षी बोल्ने?’

लेखक तथा राजनितिक विश्लेषक नरेन्द्रजंग पिटरले २०६२/०६३ पछि भइरहेको सहमतीय राजनीतिको अभ्यासले सिण्डिकेट र संस्थागत भ्रष्टाचारलाई बढावा दिइरहेको बताए।

प्रकाशित : भाद्र ६, २०७६ १७:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पत्रकार अधिकारीको नाममा अक्षयकोष

सन्जु पौडेल

(रुपन्देही) — गाडी दुर्घटनामा ज्यान गुमाएका पत्रकार डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै नगरपालिकाले पत्रकार अधिकारीका नाममा डायलसन अधिकारी पत्रकारिता अक्षय कोष स्थापना गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । 

पत्रकार अधिकारीको परिवारलाई ५ लाख नगद सहयोग तथा ३ लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको घिमिरेले बताए । अधिकारीको तिलोत्तमा नगरपालिका, ड्राइभरटोलमा रहेको निवासमा नगरपालिकाद्वारा आयोजित शोकसभामा बोल्दै नगरप्रमुख घिमिरेले अक्षयकोषमा नेपाल पत्रकार महासंघ रुपन्देही, परिवारका सदस्य र तिलोत्तमा नगरपालिकाको समन्वय रहने गरी कार्यविधि तयार गरी सञ्चालन गरिने जानकारी दिए ।
त्यसैगरी तिलोत्तमा नगरपालिकाको कार्यपालिका बैठकले अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई उनको योग्यताअनुसारको रोजगारी र छोराछोरीको शिक्षामा सहयोग गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए । 'हामीले अधिकारीको धर्मपत्नीलाई उहाँको योग्यताअनुसार नगरपालिकाका जुनसुकै वडामा रोजगारी दिनेछौं', नगरप्रमुख घिमिरेले भने ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले पत्रकार अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताए । कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका र तिलोत्तमा नगरवासीले अधिकारी परिवारमा देखाएको सद्भाव, सहानुभूति र व्यक्त गरेको समवेदना स्व. डायलसन अधिकारीले कमाएको अमूल्य सम्पत्ति भएको बताए ।

तिलोत्तमा नगरपालिकाले असोज महिनामा गर्ने लगानी सम्मेलनको प्रचार प्रसारका लागि पूर्वी नेपालको भ्रमणमा गएका अधिकारीको गत साउन ३२ मा पूर्व-पश्चिम महेन्द्र राजमार्गअर्न्तगत सप्तरीमा दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ६, २०७६ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT