मार्च अन्तिममा ‘सगरमाथा डायलग’

‘विश्वभरका २ सय विज्ञ अतिथि बोलाइने’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले आफ्नो सरोकार र अर्न्तराष्ट्रिय सामयिक चासोका मुद्दाहरुमा बहस गर्ने/गराउने गरी ‘सगरमाथा डाइलग’ सुरु गर्ने भएको छ । आगामी मार्च महिनामा गरिने यो संवाद कार्यक्रमका लागि ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र’ विषयक शीर्षक निर्धारण गरिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको निर्देशक समितिको बैठकले डाइलगको सम्पर्क कार्यालय त्रिपुरेश्वरस्थित परराष्ट्र मामला अध्यन प्रतिष्ठानमा राख्ने निर्णय गरेको छ । ‘नेपाललाई प्रत्यक्ष सरोकार राख्ने बिषय, क्षेत्रीय र अर्न्तराष्ट्रिय मुद्धाहरुमा विशिष्ट विज्ञहरुको राय लिने र बहस मञ्चको रुपमा यो डाइलगलाई बिस्तार गर्ने सोच राखिएको छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘यसमा वातावरण, मौसम परिवर्तन, उर्जा, पर्वतीय अर्थतन्त्र, मौलिक परम्परा, राजनीतिक उपलब्धी वा शान्ति स्थापना आदिजस्ता राष्ट्रिय/अर्न्तराष्ट्रिय विषयहरु सरोकारमा आउनेछन् ।’

परराष्ट्रको नीति योजना विकास कुटनीति महाशाखाका अनुसार, राष्ट्रसंघीय निकायका विषयविद्, विभिन्न मुलुकबाट सरकार प्रमुख र विज्ञहरु गरेर झण्डै २ सयजनालाई पहिलो बैठकमा आमन्त्रण गरिने भएको छ । स्थायी मञ्चका रुपमा रहने डाइलगले हरेक २ वर्षमा विषयगत रुपमा छलफल चलाउनेछ । शुक्रबारको बैठकमा परराष्ट्र सचिव शंकर बैरागीसहित विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

भारतमा पनि विदेश मन्त्रालयको संयोजकत्वमा राइसिना डाइलग भनेर सन् २०१६ यता बर्सेनि यस्तै बहुआयामिक विषयको संवाद कार्यक्रम चलाइने गरिन्छ । सिंगापुरमा पनि सांग्रिला डाइलगका नाममा बहुपक्षीय संवाद सञ्चालनमा छ ।

प्रकाशित : भाद्र ६, २०७६ १३:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

थिमीमा मोटरसाइकल र स्कुटर जुध्दा एकको मृत्यु 

कान्तिपुर संवाददाता

(भक्तपुर) — भक्तपुरको नयाँ थिमीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने, स्कुटर चालक घाइते छन् । 

प्रहरीका अनुसार शुक्रबार बिहान सूर्यविनायक–तीनकुने सडकखण्ड अन्तर्गत मध्यपुर थिमि–४ नयाँथिमि चारदोबाटोस्थित भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा जुधेका थिए ।

मृत्यु हुनेमा मध्यपुर थिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजा छन् । दुर्घटनाबाट सख्त घाइते गोजाको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रविण लोहलाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT