लापरवाही गर्ने कर्मचारीमाथि निगरानी सुरु

राजेन्द्र मानन्धर

दोलखा — तीन तहको सरकार भएपछि कर्मचारीलाई निगरानी गर्न छाडेको जिल्ला प्रशासनले छड्के अनुगमन गर्न सुरु गरेको छ । छड्के अनुगमनमा बिदा र काज नजनाई अनुपस्थित हुने जिल्ला आयुर्वेद कार्यालय, डिभिजन सिचाईं कार्यालय र गौरीशंकर संरक्षण क्षेत्रको फिल्ड कार्यालय चरिकोटका प्रमुख छन् ।

कर्मचारीहरु अनुपस्थित भई जनताको काममा बाधा परेको गुनासोपछि छड्के अनुगमण थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

अनुगमनको क्रममा १६ वटा कार्यालयका ४२ जना कर्मचारीहरु अनुपस्थित थिए । बिदाको कागज छाड्ने तर हाजिर खातामा नजनाउने तथा लामो समयदेखि बेखवर रहने कर्मचारीहरु छड्के अनुगमनमा भेटिएको प्रजिअले जानकारी दिए ।

कार्यालयमा नै बसिरहनुपर्ने भूमिका भएका कर्मचारीहरु महिनाको २९ दिनसम्म फिल्ड काज जनाएर सुविधा भोग गरिरहेको पनि छड्के अनुगमनमा फेला परेको छ । लामो समयसम्म हाजिर नगरी वेपत्ता भएका कर्मचारीहरु पनि भेटिएको प्रजिअ रिजालले बताए ।

उनका अनुसार लापरवाही गर्ने कर्मचारीहरुको सूची तयार गरेर कारबाही प्रकृया अघि बढाइने छ । अनुगमन प्रकृया निरन्तर गरिने पनि उनले जानकारी दिए ।

राज्यको सुविधामा कर्मचारी पोषाक खरिद गर्ने तर नलगाई कार्यालय जाने कर्मचारीहरु पनि भेटिएको छ । प्रशासनका अनुसार १२ जना कर्मचारीहरु कर्मचारी पोषाक विना कार्यालयमा भेटिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

बागेश्वरी मन्दिरको सम्पत्ति हिनामिना : ८४ बिघा टुक्र्याएर बेचियो

मन्दिर गुठीका नाममा दान गरिएको जग्गा १ हजार ५ सयभन्दा बढी कित्तामा टुक्र्याएर बेचिएको छ । सुरूमा विभिन्न व्यक्तिलाई जोतभोग गर्न दिइएको जग्गा ०५७ सालमा रैताने नम्बरी बनाउने निर्णय भएपछि टुक्र्याउने क्रम बढेको हो ।
मधु शाही, ठाकुरसिंह थारू

बाँके — बागेश्वरी मन्दिर गुठीका नाममा विभिन्न व्यक्तिले दान गरेका ८४ बिघा जग्गा टुक्राटुक्रा बनाएर बिक्री गरिएको छ । इन्द्रपुर कर्मोनामा रहेको उक्त जग्गा ५ धुरसम्मको टुक्रा बनाएर घडेरीका रूपमा बेचिएको हो । 

बाँकेको इन्द्रपुर कर्मोनामा रहेको बागेश्वरी मन्दिर गुठीको जग्गा । यो जग्गामा ५ धुरसम्मका घडेरी बनाएर बेचिएको छ । तस्बिर : कान्तिपुर 

०२५ सालमा मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर रहेकोमा ०५७ को अभिलेखमा ८४ बिघा मात्रै देखिएको मालपोत कार्यालयले जनाएको छ । मालपोतका अनुसार अहिलेसम्म १ हजार ५ सय कित्ताभन्दा बढी बिक्री भएको छ । नेपालगन्ज उपमहानगरसँगै जोडिएकाले जग्गाको मूल्य बढी छ ।

०५७ मै मन्दिरको जग्गा ६ सय कित्तामा टुक््रयाएर तीन सय जनाका नाममा दर्ता गरिएको थियो । मालपोत प्रमुख प्रेम दौल्यालले त्यसयताको अभिलेख खोजी भइरहेको बताए । ‘त्यतिबेलै जग्गाको धेरै टुक्रा भइसकेको छ, ०७६ सम्म आइपुग्दा दुई/तीन गुणा बढी टुक्रा बनाएको आशंकामा खोजबिन गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘जग्गा बिक्री हुने क्रम जारी छ । एउटा व्यक्तिको नामबाट दुई/तीन जनाका नाममा नामसारी भएको देखिन्छ ।’

बागेश्वरी मन्दिर राजगुठी भएकाले त्यसको चलअचल सम्पत्ति सरकारी हुने कानुनी व्यवस्था छ । सुरुमा गुठीको जग्गा व्यक्तिलाई जोतभोग गर्न दिइएको थियो । उत्पादन र मालपोत कर मन्दिरको पूजाआजा र सन्तमहन्तको सेवामा खर्च गरिन्थ्यो ।

रैती बनाइएका व्यक्तिले लामो समयसम्म जोतभोग गर्दै आएको जग्गा ०५७ मा रैताने नम्बरी बनाउने निर्णय भयो । लगत्तै तत्कालीन इन्द्रपुर गाउँपञ्चायत–३ को ९ बिघा १९ कट्ठा ५ धुर हरिहरनाथ योगी र ९ बिघा १३ कट्ठा १२ धुर जग्गा चन्दननाथ योगीका नाममा दर्ता भएको थियो । उनीहरूले त्यो जग्गा पनि टुक्र्याएर बेचिसकेका छन् । अरू जग्गामा पनि रैती देखाउँदै रैताने नम्बरी बनाउँदै महन्तद्वयले बिक्री गर्दै आएको मालपोतको अभिलेखले देखाउँछ ।

‘एक हजारभन्दा बढी टुक्रा पारिएकाले अभिलेख र कागज खोज्न समय लागेको हो, दुई जना कर्मचारीलाई मन्दिरको जग्गाको कागज खोज्न खटाएको छु,’ मालपोत प्रमुख दौल्यालले भने, ‘२० वर्षअघि त्यति धेरै टुक्रा भइसकेको रहेछ । अहिले त दोब्बर/तेब्बर पुगिसकेको अनुमान छ ।’ गुठीको जग्गा व्यक्तिका नाममा पास भएपछि सर्वसाधारणले सहजै किनेका हुन् ।

स्थानीय मानबहादुर बुढाले १२ वर्षअघि घरबासका लागि जग्गा किनेको बताए । उनले स्थानीय तिलोतमा हमालबाट जग्गा किनेका हुन् । हमालले २० वर्षअघि अर्कै व्यक्तिबाट जग्गा किनेका थिए । ‘व्यक्तिका नाममा रहेको जग्गा पैसा हालेर कानुनअनुसार किनेको हुँ, अरू हामीलाई जानकारी हुने कुरै भएन,’ बुढाले भने, ‘मेरै जग्गा नजिकै तीन/चार सय जनाले त्यस्तै जग्गा किनेका छन् ।’

बागेश्वरी मन्दिर गुठी समितिका सचिव गोपालप्रसाद अधिकारीले खजुरामा रहेको करिब तीन बिघालगायत केही जग्गामा विवाद नरहेको बताए । उनका अनुसार उक्त जग्गामा मोही भएका कारण मोहीले जग्गा जोगाएर राखेका हुन् । ‘बिक्री भइसकेको जग्गा कानुनअनुसार खोज्दै छौं,’ उनले भने ।

मन्दिरको जग्गा संरक्षणका लागि कानुनी पैरवी गरिरहेका नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अधिवक्ता सुनील श्रेष्ठले गुठीले जग्गा फिर्ताका लागि निर्णय गर्न सक्ने बताए । उनले गुठीबाट सार्वजनिक सूचना जारी गरी फिर्ताको प्रक्रिया सुरु गर्न सक्ने जनाए । ‘पहिले जग्गा फिर्ता लिनुपर्छ, त्यसपछि खाली गराउन अर्को प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘कानुनी रूपमा सजिलो छ तर व्यवहारमा कठिन हुन सक्छ ।’ हिन्दुहरूको प्रमुख शक्ति पीठमध्येको बागेश्वरीका नाममा भक्तजनहरूले जग्गा दान गर्ने चलन अझै छ ।

मन्दिर अस्तव्यस्त
बागेश्वरी मन्दिरको पूर्वी ढोका बन्द छ । छेउमा निर्माणाधीन नाला अलपत्र छ । वर्षाको पानी भरिएर ढल मन्दिर परिसरभित्र पसी दुर्गन्धित बनेको छ । नालाछेउमा फ्याँकिएको फोहोर महिनौं नउठाउँदा फूलपाती बेच्ने व्यापारी नाक थुन्न बाध्य छन् । भक्तजन नाक खुम्च्याउँदै बागेश्वरी माताको दर्शन गर्छन् ।

दक्षिणपट्टि व्यापारिक सटर निर्माणका लागि छुट्याइएको जमिन उपयोग हुन सकेको छैन । सडक विस्तार क्रममा तोडिएका पुराना संरचना पुनर्निर्माण रोकिएको छ । मन्दिर गुठी व्यवस्थापन समितिले बनाउन थालेको सटर स्थानीय र अभियन्ताले विरोध जनाएपछि रोकिएको छ । शौचालयको सुविधा छैन । खानेपानीको व्यवस्था छैन । दाताको सहयोगमा जडान गरिएको फिल्टर बिग्रिएपछि पानी खानै समस्या छ । भक्तजनलाई बस्न कुर्सी छैनन् ।

मुलुककै प्रमुख शक्तिपीठमध्ये पर्ने र दैनिक हजारौं भक्तजनको ओइरिने बागेश्वरी मन्दिर अस्तव्यस्त छ । ‘भक्तजन आउँछन्, धेरै बेर टिक्दैनन्,’ पूर्वी ढोकाछेउ फूलपाती बेच्ने तीलकुमारी योगीले भनिन्, ‘न खानेपानीको राम्रो सुविधा छ, न शौचालयको ।’ पवित्र स्थलको वातावरण पवित्र नहुँदा श्रद्धालु खिन्न हुने गरेको उनले बताइन् ।

५७ वर्षीया विष्णुदेवी सिंह मन्दिर हेरेरै हुर्किइन् । सडक निर्माणक्रममा टहरा हटाइएपछि मन्दिरपरिसर सुन्दर र खुला देखिएको उनले बताइन् । ती सटरले मन्दिर छेकेका थिए । उनका अनुसार सटरमा सुरुमा धर्मशाला थियो । पछि त्यसैलाई भाडामा लगाएर व्यापार सुरु गरिएको थियो । ‘मन्दिरका पुराना सटरमा पहिले धर्मशाला थियो, त्यहाँ नुन किन्न आउने बटुवा बास बस्थे,’ उनले भनिन्, ‘पछि त्यहीँ व्यापार गर्न थाले ।’

यतिबेला गुठीले दुईतले व्यावसायिक भवन निर्माणको योजना अघि सारेको छ । त्यसले मन्दिर छेकिने स्थानीयको चिन्ता छ ।

३० वर्षदेखि दक्षिण ढोकानजिकै सिलाइ गर्दै आएका ६५ वर्षीय अनिश इद्रिसीले सटर हटेपछि मन्दिर आकर्षक देखिएको बताए । ‘अहिले बिहान उठ्नासाथ मन्दिरको दृश्य देख्न पाइएको छ,’ उनले भने । मन्दिरछेउमा जन्मेहुर्केका ४५ वर्षीय विनोदकुमार गुप्ताले मन्दिरको नाममा रहेको धर्मशाला अरूले प्रयोग गरेको सुनाए ।

त्यसमा प्रहरी केन्द्र, महन्तको कोठा, केही स्टोर रुम बनाइएको छ । माथिल्लो तला खाली छ । तीज र तिहारका बेला यहाँ चापाचाप हुन्छ । यस्तो बेला चोरी हुने गर्छ । खाली ठाउँ भयो भने त्यहाँ बालबालिका सुरक्षित हुने, मान्छे बसेर आराम गर्न सक्ने उनले बताए ।

सामाजिक अभियन्ता डा. विनोद कर्णका अनुसार यो दुई सय वर्ष पुरानो पौराणिक मन्दिर हो । नगरवासीको इच्छाअनुसार सटर निर्माण रोकेर मन्दिरपरिसर खुला राख्नुपर्ने उनले बताए । यहाँका नागरिक अगुवाले सटर निर्माणको विरोध गरिरहेका छन् । अहिले माटो सम्याउने काम चलिरहेको छ । बागेश्वरी विकास परियोजनाअन्तर्गत कोष स्थापना गरेर मन्दिरको संरक्षण गरिनुपर्ने उनले बताए ।

नागरिक अगुवा कर्ण, विवेक श्रेष्ठ, महेश श्रेष्ठ, समीर श्रेष्ठ, हेमन्तराज काफलेलगायतले बागेश्वरीको खाली जमिनमा सटर होइन, बगैंचा बनाउन जोड दिएका छन् । ‘क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज’ अभियानमा सक्रिय कर्णले पहिला सटर थियो भन्दैमा अहिले त्यही निर्माण गर्न नहुने बताए । आवश्यकताअनुसार बागेश्वरी मन्दिरको सुन्दरता बढाउन सटरको सट्टा बगैंचा हुनुपर्ने उनीहरूको माग छ ।

गुठीका संरक्षक एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले सटरको शिलान्यास गरेका थिए । उनले फेसबुकमा सपिङ कम्प्लेक्स बनाउने तयारी लेखेपछि स्थानीय, अभियन्ता र सरोकारवालाले विरोध जनाउन थालेका हुन् । मन्दिर गुठीले आफ्नो आन्तरिक स्रोतबाट पहिलेकै संरचनालाई व्यवस्थित रूपले निर्माण गर्न लागेको उनले सुनाए । उनका अनुसार मन्दिरको दक्षिण भेगमा राणाकालीन समयदेखि पुराना १७ सटर कोठा सञ्चालित थिए ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा घरबारी टोल सडक विस्तारक्रममा नेपालगन्ज उपमहानगरले बागेश्वरी मन्दिरका पुराना सटर हटाएको थियो । त्यही पुरानो थलोमा सटर बनाएर गुठीले आयस्रोत विस्तार गर्ने योजना बनाएको छ ।

मन्दिरको आयआर्जन बढाउनुका साथै महन्त, भक्तजनलाई आश्रम बनाउन माथिल्लो तलासमेत निर्माण गर्ने गुठीको योजना छ । यसको सूचना निर्माण स्थलमै सार्वजनिक गर्दै काम सुरु गर्न लागिएको छ । पहिलेकै संरचनामा सटर बनाउँदा असर नपर्ने नगरप्रमुख राणाले बताए ।

राणाका अनुसार बागेश्वरी मन्दिरको वार्षिक खर्च डेढ लाख रुपैयाँ छ । निर्माण पूरा भएपछि प्रतिसटर १० हजार रुपैयाँ भाडामा जान्छ । यसले वार्षिक पौने दुई लाख रुपैयाँबराबर मन्दिरको आयस्रोत वृद्धि हुने उनले बताए । मन्दिरको आम्दानीबारे गुठीले छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे ।

३ हजार रुपैयाँमा भाडा दिँदै आएका पुराना सटर व्यवस्थित भएपछि १० हजार रुपैयाँ पुग्ने उनले सुनाए । १७ सटर बनाउन झन्डै ९३ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्