२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चिकित्सक भन्छन्– ओलीमा एन्टिबडीको मात्रा बढ्यो

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली उपचार गराएर फर्केको डेढ सातापछि बिहीबार पुनः सिंगापुर गएका छन् । शरीरमा केही बढी मात्रामा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारका लागि उनी गएका हुन् ।

चिकित्सक भन्छन्– ओलीमा एन्टिबडीको मात्रा बढ्यो

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार हुनेछ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाहका अनुसार शरीरबाट एन्टिबडीलाई निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन ओली सिंगापुर गएका हुन् ।


‘अघिल्लो पटक एसएनयूमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो, त्यसैक्रममा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो’, शाहले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी औपचारिक जानकारी सार्वजनिक गर्दै भनेकी छन्, ‘त्यसको निराकरणका लागि फेरि त्यसतर्फ जान लाग्नुभएको हो ।’


उनले सिंगापुरमा नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने जनाएकी छन् ।


पत्नी राधिका शाक्य, निजी चिकित्सक शाह, सहयोगी र सुरक्षाकर्मी प्रधानमन्त्रीसँगै सिंगापुर गएका छन् । प्रधानमन्त्रीले गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य परीक्षण गराएका थिए । ‘प्रधानमन्त्रीको शरीरमा एन्टिबडी बढेको कुरा प्रस्ट भयो,’ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने, ‘अर्थात् उहाँको शरीरले अरूको मिर्गौला प्रत्यारोपण गरेको कुरा चिन्न थाल्यो ।’ उनका अनुसार एन्टिबडीले प्रत्यारोपित मिर्गौला (फरेन बडी भएकाले) मा आक्रमण गर्न थालेको छ ।


जति बढी एन्टिबडी उत्पादन हुन्छ, त्यति नै मिर्गौलामा क्षति पुग्ने उनले बताए । प्रधानमन्त्रीका लागि हाल दुई प्रकारको उपचार विधि सँगसँगै अपनाइने औंल्याउँदै उनले भने, ‘यसअन्तर्गत सुईबाट औषधि दिएर शरीरमा एन्टिबडीको उत्पादन घटाउन र बनिसकेको एन्टिबडीलाई रगतबाट हटाउनु (प्लाज्मा फेरोसिस) पर्छ ।’


प्लाज्मा फेरोसिसअन्तर्गत डायलाइसिसजस्तै रगत झिकेर र रगतको प्लाज्मा भएको एन्टिबडी झिकेर यसको सट्टा अर्को प्लाज्मा हालिन्छ । ‘यो प्रक्रिया सामान्य रूपमा ३ पटक गरिने भए पनि ५–६ पटकसम्म आवश्यक पर्न सक्छ,’ उनले भने ।


एन्टिबडी उत्पादन घटाउनुका साथै त्यसलाई शरीरबाट निकाल्ने प्रक्रिया पूरा गरेपछि मिर्गौला पहिलेकै स्थितिमा फर्किए हाल प्रधानमन्त्रीमा देखिएको शारीरिक समस्या समाधान हुन्छ । ‘यति गर्दा समेत समस्या समाधान नभए डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ,’ डा.काफ्लेले भने ।


विभिन्न अध्ययनका अनुसार प्लाज्मा फेरोसिस प्रक्रियामा करिब ६० प्रतिशतसम्म स्वास्थ्यलाभ भएको देखिएको उनले बताए । प्लाज्मा फेरोसिस उपचार प्रक्रिया नेपालमा पनि छ । यसैबीच पत्रकार सम्मेलन गर्दै ओलीका अर्का निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौलामा क्रिटिनाइनको मात्रा थोरै बढेको देखिएको र मिर्गौला प्रत्यारोपणको धेरै वर्षपश्चात देखिने एन्टिबडिज समस्याको सूक्ष्म परीक्षण हुने बताए ।


मिर्गौला प्रत्यारोपणपश्चात देखिने एन्टिबडिज अर्थात् रोग प्रतिरोधात्मक क्षमता घट्ने समस्याको उपचारका लागि नेपालमा चिकित्सक र उपकरण भए पनि प्रधानमन्त्रीको अब्बल उपचारमा कुनै कसर नछोड्ने उद्देश्यले ओलीलाई सिंगापुर लगिएको उनले जानकारी दिए ।


बोर्डको सिफारिसबिनै उपचारका लागि विदेश

विदेश उपचार गर्न जानका लागि अनिवार्य रूपमा मेडिकल बोर्डको सिफारिस लिनुपर्ने भए पनि प्रधानमन्त्री ओलीले यो प्रक्रिया पूरा गरेका छैनन् ।


हरेक पटक उपचार गर्न जाँदा उनी बोर्डको सिफारिसबिनै जाने गरेका छन् ।बोर्डको रेकर्डमा प्रधानमन्त्रीलगायत कुनै पनि भीभीआईपीले विदेश उपचारका लागि सिफारिस लिएको रेकर्ड छैन । बोर्डका अध्यक्ष डा. केदारप्रसाद सेन्चुरीका अनुसार कुनै पनि नागरिकले नेपालमा सम्भव नभएको उपचारका लागि मात्रै विदेश जान पाउँछन् । यसका लागि बोर्डका विज्ञले छानबिन गरी विदेश जानुपर्ने र नपर्ने टुंगो लगाउँछन् ।


बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कानुन नागरिक र उच्च तहका सबै नेता र मन्त्रीका लागि बराबर रूपमा लागू हुनुपर्ने बताए । उनले भने, ‘बोर्डको नियम सबैले पालना गर्नुपर्छ । ठूलालाई लागू नहुने नियम किन बनाउने ?’

प्रकाशित : भाद्र ६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?