कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कलंकी–चाबहिल सडक विस्तार हुने

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले चक्रपथअन्तर्गत कलंकी–चाबहिल खण्डको चक्रपथ विस्तार माघमा सुरु गर्ने भएको छ । पहिलो चरणमा रूख काट्ने, सडक क्षेत्र अतिक्रमण गरी बसेका घरटहरा र बिजुलीका पोल हटाउने काम सकिएपछि चीन सरकारले सडक निर्माण अघि बढाउने चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । 

कलंकी–चाबहिल सडक विस्तार हुने

केही दिनभित्रै २ हजार ५७ रूख काट्न सुरु गरिनेछ । ‘टेन्डर भइसकेको छ, अब काम सुरु हुन्छ,’ उनले भने, ‘केही दिनभित्रै रूख काट्न थाल्छौं ।’

चक्रपथभित्र करिब १ हजार ६७ र बाहिर ९ सय ९० वटा विभिन्न जातका रूख काटनुपर्नेछ । १ सयवटा बिजुलीका खम्बा हटाइसकिएको र बाँकी पनि तत्काल हटाइने रिमालले बताए । ढल, खानेपानी, विद्युत्, टेलिकमलगायत सबै निकायले साइट क्लियर गरिसकेको उनको भनाइ छ ।

‘स्थायी संरचना त्यति छैनन्,’ उनले भने, ‘सडक विस्तारमा खास समस्या छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर चीनले काम थाल्छ ।’ तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त काम अघि बढाइनेछ ।

‘चिनियाँहरूले करिब खाका तयार गरिसकेका छन्, त्यसकारण डीपीआर बनाउन धेरै ढिलो हुन्न,’ उनले भने । कलंकी–चाबहिल (धोबीखोला) सम्म ११.६ किमि दूरी छ । चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकीसम्मको १० किमि सडक ८ लेनमा विस्तार भइसकेको छ । यो खण्ड विस्तारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ ।

दोस्रो चरणमा विस्तार हुने कलंकी–चाबहिल खण्डका दुवै किनार र बीचमा वृक्षरोपण गरिनेछ । विभिन्न स्थानमा आकाशेपुल, सोलार लाइट, ट्राफिक लाइट र फुटपाथको व्यवस्था हुनेछ ।

सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगबु, सामाखुसी र बसुन्धारा, महाराजगन्ज, चप्पल कारखाना र सुकेधारामा आकाशेपुल बनाइनेछ । सडक विस्तारका लागि करिब ६ अर्ब लाग्ने अनुमान छ । तेस्रो चरणमा चाबहिल–कोटेश्वर ७ किमि खण्ड विस्तार गरिनेछ ।

चाबहिल–गौशालाको करिब १.३ किमि सडक विस्तार कार्य निकै संवेदनशील भएको विभागले जनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर रहेकाले यो खण्डमा विकल्प खोज्ने हो कि भन्ने सोचाइ रहेको विभागका एक अधिकारी बताउँछन् ।

‘केही समस्या भएकाले चाबहिल–कोटेश्वर खण्ड नेपाल सरकारले नै विस्तार गर्नुपर्छ भन्नेछ,’ ती अधिकारीले भने । चाबहिल–गौशाला क्षेत्रमा फ्लाई ओभर वा अन्डरपास वे जुन उपयुक्त विकल्प हुन्छ, त्यसको विस्तृत अध्ययन गरिने ती अधिकारीले बताए ।

पूरै चक्रपथ विस्तार गर्न झन्डै २५ अर्ब लाग्ने विभागको अनुमान छ । २७.२ किमि लम्बाइ रहेको चक्रपथको चौडाइ १५ मिटरबाट बढाएर ५० मिटर बनाइँदै छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?