उपकुलपति सिफारिस समितिको म्याद थप

काठमाडौँ — शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको नाम सिफारिस समितिको म्याद थपिएको छ ।

उपकुलपति सिफारिस समितिको म्याद थप

समितिले नाम सिफारिस गर्न नसकेपछि उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आगामी २० गतेसम्मका लागि म्याद थपेका हुन् ।


उपकुलपति तीर्थराज खनियाँको कार्यकाल शुक्रबार (आज) सकिँदै छ । कुलपति कार्यालयले शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको छ । साउन १८ गते गठित समितिमा व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र प्राध्यापक कमल गुरागाईं सदस्य छन् । समितिले ३ सातासम्म नाम सिफारिस गर्न नसकेपछि म्याद थप्दै शिक्षाध्यक्षलाई कामुको जिम्मेवारी दिनुपरेको हो ।

त्यस्तै उपकुलपति कार्यालयले बिहीबार पूर्वाञ्चल, नेपाल संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको नाम सिफारिसका लागि सर्च कमिटी बनाएको छ । सहकुलपति तथा शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छुट्टाछुट्टै कमिटी बनाइएको हो ।


पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा योजना आयोगमा शिक्षा हेर्ने सदस्य उषा झा र शिक्षा सचिव महेश दाहाल सदस्य छन् । कृषि विश्वविद्यालयको सर्च कमिटीमा दाहाल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी सदस्य छन् ।


शुक्रबार यी विश्वविद्यालयका उपकुलपतिको पनि कार्यकाल पूरा हुँदै छ । अर्को उपकुलपति नियुक्ति नहुँदासम्मका लागि पूर्वाञ्चलमा डिन बेजकुमार थपलिया, संस्कृतमा शिक्षाध्यक्ष रमेश ढकाल र कृषिमा डिन शारदा थपलियालाई कामुको जिम्मेवारी दिने निर्णय गरिएको सहकुलपति कार्यालयले जनाएको छ ।


त्रिवि उपकुलपति खनियाँसँगै कृषि तथा वन विज्ञानका उपकुलपति ईश्वरीप्रसाद ढकाल, नेपाल संस्कृतका उपकुलपति कुलप्रसाद कोइराला र पूर्वाञ्चलका उपकुलपति घनश्यामलाल दासको कार्यकाल सकिएको हो ।


नेपाल संस्कृत र पूर्वाञ्चलको सेवा आयोग अध्यक्ष सिफारिस गर्न पनि मन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?