कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति

घनश्याम खड्का

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा राजनीतिक सहमति र भागबन्डामा पदाधिकारी नियुक्त हुन लागेकामा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ ।

सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति

सिफारिस समितिले गर्नुपर्ने काम नेताहरूबाट हुन लागेपछि समितिबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनेबारे विचार गर्ने अवस्था आएको आयोग अध्यक्ष अनुपराज शर्माले बताए ।


सरकारले उक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि गठन गरेको पाँच सदस्यीय सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त प्रकाश वस्ती पदेन सदस्य छन् ।


समितिको क्षेत्राधिकार मिच्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष नियुक्त गर्नेबारे छलफल चलेको थियो । शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गरी शीर्ष दलको अनधिकृत पहलले नियुक्ति प्रक्रियामा निष्पक्षता, तटस्थता र पारदर्शितासमेत नरहने अनुभूति आयोगलाई भएको जनाएका छन् ।


‘यस्तो परिस्थितिबाट द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न कठिन हुने र कानुनद्वारा अख्तियारी प्रदान गरिएको सिफारिस समितिको वैधता र निष्पक्षतामाथि प्रश्नचिह्नसमेत खडा हुने भएकाले,’ शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘उक्त समितिमा रही आयोगले कार्य गर्ने वा नगर्ने सम्बन्धमा पुनर्विचार गर्न सक्नेतर्फ आयोग गम्भीर रहेको सार्वजनिक गर्दछ ।’


द्वन्द्वपीडितको छाता संगठन द्वन्द्वपीडित साझा चौतारीले बिहीबारै संक्रमणकालीन न्यायको आवाज दबाउन लागिपरेकालाई आयोगको नेतृत्वमा पठाउन खोज्ने नेताहरूको निर्णय कुनै हालतमा स्वीकार्य नहुने जनाएको छ ।


शीर्ष नेताहरूले बुधबार सत्य निरूपणमा श्रेष्ठलाई अध्यक्ष बनाउने र बेपत्ता व्यक्ति छानबिन आयोगमा पुरानैलाई निरन्तरता दिने सहमति गरेको थियो । विरोध हुने डरले बैठकका निर्णय सार्वजनिक नगरिएको पीडितहरूको दाबी छ ।


पारदर्शिता र निष्पक्षताका विधिलाई पन्छाएर नेताहरूबाट हुने जुनसुकै निर्णय मान्य नहुने भन्दै चौतारीले बालुवाटार बैठकको विरोध गरेको हो । ‘दलीय स्वार्थका आधारमा गरिएको उक्त षड्यन्त्रले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया देशकै लागि घातकसिद्ध हुने र दलीय स्वार्थ लादिने पीडककेन्द्रित प्रक्रियाले लाखौं पीडितको भावनामाथि खेलबाड भएको छ,’ पीडितले जारी गरेको विज्ञप्तिमा छ, ‘शान्ति प्रक्रिया प्रारम्भ भएको १३ वर्षसम्म आँसु झारेर न्यायको पर्खाइमा रहेका सम्पूर्ण पीडित समुदायलाई यो प्रक्रिया पूर्णतः अस्वीकार्य छ ।’


पीडितको न्यायलाई इन्कार गर्ने राजनीतिक दलको यस्तो षड्यन्त्रमा औंठाछाप ठोक्ने कठपुतली बनेको नाम मात्रको सिफारिस समितिको औचित्य सकिएको साझा चौतारीको ठहर छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?