प्रोटोकल मिचेर भट्टराई र देउवाले भेटे जयशंकरलाई

घनश्याम खड्का

काठमाडौँ — पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरलाई कूटनीतिक मर्यादा विपरीत उनी बसेको होटेलमै पुगेर भेट गरेका छन् । उनीहरूको यस्तो कदमको कूटनीतिक वृत्तले मात्र नभएर सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । 

‘भ्रमणरत भारतीय विदेशमन्त्री जयशंकरसँग आपसी हितका विषयमाथि राम्रै विचारविमर्श भयो,’ दिउँसो एक बजे जयशंकरसँग भेटेलगत्तै तस्बिरसहित भट्टराईले ट्विवट गरेका छन्, ‘वर्तमान भारतीय सरकार नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक छ भन्ने थाहा पाउँदा खुसी लाग्यो।’ त्यसलगत्तै सामाजिक सञ्जालमा कूटनीतिक मर्यादा लत्याएर भेट गर्न गएको भन्दै भट्टराईको चर्को आलोचना भएको थियो। ‘उहाँ बसेको होटलमा जानुभएछ,’ एक महिलाले ट्विट गरेकी छन्, ‘तपाईंलाई आफ्नो प्रोटोकलले भेट्न जाने सुविधा दिएको छ कि छैन?’

भट्टराईका साथ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जयशंकरलाई भेट्न पुगेका थिए। त्यस्तै देउवाका साथमा कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य नारायण खड्का र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई पनि होटल पुगेका थिए।

पूर्वराजदूतसमेत रहेका भट्टराईले देउवाको बचाउ गर्दै उक्त भेटबाट कूटनीतिक मर्यादा उल्लंघन नभएको जिकिर गरेका छन्। ‘देउवा पूर्वप्रधानमन्त्री मात्रै नभएर विपक्षी दलको प्रमुख पनि हुनुहुन्छ,’ उनले भने, ‘एउटा विपक्षी दलको प्रमुखले भ्रमणमा आएका छिमेकी देशका मन्त्रीसँग शिष्टाचार भेट गर्न सक्छ, यसमा प्रोटोकल मिचिएको भन्न मिल्दैन।’ उनका अनुसार भेटमा देउवाले डुबान र बाढीको समस्या उठाउँदै त्यसको तत्काल निराकरणका लागि भारतले चासो देखाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

‘पञ्चेश्वर परियोजना यतिका वर्षसम्म अघि बढ्न सकेको छैन, यसलाई भारतले तत्काल अघि बढाओस्,’ देउवालाई उद्धृत गर्दै भट्टराईले भने, ‘अर्को सवाल भनेको कनेक्टिभीटी हो, यसलाई बढाउन दुवै देश अघि बढ्न जरुरी छ।’
घरेलु मामिलामा विचार विमर्श दलैपिच्छे फरक हुने गरेपनि वैदेशिक मामिलामा भने एक हुनुपर्ने कुटनीतिक मान्यता जयशंकरसँग देउवाले गरेको प्रश्नले चरितार्थ गरेको भट्टराईको दाबी छ।

स्रोतका अनुसार जयशंकरले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि भेटका लागि आफू बसेको होटलमा बोलाएका थिए। होटलमै गएर भेट्नु कूटनीतिक मर्यादा विपरीत हुने भन्दै दाहाल र नेपालले उनलाई भेटेनन्। नेपाल आएको पहिलो दिन बुधबार जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै भेट गरेका थिए। बिहीबार फर्केका उनले जानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको भारतीय दुतावासले जनाएको छ।

प्रकाशित : भाद्र ५, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्

तिब्बतमै बिकेन यार्चा

पाटन क्षेत्रमा प्रतिकिलो ८ देखि १० लाख रुपैयाँमा खरिद गरिएको यार्चा तिब्बतमा ५ लाखदेखि ८ लाखमा मात्र बिक्री गर्नुपरेको व्यापारीको गुनासो
राजबहादुर शाही

मुगु — करिब डेढ महिना लेकाली पाटनमा बसेर संकलन गरिएको यार्चागम्बु बिक्री हुन सकेको छैन । मुख्य बजार मानिएको चीनको तिब्बतमा समेत भाउ नपाएपछि व्यापारी मर्कामा परेका छन् । संकलकबाट किनेको यार्चा बिक्रीका लागि केही व्यापारी तिब्बत पुगेका थिए ।

पाटन क्षेत्रमा प्रतिकिलो ८ देखि १० लाख रुपैयाँमा खरिद गरिएको यार्चा तिब्बतमा प्रतिकिलो ५ लाखदेखि ८ लाखमा मात्र बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ । झोलामा यार्चा बोकेर उत्साही हुँदै तिब्बत पुगेका व्यापारी घाटा भएपछि निराश हुँदै फर्किएका छन् ।
प्रतिकिलो १० लाखमा खरिद गरिएको यार्चा २ लाख घाटा सहेर ८ लाख रुपैयाँमा बिक्री गर्नुपरेको मुगमकार्मारोङ गाउँपालिका २ का वडाध्यक्ष कार्मा तामाङले बताए । प्रतिगोटा ५ सयदेखि ८ सय रुपैयाँमा किनिएको यार्चा तिब्बतमा प्रतिगोटा ३ सय रुपैयाँमा बिक्री भएको उनको भनाइ छ ।

विगत वर्षमा व्यापारीले पाटनमा खरिद गरिएको यार्चा तिब्बत पुर्‍याएर प्रतिकिलो १८ लाख रुपैयाँसम्ममा बिक्री गरेका थिए । ‘तिब्बतमा यार्चाको मूल्य घटेको छ, सुरुमा बजार मूल्य नै नबुझी यार्चा खरिद गरियो,’ उनले भने, ‘अहिले पछुताउँदै घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यता भयो ।’ उनले यार्चाको मूल्य बर्सेनि घटदा व्यवसाय नै चौपटमा परेको जनाए ।

केही स्थानीयले भने तिब्बतमै राम्रो मूल्य पाउने भन्दै व्यापारीलाई यार्चा बिक्री गरेका थिएनन् । आफूले खरिद गरेको मूल्य नपाएपछि अधिकांश स्थानीय र व्यापारीले यार्चा फिर्ता ल्याएका छन् । तिब्बतमा यार्चाले मूल्य पाउन मुस्किल हुन थालेपछि स्थानीयलाई जीवन निर्वाहमा समस्या हुन थालेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पाटनमा यार्चा खरिदबिक्रीमा प्रतिस्पर्धा हुने भए पनि तिब्बतमा बेच्न गाह्रो हुन थालेको छ,’ उनले भने, ‘भाउ नपाउँदा यार्चाको अस्तित्व नै संकटमा पर्न थालेको छ ।’

मुगमकार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा करिब ४ क्विन्टल यार्चा संकलन भएको उनको भनाइ छ । उनका अनुसार गत वर्षदेखि यार्चाको मूल्यमा गिरावट आएको हो । जिल्लाको पाटन क्षेत्रमा संकलन हुने यार्चा व्यापारीले अवैध रूपमा नाक्चेनाङला नाका हुँदै तिब्बत पुर्‍याएर बेच्ने गरेका हुन् ।

यार्चाको बिक्री पुर्जी नै नलिई व्यवसायीले तिब्बतमा बिक्री गर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । यार्चा अवैध रूपमा तिब्बत निकासी हुने गरेपछि सरकारी राजस्वमा गिरावट आएको छ । यस वर्ष प्रतिकिलो ३० हजार राजस्व तिरेर ६ जनाले मात्र यार्चाको बिक्री पुर्जी लिएको कार्यालयका सूचना अधिकारी वसन्त शाहीले बताए ।

प्रकाशित : भाद्र ५, २०७६ २०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्