प्रदेश २ को नाम र राजधानी : सत्तापक्ष एकमत, विपक्षी विभाजित

सत्तापक्षको प्रस्ताव : नाम मधेस, राजधानी बृहत जनकपुर
नेकपाको प्रस्ताव : नाम जानकी, राजधानी धनुषा
कांग्रेसको प्रस्ताव : नाम मिथिला–भोजपुरा, राजधानी जनकपुरधाम
समाजवादी र कांग्रेस बिद्रोहीको प्रस्ताव : राजधानी वीरगन्ज
सन्तोष सिंह

धनुषा — प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन दलहरूले बिहीबार प्रदेशसभामा आ-आफ्ना प्रस्ताव दर्ता गराएका छन् । राजधानीबारे केही दलमा समानता देखिए पनि नाममा भने सबैका छुट्टाछुट्टै प्रस्ताव छन् ।


प्रस्तावमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेसजस्ता नाम उल्लेख छन्। सत्तारूढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश राख्न सुझाएका छन्। उनीहरूले राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमाभित्र राख्ने प्रस्ताव गरेका छन्। समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादवले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रस्तावलाई राजपा सांसद सुरिताकुमारी साह र बबिताकुमारी चौधरीले समर्थन गरेका छन्। राजपाका सचेतक प्रमेश्वर साहले दर्ता गराएको राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमाभित्र राख्ने प्रस्तावमा समाजवादी पार्टीका सांसद सञ्चमाया मोक्तान र चमेलीदेवी दासले समर्थन जनाएका छन्।

प्रमुख प्रतिपक्ष नेकपाले भने प्रदेशको नाम जानकी र राजधानी धनुषा प्रस्ताव गरेको छ। सांसद रामकुमार यादवले दर्ता गराएको नामसम्बन्धी प्रस्तावमा ज्वाला कुमारी शाह, शारदा थापा र नागेन्द्र राय यादवले समर्थन जनाएका छन्। जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्लालाई राजधानी बनाउन नेकपा संसदीय दल नेता सत्यनरायण मण्डलले दर्ता गराएको प्रस्तावमा सांसदहरू सुन्दरबहादुर विश्वकर्मा, रवीन्द्र बैठा र बेची लुंगेलीको समर्थन छ।

प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुर उपमहानगरपालिकाभित्र राख्ने प्रस्ताव दर्ता गराएको छ। काग्रेस सांसद नरेश कुमार यादवले दर्ता गराएको मिथिला भोजपुरा प्रदेशलाई सांसदहरु सरस्वती चौधरी, मंजु कुमारी र उपेन्द्र प्रसाद कुशवाहाले समर्थन गरेका छन्। काग्रेस संसदीय दलका नेता रामसरोज यादवले राजधानी जनकपुर उप महानगरपालिका भित्र राख्नु पर्ने प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेस पर्साका सांसदहरुले प्रदेशको नाम मध्य मधेस र राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन्। कांग्रेस सांसद राजेश्वर प्रसाद साहले मध्य मधेसको प्रस्ताव दर्ता गराएका छन्। साहको प्रस्तावलाई कांग्रेसकै सांसदहरु ओम प्रकाश शर्मा, शंकर प्रशाद चौधरी र आशिया देवी थरुनीले समर्थन गरेका छन्। यस्तै, समाजवादी पार्टीका बारा–पर्साका केही सांसदहरुले प्रदेशको राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन्। वीरगन्ज राजधानीका लागि बारा र पर्साका सांसदहरुले बिहान बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा चर्को दबाब दिएको थियो।

प्रदेशसभा संसद सचिवालयले साउन २६ गते प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ताका लागि भदौ ५ गतेसम्मको समय तोकेको थियो। बिहीबार मात्र प्रदेश सभामा प्रदेशको नामका लागि ४ र राजधानीका लागि ५ प्रस्ताव दर्ता भएको प्रदेशसभा संसद सचिवालयका उप–सचिव अवधकिशोर प्रसाद कुशवाहाले बताए। प्रदेशसभामा कुनै दलसित दुई तिहाइ बहुमत छैन। प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ अनिवार्य छ।

प्रकाशित : भाद्र ५, २०७६ १९:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आईकाओका अध्यक्ष पुगे एभिएसन म्युजियम (तस्बिरहरु)

सुरज कुँवर

काठमाडौँ — संयुक्त राष्ट्र संघको विशिष्टकृत निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का अध्यक्ष अलिमुयिवा बेनार्ड अल्युले बिहीबार सिनामंगलमा रहेको एभिएशन म्युजिमम अवलोकन गरेका छन् । उनले उक्त म्युजियमलाई संसारकै उत्कृष्ट नमुना भने । यो म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा क्याप्टेन बेद उप्रतीले २० महिनाअघि सञ्चलानमा ल्याएका थिए । ‘यो म्युजिम देखेपछि म अच्चममा परेँ,’ पत्नीसहित पुगेका उनले यसलाई संसारकै उत्कृष्ट नमुना भने ।

म्युजियमका सञ्चालक सीईओ क्याप्टेन उप्रेतीका अनुसार, संसारभर भएका एभिएसन म्युजियममा एयरबसको वाइडबडी ३३० विमान नभएकाले पनि यो फरक भएको हो । उप्रेतीले ७ करोड लगानीमा स्थापना गरेको म्युजियमको उद्देश्य संसारभर उड्डयन क्षेत्रमा बढ्दो उड्यनकर्मी अभाव घटाउने हो । अवलोकनमा आईकाओका अध्यक्ष अल्युका साथ एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनमा नेपाल आएका ४३ मुलुकका ४ सय प्रतिनिधि, क्षेत्रीय हवाई महानिर्देशक लगायत उड्डयन विज्ञ थिए । उनीहरुलाई कलंकीस्थित एलआरआई स्कुलका विद्यार्थीले नेपालको भेषभुषामा स्वागत गरेका थिए ।

विश्वभर बढ्दो उड्डयन अर्थतन्त्र तर घट्दो क्रममा रहेको पाइलट, इन्जिनियर लगायतको जनशक्तिको सन्तुलन मिलाउन आईकाआले विश्वभर थालेको भावी पुस्ता नागरिक उड्यनकर्मी उत्पादन कार्यक्रम (एनग्याप) अर्न्तगत यो म्युजियम स्थापना भएको हो ।

यहाँ कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अवलोकनमा शुल्क लाग्दैन । हालसम्म यो म्युजियम २ लाख विद्यार्थीले निःशुल्क अवलोकन गरिसकेको उप्रेतीले बताए । म्युजियममा राखिएको वाइडबडी विमान टर्किस एयरलाइन्सको काठमाडौंमा दुर्घटनामा परेको विमान हो । करिब २३ अर्ब रुपैयाँको विमान उडानयोग्य नभएपछी टर्किसले बेद उप्रेती ट्रष्टलाई विक्री गरेको थियो ।

प्रकाशित : भाद्र ५, २०७६ १९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT