महिला आयोग २२ महिनादेखि पदाधिकारी विहीन 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारी विहीन भएपछि सरोकारवाला महिलाको चासो बढेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्चारिका समूह र महिला सूरक्षा दबाब समूहले चासो व्यक्त गरेका छन् । उनीहरुले नेपाली महिलाको हक, अधिकार तथा सशक्तिकरणको लागि काम गर्दै आएको संवैधानिक निकाय लामो समयसम्म पदाधिकारी विहीन भएपछि चासो व्यक्त गरिएको बताएका छन् । 

दबाब समूहले यसअघि नै प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीहरुमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरेको थियो ।

यसबारे कुनै ठोस प्रतिक्रिया प्राप्त नभएपछि पत्रकार सम्मेलन मार्फत् ध्यानाकर्षण गर्नुपरेको समूहकी सावित्री थापाले बताइन् । ‘प्रक्रिया हुदैछ भन्ने बाहेक खास जवाफ नपाइने भएकाले ध्यानाकर्षण गर्नुपरेको हो,’ उनले भनिन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘राज्यको निर्णायक तह र पिडित एवं सिमान्तकृत महिलाहरुबीचको समन्वय गर्ने निकाय ओझेल पर्दा नेपाली महिलाहरु न्यायको पहुँचमा पुग्न सकेका छैनन्,आयोगमा यथाशिघ्र योग्य पदाधिकारीहरु नियुक्त गरिनुपर्छ ।’

प्रकाशित : भाद्र ५, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — कतार एयरवेजको उडानबाट दोहा जान लागेको आईभेरिकोस्टका नागरिक मार्सेल गुही एक केजी ६ सय ग्राम कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो ।

निलो रंगको सटुकेशमा फल्स बटम बनाएर तल माथि प्लाईउड राखेर बीचमा उनले कागजको पातामा कोकिन बेरेर लैजान खोजेका थिए । ब्युरोले उनले कोकिन कहाँबाट किने र नेपालका उनी को–को सँग सर्म्पकमा थिए भन्नेबारे अनुसन्धान अगाडी बढाएको छ ।

मार्सेल नाईजेरियाको लागोस हुँदै कतारको दोहा भएर काठमाडौं आएको उनको पासपोर्टबाट खुलेको छ । प्रहरीले उनको विगतको यात्रा हेर्दा उनको सम्बन्ध लागू औषधको अन्तर्राष्ट्रिय कारोबारीसँग हुनसक्ने आशंका गरेको छ ।

ब्युरोले बुधबार नै बिर्तामोडबाट राम कडरिया क्षेत्रीलाई पनि ५२ ग्राम लागू औषध खैरो हेरोईन सहित पक्राउ गरेको छ । कडरियाले उक्त हेरोईन कहाँबाट किनेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्