प्रदेश २ को नाम र राजधानी प्रस्ताव आज पेश हुँदै, ४ वटै दलको आफ्नै अडान

नेकपाको प्रस्ताव : नाम मिथिला–भोजपुरा, राजधानी धनुषा
समाजवादीको प्रस्ताव : नाम मधेस, राजधानी जनकपुर
राजपाको प्रस्ताव : नाम मधेस, राजधानी जनकपुर वा वीरगन्ज
कांग्रेसको प्रस्ताव : नाम मिथिला–जानकी, राजधानी जनकपुर

जनकपुर — प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्न प्रदेशसभाले बाध्यकारी पारेपछि प्रदेश २ का दलहरुलाई पेचिलो बनेको यो मामिला सुल्झाउन आन्तरिक कसरत तेज पारेका छन् ।

प्रदेश २ को नाम र राजधानी प्रस्ताव आज पेश हुँदै, ४ वटै दलको आफ्नै अडान

प्रदेशको नाममा दलहरुबीच तीव्र धुव्रीकरण बढेपछि सर्वसम्मत जस्तै भनिएको राजधानी जनकपुर तोक्ने विषय पनि अलमलमा परेको छ । प्रदेशसभामा आज दलहरुले नाम र राजधानीको प्रस्ताव पेश गर्ने अन्तिम दिन हो ।

प्रमुख प्रतिपक्षी दल नेकपाले प्रदेशको नाम र राजधानीबारे संसदीय दलको बैठकमा छलफल टुंग्याएको छ । उसका अधिकांश सांसदले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने सुझाव दिएका छन् ।

सत्तासीन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)ले पनि प्रदेशको नाम र राजधानीबारे छलफल थालेको छ । समाजवादीको संसदीय दल बैठक यही विषयमा अहिले बसिरहेको छ ।


विपक्षी दल कांग्रेसले भने प्रदेशको नाम मिथिला वा जानकी र राजधानी जनकपुर हुनुपर्ने आफ्नो बटमलाइन रहेको जनाएको छ । कांग्रेसले संसदीय दलमा नाम र राजधानीबारे छलफल टुंग्याए पनि निष्कर्षसहित बिहीबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउने मुख्य सचेतक उपेन्द्र कुशवाहाले बताए ।


‘प्रदेशको नामबारे कांग्रेसमा मिश्रित धारणा छ । राजधानी जनकपुर हुनेमा सबै क्लियर छन्,’ कांग्रेसका सचेतक कुशवाहाले कान्तिपुरसँग भने, ‘प्रदेशको नाममा मिथिला, भोजपुरा, जानकी, मध्य मधेससम्मको सुझाव आएको छ ।’


संविधानमा दुई तिहाइले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ । तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ छैन । प्रदेशको नाम र राजधानी टुंग्याउन सत्तापक्ष र विपक्षी दल मिल्नुको विकल्प देखिदैन । तर, नाम र राजधानीमा दलैपिच्छे फरक मत हुँदा यो मामिला झन् पेचिलो बनेको छ ।


सत्तासीन दल समाजवादी भने प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरमा अडिग छ । समाजवादी पार्टीका संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदीय दलको बैठकमा विचार–विमर्श हुने बताए ।

‘हाम्रो पहिल्यैदेखिको अडान प्रदेशको नाम मधेस र राजधानी जनकपुर हुनुपर्ने हो,’ उपनेता यादवले कान्तिपुरसँग भने,‘संसदीय दलको बैठकले यस मामिलामा थप प्रष्ट गर्नेछ ।’ समाजवादी पार्टीले राजधानी जनकपुरमा आफ्नो अडान रहेको दाबी गरे पनि पार्टीभित्र अन्य ठाउँबारे पनि बहस सुरु भएको छ ।


समाजवादी र राजपाले प्रदेशको नाम मधेसमा विपक्षी दल सहमत भए राजधानी विपक्षी दलले रोजेको ठाउँलाई नै तोक्ने मुडमा देखिन्छन् । ‘प्रदेशको नामलाई पेचिलो बनाउँदा राजधानी कहाँ राख्ने मुद्दा पनि जोडिएर आएको छ,’ समाजवादी पार्टीका एक सांसदले भने, ‘हामी नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा छौं ।’


सत्तासीन अर्काे दल राजपा भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा विपक्षी दलको पनि सहयोग लिन प्रयासरत छ । बुधबार साँझ अबेरसम्म बसेको राजपा संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी के–कहाँ राख्ने मुद्दा भन्दा यो मामिलामा आफ्नो अजेन्डामा विपक्षी दललाई कसरी सहमत गराउने रणनीतिमै छलफल केन्द्रीत रह्यो ।


राजपाका सह–महामन्त्री एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा आफ्नो दल अडिग रहेको बताए ।


राजपाका सप्तरी, सिरहा, धनुषा र महोत्तरीका सांसदले राजधानी जनकपुर र बारा, पर्सा र रौतहटका सांसदले राजधानी वीरगञ्ज हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित : भाद्र ५, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?