पहिरोले घर पुरिँदा वृद्धको मृत्यु (अपडेट)

दिप्ती सिलवाल

पर्वत — बिहीबार बिहान कुश्मा–२ खुर्कोटस्थित बुढीस्वाँरमा पहिरोले घर पुरिँदा ७० वर्षीय वृद्धको ज्यान गएको छ । २ तले घर पहिरोले पुरिँदा भित्र सुतिरहेका घरमुली रेमबहादुर चालिसेको ज्यान गएको हो । 

पहिरोले घर पुरिँदा वृद्धको मृत्यु (अपडेट)

बस्तीदेखि टाढाको घरमा एक्लै सुतिरहेका चालिसेको शव सिरक भित्रबाट बिहीबार बिहान ११ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निकालेको हो । पहिरो पन्छाउने क्रममा करिब ३ घण्टाको प्रयासपछि ओढेर सुतेकै अवस्थामा शव फेला परेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


‘मोबाइलमा फोन गइरहेको थियो । सुरुमा घरमुली घरबाहिर वा अन्त कतै गएको आशंका गरियो,’ अर्यालले भने, ‘सम्पर्कमा नआएपछि पुरिएको आशंकामा पहिरो पन्छाउँदा शव नै भेटियो ।’


मृतकको शव बिहीबारै पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ । एक्लो घर भएकोले पहिरो कतिबेला गएको भन्ने नखुलेको अर्यालले बताए ।


बिहान करिब ६ बजेतिर छिमेकीले पहिरोमा घर पुरिएको बारे प्रहरीलाई खबर गरेका थिए । सदरमुकामबाट प्रहरी प्रमुख अर्यालसहित सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।


चालिसेका दुई भाई छोरामध्ये एक पोखरा र एक बैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । श्रीमती बुधबारै छोरी भेट्न गएकी थिइन् । घटनामा अरु क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरीका सूचना अधिकारी राजन रायमाझीले बताए ।

प्रकाशित : भाद्र ५, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?