१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुदूरमा रमाएका मुस्लिम

‘गाउँमै मस्जिद छ, जहाँ नमाज पढिन्छ, यसले आफ्नो धर्ममा आबद्ध भएकाहरूलाई अनुशासनमा बस्न सिकाएर गाउँ नै शान्त’
मेनुका ढुंगाना

बयालपाटा, अछाम — बयालपाटा बजारको पूर्वतिर मध्यपहाडी लोकमार्गको बीचैको एउटा मुस्लिम बस्ती । जहिल्यै शान्त । जिल्लाभर मदिरा सेवनले घरेलु हिंसा, सम्बन्धविच्छेद, समाजमा कलह, अशान्ति मच्चाउने घटना दिनहुँ बाहिर आउँदा पनि यो समुदाय आफ्नै लयमा । यहाँ यस्ता कुनै घटना सुनिँदैनन् । 

सुदूरमा रमाएका मुस्लिम

यो बस्तीमा मदिरा प्रतिबन्ध जस्तै छ । कुनै निकायले बल गरी मदिरा निषेध भने गरेका होइन । गाउँका कसैले पनि मदिरा सेवन गर्दैनन् । धर्मैले मदिरा निषेध गरेको भन्दै कसैले कसैलाई सम्झाइरहन पर्दैन ।

सामाजिक सद्भाव कायम गर्दै सबैसँग हातेमालो र सहकार्य गर्दै बसेकाले उनीहरू खुसी देखिन्छन् । हिन्दु धर्मावलम्बी बाहुल्यता भएको अछाममा बसोबास रहेको बयालपाटाको मुस्लिम समुदायको इतिहास लामो छ । फरक धर्म भए पनि रहनसहन र वेशभूषामा कुनै भिन्नता छँदै छैन ।

हजार वर्षअघि भारतको लखनउबाट यहाँ आएर बसेको उनीहरू बताउँछन् । समुदायका अगुवा केशर मियाँका अनुसार चुरा बनाउने मुख्य पेसा अपनाउने भएकाले टोलको नामै चुडेल्नी गाउँ राखिएको थियो । यो पेसा व्यवसाय गर्ने क्रम छुटेपछि अहिले गाउँको नामै परिवर्तन गरिएको छ ।

साँफेबगर नगरपालिका ८ मा पर्ने चुडेल्नी गाउँलाई नगरले मियाँपुर नाम राखेको छ । हाल गाउँको नाम मात्रै बदलिएको छैन, आफ्नो धर्म संरक्षणका लागि मियाँपुरका सबैमा एकताको भावनासमेत जागृत भएको छ । अल्पसंख्यक समुदायका रूपमा चिनिने यस गाउँमा २५ परिवार र २१० जनसंख्या रहेको केशर मियाँले बताए ।

गाउँमा रहेको मस्जिदमा नमाज पढ्दै धर्म गुरुहरू । तस्बिर : मेनुका/कान्तिपुर

मियाँलाई अरूले गरिब पिछडिएका भनेर सम्बोधन गर्दा दु:ख लाग्छ । ‘बहुसंख्यक समुदायको जस्तै भीरपाखामा जग्गा छ । बगरमा खेत छन् । अरुभन्दा अचल सम्पत्तिमा धनी छौं,’ उनी भन्छन्, ‘हामी शिक्षामा कमजोर छौं । समयमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने नबुझदा हामीलाई हेर्ने दृष्टिकोण फरक भएको होला । तर हामी मनका गरिब छैनौं ।’

उनका अनुसार अहिले गाउँमै मस्जिद छ । जहाँ नमाज पढिन्छ ।

यसले आफ्नो धर्ममा आबद्ध भएकाहरूलाई अनुशासनमा बस्न सिकाएर गाउँ नै शान्त भएको उनी बताउँछन् । शिक्षाको क्षेत्रमा पछि परेको ठहर गर्दै यहाँका अगुवाहरूको नेतृत्वमा मदरसा दारुल कुरआना प्राथामिक विद्यालय ०६६ मा स्थापना गरे । कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा धार्मिक शिक्षा र विद्यालयको शिक्षा दिने गरिएको शिक्षक शम्भु मियाँले बताए । ‘गाउँमा शिक्षाको अवस्था धेरै कमजोर भयो ।

हजार वर्षअघि आएर बस्यौं । हाम्रो पहिचान के हो त भन्ने लाग्यो । संघर्ष गर्‍यौं र गाउँमै मदरसा खोल्यौंं,’ उनले भने, ‘हाल विद्यालयमा एक शिक्षकको दरबन्दी छ । २३ विद्यार्थी छन् । धार्मिक विषय पढाउने शिक्षकले उर्दु भाषाबाट पढाउँछन् । अरुले अन्य विद्यालयको जस्तै पाठ्यक्रम पढाउँछन् ।’

उनका अनुसार गाउँमा पढलेखेका र जागिर गर्नेको संख्या कम छ । गाउँमा स्नातक गरेका एक र अन्य शिक्षा पाएका ५/७ जना मात्रै छन् । अहिलेसम्म सरकारी जागिरमा कोही छैनन् । अरू समुदाय जस्तै मियाँपुरका प्रत्येक परिवारबाट रोजगारीको लागि भारत गएका छन् । ६ जना कामका लागि खाडीतिर भासिएका छन् ।

इस्लाम धर्मका गुरु सुरत मियाँका अनुसार मुस्लिम र हिन्दुको नाम फरक हुन्छन् । तर यहाँ भने फरक छैन । ‘पहिले जन्मेका पुरुषको नाम शम्भु, सुरत, केशर र महिलाको माया, धौली, ममता जस्ता नाम राखियो । यो हिन्दु धर्मको प्रभाव हो,’ धर्मगुरु मियाँले भने, ‘अहिले मुस्लिमबारे बुझ्दै छौं । अहिले छोराहरूको नाम सोहिल, अब्जल, नसिब, इसाद जस्ता छन् भने छोरीहरूका नाम रुप्सार, अप्सा, सजिना, सैनाज जस्ता ।’ यी नाम मुस्लिमहरूले राख्ने उनले सुनाए । मुस्लिमले जस्तै यहाँ घुम्टो ओढ्ने चलन पनि छैन । भुगोल, ठाउँ परिवेशले पनि प्रत्येक जातजाति, धर्म संस्कारलाई प्रभाव पार्छ ।

मुस्लिम समुदायबाट राजनीति गर्ने, पढाइमा अघि बढ्न चाहनेलाई सहयोग गर्ने र हरेक दु:खसुखमा साथ दिने हिन्दु धर्मावलम्वीको यो समुदायका मान्छे खुलेरै प्रशंसा गर्छन् । ‘धर्म, चाडपर्व रितिरिवाज फरक भए पनि हाम्रो लवाइखुवाई, बोली, भाषा, रहनसहन एकै छ,’ शिक्षक ममता मियाँले भनिन्, ‘आलोपालो काम गर्छौं । मिलेर बसेका छौं । धर्म फरक भए पनि हामीमा कहिल्यै दरार आएन ।’

प्रदेश र संघको निर्वाचन हुँदा वडा सदस्यसम्म पनि एक जनप्रतिनिधि नहुनुले राज्यले यो समुदायलाई नहेरेको उनीहरूको गुनासो छ । मुस्लिम समुदायको अछाम, बाजुरा, डोटी र कैलालीमा बसोबास रहे पनि कुनै पनि क्षेत्रबाट आफ्नो प्रतिनिधित्व नभएको उनीहरूको गुनासो छ ।

प्रकाशित : भाद्र ५, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?