स्थानीय सरकार कर्मचारीविहीन

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकाका नायब सुुब्बा ज्ञानबहादुर खड्काले प्रशासन, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा वडा ३ को पञ्जिकाधिकारीको काम गरिरहेका छन् ।

स्थानीय सरकार कर्मचारीविहीन

त्रिवेणी गाउँपालिकाका खरिदार अमर पुनले पनि सामाजिक सुरक्षा शाखाका साथै वडा ३ र ६ को पञ्जिकाधिकारीको काम गर्नुपरिरहेको छ ।


आठबिसकोट नगरपालिकामा स्थानीय तहअन्तर्गत समायोजन भएर १ जना मात्रै कर्मचारी आए । सहलेखापालमा समायोजन भएर आएका कर्मचारीबाहेक अन्यले आठबिसकोट रोजेनन् । १४ वडामध्ये ४, ११ र १४ नम्वर वडामा विकासे स्थायी कर्मचारी छन् । बाँकी सबै वडा कार्यालय करारका कर्मचारीको भरमा चलिरहेका छन् ।


७ जना कर्मचारी समायोजन रोजेर अन्यत्रै जाँदा सानीभेरी गाउँपालिकामा ५ जना समायोजन भएर आए तर त्यसमा १ जना पनि प्रशासनतर्फका छैनन् । अरू केही कर्मचारी पनि पदस्थापनको चिठी पर्खेर बसिरहेका छन् । झन्डै ७० जना कर्मचारीको दरबन्दी रहेको चौरजहारीमा आधा पनि कर्मचारी छैनन् । नगरपालिका अधिकांश करारकै कर्मचारीको भरमा चलिरहेको छ । चौरजहारीमा पनि समायोजन भएर आउनेभन्दा जाने धेरै भए ।


जिल्लाका ६ स्थानीय तहमध्ये मुसीकोट नगरपालिकाबाहेक अन्य स्थानीय तहले सुरुदेखि नै कर्मचारी अभाव झेल्दै आएका छन् । सुरुमा मुसीकोटले पनि यो समस्या नझेलेको होइन तर समायोजनबाट धेरै कर्मचारी मुसीकोट नगरपालिकामा आइसकेका छन् ।


त्यसैले मुसीकोटलाई कर्मचारीको अभाव महसुस छैन । दरबन्दीअनुसारका कर्मचारी नहुँदा कस्तो समस्या र चाप पर्दो रहेछ भन्ने यसबाट प्रस्ट हुन्छ । सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा स्थानीय सरकारले करारका कर्मचारी त भर्ना गरेका छन् तर उनीहरूबाट अधिकांश कामकाज हुँदैनन् ।


कर्मचारी नहुँदा कामकाजमा असर परेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘काम त चलाएका छौं,’ केसीले भने, ‘तर पनि सबै कर्मचारी भए जसरी चल्नु र कर्मचारी अभावमा चल्नुमा त फरक पर्दो रहेछ ।’ उनले यो पुस/माघ महिनासम्म लोक सेवाबाट २७ जना कर्मचारी आउने बताए । ५४ कर्मचारी मागिएको उनको भनाइ छ । चौरजहारी नगरपालिकाका ४ बाहेक १० वडाको काम करारका कर्मचारीले गर्छन् ।


८, १०, १२ र १४ बाहेकका वडामा करारकै कर्मचारीले काम चलाइरहेका छन् । पञ्जिकाधिकारीको कामसमेत करारका कर्मचारीलाई गराउने गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर कुँवरले बताए । अनुभवी तथा स्थायी कर्मचारीले गर्ने काम र करारका कर्मचारीले गर्ने काममा धेरै फरक पर्ने उनले जनाए ।


सानीभेरी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रीमा मल्लले चालु आर्थिक वर्षमा कर्मचारीको ठूलो अभाव हुने बताइन् । उनका अनुसार भएका कर्मचारी समायोजन भएर गए । सानीभेरी गाउँपालिकाको लागि लोक सेवाले विज्ञापन पनि गरिदिएको छैन ।


‘समायोजन भएर धेरै गए, आउने आएनन्,’ उनले भनिन्, ‘लोक सेवाले पनि विज्ञापन नगरेपछि समस्या हुने देखियो ।’ बाँफिकोट गाउँपालिकामा समायोजन रोजेर प्रशासनतर्फ कोही आएन । १० वडा रहेका गाउँपालिकामा ४ जना मात्रै वडासचिव छन् । ३,४, ५ र ८ वडामा सचिव छन् भने अन्यको काम सहायकले चलाइरहेका छन् ।


पञ्जिकाधिकारीका रूपमा स्वास्थ्य तथा कृषितिरका स्थायीलाई तोकिएको छ । ६ र ९ वडाको पञ्जिकाधिकारीको काम प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङ आफैं गर्छन् । त्रिवेणी गाउँपालिका कार्यालयमा आधा कर्मचारी छैनन् । महिला विकासअन्तर्गतका ६ जनाले त्रिवेणीमा समायोजन रोजेका छन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?