कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मेलम्चीको जिम्मा ‘सिनो हाइड्रो’ लाई 

दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा चिनियाँ कम्पनी ‘सिनो हाइड्रो’ लाई दिएको छ ।

मेलम्चीको जिम्मा ‘सिनो हाइड्रो’ लाई 

ठप्प रहेको काम तत्काल सुचारु गर्न डेढ महिनाअघि मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाकबाट टेन्डर आहवान गरेको थियो । हिमाल हाइड्रो र सिनो हाइड्रो कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।


टेन्डरमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बनाइरहेको सिनो हाइड्रो छनोट भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अब सिनोसँग चाँडै सम्झौता हुन्छ,’ उनले भने, ‘१५ दिनभित्र सम्झौता हुन्छ होला ।’ कानुनअनुसार २८ दिनभित्र सम्झौता गर्न सकिने प्रावधान भए पनि मन्त्रिपरिषद्ले विशेष परिस्थितिमा भन्दै निर्णय गरेकाले त्यति समय पर्खनु नपर्ने उनले बताए ।


कम्पनीलाई चिनियाँ बैंकले ग्यारेन्टी दिएपछि नेपाली बैंकले ‘काउन्टर ग्यारेन्टी’ दिने जनाउँदै उनले सिनोलाई त्यो प्रक्रिया अघि बढाउन मन्त्रालयले सहमति दिइसकेको बताए । सुरुङको बाँकी काम र अम्बाथानमा हेडवक्र्स निर्माण सिनो हाइड्रोले गर्ने छ ।


१२ महिनाभित्र सुरुङ र १५ महिनाभित्र हेडवर्क्स निर्माण गरिसक्ने समयसीमा दिइएको छ । ‘१० महिनाभित्र पानी सुरुङभित्र डाइभर्सन गर्छ, दुई महिनाभित्र भल्भ गेट निर्माणलगायत काम सम्पन्न गर्छ,’ शाक्यले भने, ‘९७ प्रतिशत काम भइसकेको छ, कुनै बाधाअवरोध नआए समयसीमाभन्दा अघि नै काम सम्पन्न हुन्छ ।’


भेन्टिलेटर निर्माण पनि तीव्रतासाथ अघि बढिरहेको उनले बताए । ‘तीनवटा भेन्टिलेटर हो, त्यसमध्ये एउटा सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अरू निर्माणकार्य पनि केही दिनमै सम्पन्न हुन्छ ।’ आयोजनाले काम सम्पन्न गर्न मुख्य दुइटा प्याकेजमा विभाजन गरेको छ ।


त्यसभित्र अन्य १० वटा स–साना प्याकेज छुट्टयाइएको छ । पहिलो प्याकेजभित्र हेड वक्र्सअन्तर्गतको डयाम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माणकार्य छन् ।


गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि आयोजना ठप्प छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य अन्योलमा धकेलिन पुगेको छ ।


मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तीनमध्ये २ वटा भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्टयुमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र र पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण बाँकी छ । मेलम्चीको काम सुचारु भएपछि याङग्री र लार्केको पानी ल्याउने काम पनि अघि बढ्ने मन्त्रालयले जनाएको छ ।


एसियाली विकास बैंकले मेलम्ची अघि नबढेसम्म याङग्री र लार्केमा सहयोग नगर्ने मन्त्रालयलाई जनाएको थियो । परामर्शदाता कम्पनी इप्टिसाले याङग्री र लार्केको आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) आयोजनालाई बुझाइसकेको छ ।


सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने आयोजनाको लक्ष्य छ । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माण सुरु भइसकेको छ । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ ।


मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेड वक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा ल्याइने छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?