कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ हराए बागेश्वरीका गरगहना ?

ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समय चढाएका बहुमूल्य गरगहनाहरू हराएका छन् । लाखौं मूल्यका गरगहना कहाँ कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ ।

कहाँ हराए बागेश्वरीका गरगहना ?

बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएको जनविश्वास छ । त्यसले भेटीमा सुनका नथिया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायत मूर्ति चढाउने चलन छ ।

०२९ मंसिर ४ मा मन्दिरका तर्फबाट भुवनेश्वर नामका व्यक्तिले लिखत अभिलेख तयार गरी तत्कालीन मालपोत कार्यालय प्रमुखलाई बुझाएको गरगहना र हाल तिजोरीमा भेटिएका गहनाबीच अन्तर पाइएपछि गहना हराएको खुलेको हो ।

अदालतको आदेशपछि ०७४ फागुन ३० मा गुठीको जीर्ण तिजोरी खोल्दा दुई तोला सुन (तिलहरी, लाल) मात्रै भेटिएको थियो । २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देवीदेउताका लागि ओढ्ने छाता, बाघ, लक्ष्मीका ससाना मूर्ति भेटिएका छन् । त्यसअघि ०२९ को अभिलेखमा भने ठूलो परिमाणको बहुमूल्य

गरगहना अभिलेखीकरण गरी बुझाइएको थियो ।

मन्दिरमा अभिलेखीकरण नगरी भेटीका रूपमा गहना चढाइने चलन अझै छ । विशेष पूजाका लागि मूल मन्दिरको चारैतिरको ढोका बन्द गरिन्छ । नेपालगन्जका हेमन्त कर्माचार्यले बागेश्वरी मन्दिरमा भक्तजनले चढाउने भेटीको हिसाब पारदर्शी हुनुपर्ने बताए । ‘भक्तजनले चढाउने भेटीको हिसाब प्रस्ट हुनुपर्छ र त्यसको पनि खोजी हुन जरुरी छ,’ एउटा छलफलमा उनले भने, ‘भेटीमा महन्तहरूको रजाइँ छ ।’

०२९ मंसिर ४ को अभिलेखअनुसार सिंहको मूर्ति बनेको डब्बाजस्तो चाँदी ८३ तोला, दुई खम्बा बनाइएको चाँदी १ सय २० तोला, भैरवगरुड जस्तो बनेको चाँदी १ सय ६५ तोला, करुवा चाँदी ४७ तोला, बत्ती बाल्ने पानस चाँदी ४८ तोला थियो । त्यस्तै, बत्ती बाल्ने आरती चाँदी १३ तोला, बाघको मूर्ति बनेको चाँदी ३३ तोला, खम्बाको टुक्रा चाँदी २८ तोला, भगवतीको मूर्तिलगायत केही थान देखाइएको छ ।

०२९ सालताकाका गहना हराएको र हाल देखिएका गहना त्यसपछि भक्तजनले चढाएको भएको स्थानीयको दाबी छ । बागेश्वरी मन्दिर गुठी समितिका सचिव गोपालप्रसाद अधिकारीले मन्दिरका बहुमूल्य गरगहनामा धेरै फरक परेको स्विकारे । ‘पहिले र अहिलेको अभिलेख भिडाउने हो भने बहुमूल्य वस्तुमा फरक परेको देखिन्छ,’ उनले भने, ‘धेरै कुरा खोज्नुपर्ने छ । खोजिरहेका छौं ।’

बागेश्वरी मन्दिरको सम्पत्ति व्यवस्थापनका लागि अदालतमा रिट दर्ता गर्नेमध्येका अधिवक्ता लोकबहादुर शाहले ०२३ सालमा राखिएको अभिलेखभन्दा कम गहना भेटिएको जनाएका छन् । उनले हाल र ०२९ सालको अभिलेखमा उल्लेख भएअनुसारको गहनाको विवरण अध्यनन भइरहेको बताए ।

‘पाँच दशकअघिको अभिलेखमा यसभन्दा बढी गहना उल्लेख भएको देखिन्छ । त्यसैले खोजी गर्न आवश्यक छ,’ उनले भने, ‘उच्च अदालतले आदेश पनि दिएको छ । त्यसको कार्यान्वयन हुन आवश्यक छ ।’ उच्च अदालत नेपालगन्ज इजलासले मन्दिरका नाममा रहेको चलअचल सम्पत्ति पारदर्शी र व्यवस्थित गर्न आदेश दिइसकेको छ ।

बागेश्वरी मन्दिरमा भक्तजनले सुन र चाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेखसमेत छैन । चैते दसैं, शिवरात्रिलगायतमा हजाराैं भक्तजन आउँछन् ।

प्रकाशित : भाद्र ५, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?