१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बनिनसक्दै लोकमार्ग अतिक्रमण

प्रकाश बराल

बागलुङ — जिल्लामा मध्यपहाडी लोकमार्गमा सूचीकृत सडक बनिनसक्दै अतिक्रमणमा पर्न थालेको छ । स्थानीयले मध्यभागबाट २५ मिटरभित्रै आएर संरचना बनाइरहेका छन् । 

बडीगाड गाउँपालिका–५ ग्वालीचौरमा जग्गा प्लटिङ गर्ने निहुँमा डोजर लगाइँदा सडक भासिएको छ । प्लटिङ गर्नेहरूले कालोपत्रेसमेत कोट्याएको लोकमार्ग आयोजनाका इन्जिनियर किरण श्रेष्ठले बताए । ‘सडकमै डोजर लगाइदिएर पहिरो खसिसक्यो, सडकको सुरक्षा कसले गर्ने ?’ उनले भने, ‘प्रशासनमा जानकारी गराएका छौं, हस्तान्तरण नभएको सडकमा अतिक्रमण बढ्यो ।’


काठेखोला गाउँपालिकाको बिहुँमा भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत बनेका घरले पनि सडक मिचेका छन् । सडकको मध्यभागबाट ५ मिटर दूरीमै बनाइएका ती घरलाई स्थानीय तहबाट अनुगमनसमेत नगरी अनुदान रकम भुक्तानी दिइएको छ ।


स्थानीय कृष्ण भट्टराई, इन्द्र थापालगायतले प्लटिङ गरेर राजमार्ग भत्काएको बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । ‘राजमार्गछेवैमा आएर यस्तो नगरौं भनेको मानेनन्,’ पाइजाले भने, ‘राजमार्ग नै भत्केकाले हामीले जवाफ दिनुपरेको छ ।’ पाइजाका अनुसार उनीहरूले जग्गाको मुआब्जा नपाएको भन्दै प्लटिङ गरेका हुन् । आयोजनाले जग्गाबाहेक निर्माण भइसकेका संरचनाको भने मुआब्जा दिएको छ । वास्तविक जग्गाधनीले भन्दा खरिद गरेर प्लटिङ गर्नेले सडक मिचेको पाइजाले आरोप लगाए ।


केहीले मापदण्डबारे जानकारी नहुँदा पनि सडकक्षेत्रमा घरटहरा बनाएको भेटिएको छ । ‘सडक निर्माणाधीन क्षेत्रमा सूचना टाँस गरेको भए धेरैलाई थाहा हुन्थ्यो, जानकारीबिना घर बनाइयो,’ काठेखोला–६ का इन्द्रलाल विकले भने, ‘अन्यत्र जग्गा छैन, भएको जग्गामा बनाएको छु ।’


उनको सहित यहाँका आधा दर्जन घर मापदण्ड मिच्नेमा पर्छन् । केहीले आवास र केहीले व्यापारिक प्रयोजनले बनाएका छन् । अनुगमन र मूल्यांकन गर्ने प्राविधिकले पनि उक्त जग्गा मापदण्डमा पर्छ भन्ने सूचना नदिएको विकले बताए । मध्यपहाडी लोकमार्गमा सूचीकृत हुनुअघि ग्रामीण सडक खन्दा नै उनी विस्थापितमा परेका थिए ।


अक्षेते बजारमा पनि केही घर निर्माणाधीन छन् । मापदण्डमा पर्ने सूचना पाएपछि केहीले काम रोकेका छन् । उनीहरू अतिक्रमण नभई अस्थायी रूपमा व्यवसाय गर्न लागेको बताउँछन् । बागलुङदेखि अक्षेतेसम्मका १५ घर भने मुआब्जा नपाएर सरेका छैनन् ।


मध्यपहाडी लोकमार्गले मुआब्जा नदिएकाले घर हटाउन नसकेको ठेकेदार पक्षका इन्जिनियर पुष्प शाहीले बताए । ‘आयोजनाले मुआब्जा नदिएको ठाउँमा हामीले घर भत्काएर चक्लाउन पाएका छैनौं,’ उनले भने, ‘ठेक्का लिएर पनि आयोजनाकै काम बाँकी हुँदा पूरा गर्न पाएनौं ।’


जथाभावी घर बनाउँदा सडक साँघुरो बनेको छ । गलकोटको हटिया बजारमा अधिकांश घर सडकनजिकै बनिरहेका छन् । मल्मको बाँसखोला, बडिगाडको खरवाङ र भीमगिठे बजार भने दोहोरो सवारीसमेत चल्न नमिल्ने गरी कच्ची छाप्रा बनाइएका छन् । व्यापार गर्नेले सडक नै छेकेर सामान राखेका छन् ।


प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मापदण्ड मिचेर घर बनाउन कसैलाई छुट नभएको बताए । ‘लोकमार्ग सूचीकृत भएपछि बनेका संरचना कुनै पनि बेला भत्काउनुपर्छ, त्यति बेला क्षतिपूर्ति पाइँदैन,’ उनले भने, ‘स्थानीय तह र आयोजनाले यो सूचना प्रवाह गर्नैपर्छ ।’


लोकमार्ग खुल्यो

साउन १९ मा तुरतुरे ताल फुटेपछि भासिएको मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बुधबारदेखि एकतर्फी खुलेको छ । १५ दिनसम्मको प्रयासबाट एकतर्फी सडक खुलेको क्षत्रीले बताए । आयोजना र स्थानीय तहले संयुक्त रूपमा दुवै तर्फबाट डोजर लगाएर सडक खुलाएका हुन् ।


बागलुङ बजारदेखि पर्वतको पाङ जोड्ने गरी बन्न लागेको झोलुंगे पुलका कारण मालढुंगा–बेनी सडक भने दैनिक केही समयलाई बन्द हुने भएको छ ।


प्रजिअ क्षत्रीको अध्यक्षतामा यातायात व्यवसायी समेतको बैठकले काम नसकिएसम्म दैनिक बिहान १० देखि साढे ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । नेपालकै अग्लो र लामो पुलको संरचना निर्माण गर्दा ढुंगामाटो खसेर दुर्घटना हुने भन्दै सडक रोकिएको हो ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?