प्रधानमन्त्री आज सिंगापुर जाँदै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर जाँदैछन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको नेताहरूलाई ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री आज सिंगापुर जाँदै

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए । त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभावबारे फलोअप गर्न जान लागेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए ।

बिहीबार दिउँसो साढे १ बजे ओली सिंगापुर प्रस्थान गर्नेछन् । एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन । उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन् । संविधान दिवस आउन १ महिना बाँकी छ ।

‘अर्को चुनाव सामना गर्न तयार रहनुहोस्’

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै चुनाव लड्न तयार रहन विपक्षीलाई चुनौती दिएका छन् । गृह मन्त्रालयमा बुधबार संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा उनले विरोधीहरू आफूसँग चुनाव लड्न तयार नदेखिएको बताए ।

‘म भोलि सिंगापुर जाँदै छु, केही दिनका लागि । अचम्म लाग्छ, विरोधीहरू कति कमजोर भएछन्, ऊ बाँचोस् तैपनि मुकाबिला गर्छौं भन्नु छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्, त्यस्तासँग मलाई केही भन्नु छैन,’ उनले भने, ‘त्यस्तो चाहनेहरूलाई म आउँदो चुनाव पनि सामना गर्न तयार रहन भन्न चाहन्छु ।’

मरिगए हुन्थ्यो भन्नेलाई आउँदो चुनाव ‘टफ’ हुने भन्दै उनले अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गर्न चुनौती दिए । ‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्षअगाडि बिरामी थिएँ, अब १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष अखडामै हुन्छु,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?