२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राज्यप्रति आक्रोश पोख्दा...

फेसबुकमा आपत्तिजनक भिडियो पोस्ट गरेपछि पक्राउ परेका युवा भन्छन्, ‘आगामी पुस्ताले पनि हामीले जस्तै नियति भोग्नु नपरोस् भन्ने सोच्दासोच्दै नेताप्रति औधी रिस उठेर भिडियो बनाएँ । खुकुरी देखाउनचाहिा हुन्थेन कि !’ 
जनकराज सापकोटा

काठमाडौँ — सबैथोक ठीकसँग चलेको भए बारा जितपुरका २६ वर्षीय सागर मैनाली यतिबेला वैदेशिक रोजगारीका निम्ति मलेसिया जान सुटकेस किनिरहेका हुनेथिए वा विदेश जाँदा के के लैजाने भन्ने सूची बनाइरहेका हुनेथिए ।

राज्यप्रति आक्रोश पोख्दा...

आइतबार साँझ उनको समयतालिका खलबलियो जब दुई नौला मान्छे घरमा झुल्किए । ती मान्छे सादा पोसाकमा खटिएका नेपाल प्रहरीका अनुसन्धान अधिकारी थिए ।

प्रहरी लिन आएपछि उनी टिसर्ट पहिरेर खुरुखुरु घर नजिकैको इलाका प्रहरी कार्यालय जितपुरमा गए । भोलिपल्ट अर्थात् सोमबार उनलाई जहाजमार्फत काठमाडौं ल्याइयो र साइबर अपराध गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइयो । बुधबार प्रहरी परिसर काठमाडौंमा भेटिएका सागरले आफूलाई मुद्दा लाग्नुको पृष्ठभूमि मात्रै सुनाएनन्, आम नागरिकको छटपटीलाई प्रतिनिधित्व गर्ने केही तथ्य पनि अघि सारे ।

पाँच वर्षअघि वैदेशिक रोजगारीको तीन वर्षे यात्रा टुंग्याएर मलेसियाबाट फर्केका सागर दुई वर्षयता घरतिरै थिए । उनी दिनगन्तीका हिसाबले गाउँतिरै पाएअनुसारको काम गर्थे । कहिले भेटिने, कहिले नभेटिने कामले उनको गर्जो चलिरहेको थिएन । उनले आफ्नो परिचय दिने बेला सुरुमै भनेका थिए, ‘भाग्य खोटो रैछ । गरिबको घरमा जन्मेँ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओली, सरकार सञ्चालन गरिरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई अश्लील गाली गरेको आरोपमा सागर पक्राउ परेका हुन् । सागरले आइतबार घरमै मोबाइलले एउटा भिडियो खिचेका थिए, जसमा उनले हातमा खुकुरी उठाउँदै नेताहरूलाई तिखो प्रश्न गरेका छन् र हालै मात्र आत्महत्या दुरुत्साहनको घटनामा अनुसन्धानका निम्ति पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थन गर्दै सोधेका छन्, ‘के नेपालको इतिहास बदलिन्छ ?’

चितवनको नारायणगढस्थित एक होटलमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि र यही मुद्दामा जोडिएर सञ्चारकर्मी लामिछाने पक्राउ परेको र यससँगै उनका पक्षमा सामाजिक सञ्जाल र खासगरी युटयुबमा अनेक सामग्री आएको पृष्ठभूमिमा सागरले नेताहरूलाई अश्लील गाली गर्दै आक्रोश पोखेका थिए ।

३० सेकेन्डको यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । प्रहरी परिसर काठमाडौंले उनीमाथि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार अनुमति लिइसकेको छ ।

कान्तिपुरसँगको कुराकानीमा सागरले नेताहरूलाई गाली गर्नुको कारण बताउँदै प्रश्न गरे, ‘देशमा लोकतन्त्र आएको दशक भइसक्दा पनि किन दलहरूले केही लछारपाटो लाउन सकेनन् ? माओवादीले परिवर्तनका निम्ति दशक लामो युद्ध लडेर पनि नेपालमा किन केही भएन ? ओलीले ग्यासको पाइप ल्याउँछु भन्थे, ल्याए ? शेरबहादुर त्यति पटक प्रधानमन्त्री भए ? के गरे ?’

आफूले दुई तीनवटा भिडियो खिचेको तर खुकुरी देखाएको भिडियो मात्रै पोस्ट गरेको सागरले बताए । ‘मैले एउटा भिडियोमा त पुलिसलाई पनि गाली गरेको थिएँ । केही पो भइहाल्ला कि भनेर त्यो भिडियो पोस्ट गरिनँ,’ उनले भने । सागरका अनुसार बुधबार उनले पोस्ट गरेको भिडियो दुई घण्टामै १२ सय जनाले हेरेका थिए । भिडियो भाषिक हिसाबले मर्यादित र सभ्य छैन तर भिडियो पोस्ट गरेपछिका दुई दिनमै उनलाई सयभन्दा धेरैको फ्रेन्ड रिक्वेस्ट आएको थियो ।

एक जना एजेन्टलाई एक लाख २५ हजार बुझाएर मलेसिया पुगेका सागरले त्यहाँ एसी निर्माण कम्पनीमा काम गरेका थिए । दैनिक आठ घण्टा कामबापत उनी मासिक २० हजार रुपैयाँ कमाउँथे । सागरका अनुसार मलेसिया जाँदा जग्गा बैंकमा धितो राखेर ऋण निकालेका थिए । ‘झन्डै वर्ष दिनको कमाइ त ऋण तिर्दैमा गयो,’ उनले भने, ‘नेपालमै केही गरी खान मिल्ने भए म किन मलेसिया जान्थेँ ?’

मलेसिया पुगेपछि मात्रै नेपालमा किन विकास हुन सकेन, किन कुनै काम पनि ठीकसँग हुँदैन भन्ने थाहा पाएको सागरले बताए । मलेसियाबाट फर्केपछि देशप्रति माया लाग्न थालेको उनले बताए । उनले डेढ वर्षअघि दाहिने नाडीमा नेपालको राष्ट्रिय झन्डाको टयाटु खोपेका छन् र लेखेका छन्, ‘यो मन त मेरो नेपाली हो ।’ सागरले अहिलेसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएको बताए । ‘फेसबुक र युटयुबबाट राजनीतिक कुरा थाहा पाउँछु । रिस मात्रै उठेर आउँछ,’ उनले भने ।

आफ्नो पुस्ता दु:खकै खाडलमा जाकिएको र यसबाट उम्किने उपाय नभएको उल्लेख गर्दै सागरले भने, ‘आगामी पुस्ताले पनि यस्तै नियति भोग्नु नपरोस् भन्ने सोच्दासोच्दै नेताप्रति औधी रिस उठेर भिडियो बनाएँ । खुकुरी देखाउन चाहिँ हुन्थेन कि !’ उनले थपे, ‘नेताहरूले केही गर्न नसकेरै त हो हामीले खाडीको ४५ डिग्री तातोमा पसिना बगाउनुपरेको ।’

सागर आफू हिंसामा विश्वास गर्ने मान्छे नभएको बताउँछन् । उनले पाखुरामा शिवको टयाटु खोपेको देखाए अनि रातो रंगको भेस्ट अलिक माथि तानेर कम्मरभन्दा माथिल्लो भागमा खोपेको बुद्धको टयाटु पनि देखाए । भिडियोमा खुकुरी नचाएको विषयमा उनको आफ्नै तर्क छ, ‘मैले कसैलाई काट्न मार्न उज्याएको हैन । मैले जसरी सबैले खुकुरी देखाएर खबरदारी गरे नेता सुध्रेलान् कि भनेर हो ।’

सागरले खुकुरी देखाएर गल्ती गरेको स्विकारे पनि नेताहरू बिग्रेका छन् भन्ने अडानमा भने कायमै रहे । उनले सञ्चारकर्मी लामिछानेबारे भर्खरै थाहा पाएका हुन् । उनले युटयुबमा लामिछानेका केही कार्यक्रम हेरेका छन् । ‘दु:ख सुनाउन कहाँ जाने ? सरकारले नसुनेर त रविकहाँ जान पर्‍यो नि । त्यही भएर त्यो मान्छे मन परेको । त्यो मान्छेबारे मलाई अरू धेरै कुरा थाहा छैन,’ उनले भने ।

सागरले लामिछाने पक्राउपछि त्यसको विरोधमा बनाइएका केही भिडियो फेसबुकमा सेयर गरेको देखिन्छ तर फेसबुकमा राजनीतिक कुरा वा विचारका पोस्ट देखिँदैनन् ।

मलेसियाको तीनवर्षे कमाइबाट सागरले करिब चार लाख बचाएका थिए । फर्केलगत्तै तामाङ थरकी युवतीसँग बिहे गरे । उनकी पत्नी टिनाले कान्तिपुरसँगको कुराकानीमा आफ्ना श्रीमान् राजनीतिबारे चासो राख्ने मान्छे नभएको सुनाइन् । ‘पुलिसले पक्रेपछि मात्रै त्यस्तो भिडियो हालेको पनि थाहा पाएँ,’ उनले भनिन् ।

बिहेपछि करिब एक वर्ष सागरले काठमाडौंमा रहेको दिदी–भिनाजुको होस्टलमा काम गरे । त्यहाँ मन नअडिएपछि उनी गाउँमै फर्किएका थिए । ६ कक्षा मात्रै पढेका उनले भने, ‘अलि पढया मान्छे पनि परिनँ । त्यही भएर पनि न काम न के भनेजस्तो भयो ।’ श्रीमान् बेकामीमा बसेको देखेपछि मलेसिया पठाउन टिनाले नै पहल थालेकी थिइन् । सागरका दुई बहिनीमध्ये ठूली बहिनी ४ महिनाअघि र कान्छी बहिनी २ महिनाअघि क्लिनरको काम गर्ने गरी दुबई गएका छन् । टिनाले आफू पनि नन्दहरूजस्तै वैदेशिक रोजगारीमा जाने योजनामा रहेको सुनाइन् ।

सागरका अनुसार थुनामा नपरेको भए उनी एक सातामौ मलेसिया उडिसक्थे । उनले सरकारले ल्याएको फ्रि भिसा र फ्रि टिकटको कुरा सुनेका थिए तर सरकारले भनेअनुसार केही नहुने भएकैले म्यानपावर कम्पनीलाई ८५ हजार तिर्ने सर्त स्विकारेर मलेसिया जान खुट्टा उचालेर बसेका थिए ।

उनका कान्छा भाइ भने १ कक्षामा पढ्छन् । सागरको परिवारमा सुखभन्दा धेरै संघर्ष छ । उनकी आमा सीता इलाका प्रशासन कार्यालयमा पियनको काम गर्छिन् । बाबु टिपर ड्राइभर थिए । कान्तिपुरसँगको फोन वार्तामा आमाले सुनाइन्, ‘अहिले त टिपर चलाउने काम पनि नभएर एउटा स्कुलको बस चलाउन पाइन्छ कि भनेर खोज्न हिँड्नुभएको छ ।’ सागरले आफूहरूको जग्गाजमिन पनि धेरै नभएको सुनाए । ‘घर भएको जग्गा रेलवे लिकमा परेको छ भनेका छन् । जितपुरकै अपायक ठाउँमा साढे १४ धुर जग्गा छ,’ उनले भने ।

सरकारसँग रिस उठ्नुको कारण खोतल्ने क्रममा सागरले पुरानो एउटा घटना सुनाए । स्थानीयस्तरमै साथीभाइसँग मिलेर ब्यान्ड पनि खोलेका सागरले पाँच वर्षअघि सिमरामै आयोजित एउटा कन्सर्टमा गीत गाएका थिए । कन्सर्ट सकिएपछि दर्शकका रूपमा रहेका दुई हुल केटाबीच झगडा भयो । उनले सुनाए, ‘झगडा छुट्याउन जाँदा मलाई एउटा भाइले पिटेको आरोप लगायो । यही घटना फैलिँदै गयो र ती भाइका दाइले आएर मलाई मुक्का हाने । बदलामा मैले चिपर्ट प्रहार गरेँ तर प्रहार सही ठाउँमा परेन । यो घटना प्रहरीमा पुग्यो । प्रहरीले मेरो कुरै नसुनी दोषीझैं केरकार गर्‍यो ।’ सागरका अनुसार उनीमाथि आक्रमण गर्नेलाई कारबाही भएन, उनलाई सम्झौता गर्न बाध्य बनाइयो । ‘त्यही दिनदेखि पुलिसले न्याय दिन्छ भन्ने कुरामा विश्वास उडयो,’ उनले भने ।

सागरकी आमा छोरा पक्राउ पर्नुको कारणबारे उति प्रस्ट छैनन् । उनले भनिन्, ‘गाली देको रे । सरकारलाई हो कि केलाई रे । मलाई रामरी था छैन । अचेलका केटाहरू के भका ? के बोल्दा के हुन्छ पनि थाहा छैन ।’

प्रकाशित : भाद्र ५, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?