१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नाम र राजधानी टुंग्याउँदै प्रदेश २

जनकपुर — प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू आन्तरिक कसरतमा जुटेका छन् । राजधानी जनकपुर राख्नेमा सबै दल एकमत भएपनि नाममा विवाद छ । 

नाम र राजधानी टुंग्याउँदै प्रदेश २

यसमा मुख्य गरी मधेसकेन्द्रित र अन्य दल दुई ध्रुवमा देखिएका छन् । प्रमुख प्रतिपक्ष नेकपाको संसदीय दल बैठकमा अधिकांशले नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने सुझाएका छन् । सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पनि बुधबार छलफलमा जुटे ।


विपक्षी कांग्रेसले प्रदेशको नाम मिथिला वा जानकी र राजधानी जनकपुर हुनुपर्ने आफ्नो बटमलाइन रहेको जनाएको छ । संसदीय दलमा छलफल टुंगिएकाले निष्कर्षसहित बिहीबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउने मुख्य सचेतक उपेन्द्र कुशवाहले बताए । ‘नामबारे मिश्रित धारणा छ । राजधानी जनकपुर हुनेमा सबै क्लियर छन्,’ उनले भने, ‘प्रदेशको नाममा मिथिला, भोजपुरा, जानकी, मध्य मधेससम्मको सुझाव आएको छ ।’


संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ । तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ छैन । त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन । सत्तारूढ समाजवादी पार्टी नाम मधेस र राजधानी जनकपुरमा राख्नुपर्ने अडानमा छ । पार्टीको संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदिय दलको बैठकमा विचार–विमर्श हुने बताए । ‘हाम्रो पहिल्यैदेखिको अडान प्रदेशको नाम मधेस र राजधानी जनकपुर हुनुपर्ने हो,’ उपनेता यादवले कान्तिपुरसँग भने,‘संसदीय दलको बैठकले यस मामिलामा थप प्रष्ट गर्नेछ ।’ समाजवादी पार्टीले राजधानी जनकपुरमा आफ्नो अडान रहेको दाबी गरेपनि पार्टीभित्र अन्य ठाउँबारे पनि बहस सुरु भएको छ ।


सत्तासीन दल समाजवादी र राजपाले प्रदेशको नाम मधेसमा विपक्षी दल सहमत भए राजधानी विपक्षी दलले रोजेको ठाउँलाई नै तोक्ने मूडमा देखिन्छन् । ‘प्रदेशको नामलाई पेचिलो बनाउँदा राजधानी कहाँ राख्ने मुद्दा पनि जोडिएर आएको छ,’ समाजवादी पार्टीका एक सांसदले भने, ‘हामी नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा छौं ।’


सत्तासीन अर्का दल राजपा भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा विपक्षी दलको पनि सहयोग लिन प्रयासरत्त छन् । बुधबार अबेर साँझसम्म बसेको राजपाको संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी के–कहाँ राख्ने मुद्दा भन्दा यो मामिलामा आफ्नो एजेन्डामा विपक्षी दललाई कसरी सहमत गराउने रणनीतिमै छलफल केन्द्रीत रह्यो । राजपाका सह–महामन्त्री एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा आफ्नो दल अडिग रहेको बताए ।


नेकपामा पनि मधेस मत

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरे । प्रदेश २ मा नेकपाको ३२ सांसद छन् । संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन् । नेकपाका दुई सांसद जगत यादब र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिए ।


प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाइ गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरे । नेकपाले प्रदेशको नाम र राजधानीबारे आफ्नो सांसदको धारणा बुझ्न संसदीय दलको बैठक बोलाएको थियो । नेकपाकी सचेतक बेची लुंगेलीका अनुसार दलको बैठकमा धारणा राख्ने २७ सांसदमध्ये २५ जनाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने तर्क गरे । ‘प्रदेशको नाम मधेस, जानकी, जनकनन्दनी राख्न समेत सुझाव आयो,’ नेकपाकी सचेतक लुंगेलीले भनिन, ‘धेरैले मिथिला–भोजपुरा, २ जना सांसदले मधेस र २/३ जनाले जानकी र जनकनन्दनीको नाम पनि सुझाए ।’ प्रदेशको नाम र राजधानीबारे संसदीय दलको बैठकमा सांसदहरुले दिएको सुझाव नेकपाको मुख्यालयमा पठाइने छ ।


संसदीय दलको बैठकमा साहभागी सांसदहरुले प्रदेशको राजधानी धनुषा तोक्ने नयाँ सुझाव प्रस्तुत गरे । प्रदेश २ को राजधानी जनकपुरमा राख्नेमा दलहरुबीच एकमत देखिएपनि धनुषा भनेर नेकपाले राजधानीबारे नयाँ बहस अघि सारेको छ । नेकपाका सांसदहरुले प्रदेशको राजधानी जनकपुरको विकल्पमा नयाँ जनकपुर हुनुपर्ने प्रस्ताव ल्याएको बैठकमा सहभागि सांसद शारदा थापाले बताइन् ।


‘राजधानी जनकपुरबाहिर नयाँ जनकपुरमा राख्ने पनि सुझाव आएको छ,’ सांसद थापाले भनिन्, ‘नयाँ जनकपुर भनेको रातु खोलाको पश्चिम र कमला नदीको पूर्वको भागलाई भनिएको हो ।’ उनले नयाँ जनकपुरका लागि ढल्केबर, महेन्द्रनगर, वीरेन्द्रबजारलगायत क्षेत्रमा राजधानी राख्ने भनेर पनि छलफल भएको बताइन् ।

प्रकाशित : भाद्र ४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?