कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'डुबान रोक्न भारतसँग दह्रो कुरा’

भारततर्फबाट सीमा क्षेत्रमा बन्ने सडक र बाँधले नेपाली भूभाग डुबानमा परिरहेको छ
सन्तोष सिंह

(धनुषा) — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसको डुबान रोक्न भारत सरकारसँग प्रस्ट रूपमा समझदारी गर्नुपर्ने बताएका छन् । भारततर्फबाट सीमा क्षेत्रमा बन्ने सडक र बाँधले नेपाली भूभाग डुबानमा परिरहेको भन्दै दाहालले यस मामिलामा भारतसँग दह्रो कुरा राख्नुपर्ने बताए । 

'डुबान रोक्न भारतसँग दह्रो कुरा’

‘बाढीले नेपाललाई मात्रै नभएर भारतलाई समेत समस्यामा पार्छ । यो समस्या दुई देशको केन्द्रबाटै समाधान गर्नुपर्छ,’ दाहालले भने, ‘डुबानपीडित क्षेत्रलाई प्रदेश २ का लागि विशेष प्याकेज ल्याउने तयारी भइरहेको छ ।’ जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार जनकपुरमा आयोजित बैठकमा सहभागी नेकपा अध्यक्ष दाहालले प्रदेश २ को बाढी, डुबान, खडेरी, आगलागीको सवालमा सरकारले दीर्घकालीन समाधान खोज्ने उनले बताए । ‘विपद् आउँदा हरेक वर्ष उद्धार र राहतको गोलचक्र सुरु हुन्छ,’ दाहालले भने, ‘यो परम्परा चक्रब्यु जस्तै छ । तर, विपदको चुरो कुरा र दीर्घकालीन समाधानबारे बहस आवश्यक छ । परिवर्तनका लागि सबैभन्दा बढी संघर्ष गरेको प्रदेश २ मा अन्नभण्डारको संरक्षण गर्न सरकार छलफलमा जुटेको छ,’ उनले बने ।


नेकपा अध्यक्ष दाहालले नदी नियन्त्रण गर्न मन खोलेर लाग्नुपर्ने बताए । ‘नदीमा दीर्घकालीन समाधानका लागि बाँध बाँध्नुपर्छ । आगलागीको समस्या समाधान गर्न जनता आवास कार्यक्रमअर्न्तगत पक्की घर आवश्यक छ,’ उनले भने । नेकपा र संघीय सरकारको प्रदेश २ को विपद्बारे ध्यान केन्द्रित भएकाले चाँडै विपदको मध्यकालीन र दीर्घकालीन समाधान खोजिने दाहालले बताए । उनले भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन । तबसम्म तराईको मरुभूमीकरणको स्थायी समाधान हुँदैन ।’ पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तराईको डुबान रोक्न भारतसँग समन्वय गर्नुपर्ने बताए । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले डुबान र बाढीपीडितलाई तत्काल उद्धार र राहत वितरण गरी सहयोग गरेको बताए । विपदको प्रमुख कारण चुरे दोहन रहेकाले यसको संरक्षण आवश्यक रहको उनले सुनाए ।


दाहाल–मन्त्री घोचपेच

नेकपा अध्यक्ष दाहाल तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रदेश २ मा भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको भन्दै दिएको अभिव्यक्तिको प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवले प्रतिवाद गरेका छन् ।


मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले आयोजना गरेको कार्यक्रममा दाहाललाई मन्त्री यादवले सिंगो मुलुक नै भ्रष्टाचारको दलदलमा फसेको बताए । ‘प्रदेश २ मा भ्रष्टाचार मौलायो भन्ने अभिव्यक्ति गलत छ,’ मन्त्री यादवले भने, ‘नेपालभरि नै भ्रष्टाचारले प्रश्रय पाएको छ । ३३ किलो सुनकाण्ड नेपालमै भएको छ । प्रधानमन्त्री निवासको जग्गा नै बिक्रीमा सत्ताधारी पार्टीकै महासचिव मुछिएका छन् ।’


मन्त्री यादवको अभिव्यक्तिलगत्तै दाहालले मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण चुनौती भएका बेला प्रदेश २ मा पनि भ्रष्टाचार मौलाएको आफूले भनेको बताए । ‘आन्दोलन र संघर्ष गर्दा जनताले सुशासन र भ्रष्टाचारमुक्त सरकारको माग गरेका थिए,’ दाहालले भने, ‘संघर्ष गर्दा यस्तै शासन खोजेको थियौं त ?’

प्रकाशित : भाद्र ४, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?