कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ट्रान्सफर्मरको समान चोरी : ४०० परिवारको खानेपानी आपूर्ति बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रान्सफर्मरका समान चोरि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४ सय परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो । गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रान्सफर्मरको समान चोरी भएको हो ।

उक्त ट्रान्सफर्मर झन्डै ६ महिनाअघि मात्र खानेपानी योजनाअन्तर्गत जडान गरिएको थियो । विद्युत् ट्रान्सफर्मरमार्फत् भीरपानीका विभिन्न वडामा पानी लिफ्ट गरेर वितरण हुन्थ्यो । ‘मंगलबारदेखि खानेपानी वितरण बन्द भयो,’ उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर केसीले भने । उनले ट्रान्सफर्मरका सामग्री चोरी भएको बारेमा खानेपानी डिभिजन र प्रहरी प्रशासनलाई खबर गरेको बताए ।


बत्ती आइरहेको बेलामा ट्रान्सफर्मरमा गएको लाइन काटेर समान चोरी गर्ने गिरोह प्राविधिक सिपले निपुर्ण नभई अन्यले नसक्ने भएकाले सोहीअनुसार खोजी तीव्र पारिएको केसीले बताए । ट्रान्सफर्मरका सामग्री झिकेर चोरले बाहिरको कभर मात्र बाँकी राखेको छ । तेल र तामाको तार झिकिएको छ । सय केभीएको ट्रान्सफर्मरभित्र एक क्विन्टलभन्दा बढी तामाको तार हुन्छ । तेल र तार कवाडीलाई बिक्री गर्दा ३ देखि ४ लाखसम्म कमाइ हुने भएकाले विद्युत् चोरहरूको निसानामा ट्रान्सफर्मर पर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त क्षमताको ट्रान्सफर्मर नयाँ खरिद गरी जडान गर्न करिब ८ लाख रुपैया लाग्ने प्राधिकरणका निमित्त प्रमुख तीर्थ आचार्यले बताए ।


केही दिनअघि रामेछापको फुलासीमा रहेको धारापानीमा समेत ट्रान्सफर्मरका सामग्री चोरी भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर यादवले जनाए । चोरिएको उक्त सामग्री अझै पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईले ट्रान्सफर्मर सामग्री चोरी गर्ने गिरोह नै संलग्न भएको अनुमान गरिएको बताए । ‘हामीले सबै नाकामा चेकजाँचलाई कडाइ गरेका छौं,’ भट्टराईले भने । भीरपानीको डब्खा गाउँनजिकै एकान्त खोलामा सय केभीएको ट्रान्सफर्मर जडित थियो । उक्त स्थान बस्तीभन्दा केही कोल्टे पर्छ । ट्रान्सफर्मर भएको स्थानमा चौकीदार बस्दैनथे ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?