२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता

नेपालगन्जस्थित बागेश्वरी मन्दिरका नाममा रहेको अर्बौं रूपैयाँ मूल्यको जग्गा मूल महन्थको नाउँमा सार्दै व्यक्तिलाई बेचिएपछि अभिलेख मात्र बाँकी

(नेपालगन्ज) — यहाँस्थित प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरमा श्रद्धालुले जग्गा दान गर्ने परम्परा थियो । धन हुनेले सुनचाँदीका मूर्ति र नगद चढाउँथे । चल सम्पत्ति नहुनेहरूले जग्गा दान गर्ने चलन थियो । बाँके मालपोत कार्यालयको अभिलेखमा ०२५ सालसम्म मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा देखिन्छ ।

मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता

साविकका कर्मोहना इन्द्रपुर गाविस र अहिले नेपालगन्ज उपमहानगरपालिकासित जोडिएका जानकी र खजुरा गाउँपालिकामा उक्त जग्गा थियो ।


दानबाट मन्दिरका नाममा आएको जग्गा विभिन्न व्यक्तिलाई कमाउन (खेतीपाती गर्न) दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने चलन थियो । मन्दिरमा सन्तमहन्त आए आवास तथा हन्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भए महन्तका सन्तान दरसन्तानले उपभोग गर्ने व्यवस्था थियो । तर अहिले दानबाट प्राप्त जग्गा व्यक्तिका नाममा दर्ता रहेको पाइएको छ । बागेश्वरी मन्दिर राजगुठीमा दर्तामा छ । राजगुठीको सम्पत्ति सरकारी हुने कानुनी प्रावधान छ । विभिन्न मितिमा भक्तजनले मन्दिरलाई दान गरेको जग्गा व्यक्तिको नाममा पाइएपछि कानुनी रूपमा खोजी थालिएको थियो । स्थानीय केही अधिवक्ताले उच्च अदालतको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेका थिए । त्यसको पाँच वर्षपछि व्यक्तिका नाममा दर्ता भइसकेका जग्गाको खोजी हुन थालेको छ । इन्द्रपुर क्षेत्रका सबैजसो जग्गा बिक्री भइसकेको खोजीमा संलग्न एक अधिवक्ताले बताए । कतिपय जग्गामा घर बनिसकेका छन् । उक्त जग्गा सुरुमा मन्दिरका मूल महन्त हरिहरनाथ योगी र चन्दननाथ योगीका नाममा दर्ता भएको हो । त्यसपछि बिक्री गर्दै जाँदा विभिन्न व्यक्तिका नाममा दर्ता भइसकेका छन् ।


‘बागेश्वरी मन्दिर राजगुठीअन्तर्गत दर्ता छ । सबै सम्पत्ति सरकारको हुन्छ । व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन । तर रैती देखाएर मूल महन्तका नाममा जग्गा दर्ता गरेको पाइएको छ,’ मन्दिरको सम्पत्ति संरक्षण तथा जग्गा खोजीका लागि दायर मुद्दामा पैरवी गरेका अधिवक्ता सुनील श्रेष्ठले भने, ‘अदालतमा मुद्दा परेपछि जग्गा व्यक्तिका नाममा सरेको देखियो । अदालतले संरक्षणका लागि पनि आदेश दिइसक्यो । तर कार्यान्वयन भएको छैन ।’ ०२८ कात्तिक १४ गते तत्कालीन भूमि प्रशासन कार्यालयको निर्णयअनुसार मन्दिरको ८७ बिघा २ कट्ठा ३ धुर जग्गामध्ये पूजाआजा गर्दा लाग्ने अक्षता तथा हन्डीका लागि महन्त हरिहरनाथ योगीका नाममा ९ बिघा १९ कट्ठा ५ धुर र चन्द्रनाथ योगीका नाममा ९ बिघा १३ कट्ठा १२ धुर जग्गा दर्ता गरेको प्रमाण भेटिएको छ । कतिपय दान गरिएको जग्गा मन्दिरको अभिलेखमा उल्लेख नगरेर व्यक्तिकै नाममा राखिएको बताइन्छ ।


अहिले मन्दिरको जग्गा कति र कुन अवस्थामा छ भन्नेबारे बागेश्वरी गुठी समितिले सार्वजनिक गर्न सकेको छैन । अदालतले ०७३ असार २२ गते मन्दिरका नाममा रहेको जग्गा र सम्पत्ति कहाँ, कस्तो अवस्थामा छ, त्यसको खोजी गरी ६/६ महिनामा सम्पत्तिको आयव्यय अद्यावधिक विवरण सार्वजनिक गर्न आदेश दिएको थियो । तर आदेश कार्यान्वयन हुन सकेको छैन ।


मालपोत कार्यालयको ०५७ असोज १६ गतेको अभिलेखअनुसार इन्द्रपुरमा बचेको मन्दिरको थप जग्गालाई महन्तद्वयले रैताने नम्बरीको निर्णय गराएको पाइएको छ । मन्दिरको जग्गालाई रैताने नम्बरी बनाएपछि बिक्री गर्न र बैंकमा धितो राख्न मिल्ने मालपोत प्रमुख प्रेम दौल्यालले बताए । तर त्यस्तो जग्गाको अभिलेख मन्दिरमा देखिने उनको भनाइ छ । ‘विभिन्न मितिमा निर्णय गरेर जग्गाको स्वामित्व व्यक्तिका नाममा गरेको अभिलेखबाट देखिएको छ,’ उनले भने, ‘सरकारी सम्पत्तिको दुरुपयोग भएको पाइएकाले थप अनुसन्धान गरिरहेका छौं ।’


मन्दिरका मूल महन्त चन्द्रनाथले बागेश्वरी मन्दिरको सम्पत्ति दुरुपयोग नगरेको दाबी गरे । महन्तका हैसियतले तत्कालीन व्यवस्थाले दिएको सुविधा प्रयोग गरेको उनको भनाइ छ । ‘हामीले नामसारी गरेर बिक्री गरेको भए बागेश्वरी मन्दिरका नाममा अझै पनि ८७ बिघा जग्गा रहेको अभिलेख कसरी देखिन्थ्यो ? केही तत्त्वले महन्तहरूलाई बदनाम गराउने प्रयास गर्दै आएका छन्,’ उनले भने, ‘हामीमाथि लगाइएको आरोप झूटो हो ।’ जग्गा किनेका व्यक्तिले मालपोतमा बागेश्वरी मन्दिर गुठीका नाममा राजस्व बुझाउँदै आएका छन् । त्यसैले जग्गा अभिलेखमा देखिने गरेको हो । वास्तविकता भने फरक रहेको कानुन व्यवसायी बताउँछन् ।


मन्दिरको चल, अचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने मागसहित अधिवक्ताद्वय लोकबहादुर शाह र बलबहादुर चन्दले उच्च अदालत नेपालगन्जमा मुद्दा दर्ता गरेका थिए । अदालतले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालय र बागेश्वरी मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि गरी तीन सदस्यीय समिति गठन गर्न आदेश दिएको थियो ।


समितिले भने अनुगमन र चल, अचल सम्पत्ति खोज्न सकेको छैन । ‘अदालतले दिएको आदेश कार्यान्वयन हुने हो भने मन्दिरको चल, अचल सम्पत्ति छिट्टै सार्वजनिक भइसक्थ्यो । तर ध्यान दिइएन,’ अधिवक्ता शाहले भने, ‘मन्दिरको सम्पत्ति खोज्न हामीले निकै पहल गरेका हौं ।’ अहिले मन्दिरमा चढ्ने दैनिक भेटी पनि पारदर्शी नभएको भन्दै प्रश्न उठ्न थालेको छ ।


मन्दिरमा चढाइने भेटी महन्तले लिने गरेको भन्दै त्यसलाई व्यवस्थापन समितिमा राख्नुपर्ने आवाज उठिरहेको हो । दुई जना मूल महन्तले १५/१५ दिनको पूजाबापत प्राप्त भेटी लिने अनौपचारिक सम्झौता छ । यहाँ दैनिक हजारौं रुपैयाँ भेटी जम्मा हुन्छ । भक्तजनले नगद र सुनचाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेखसमेत समितिसँग छैन । चैते दसैं, शिवरात्रिलगायत पर्वमा हजारौं भक्तजनले भेेटी चढाउँछन् । सबै भेटी महन्तले आफूखुसी गर्दै आएको स्थानीयका गुनासो छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?