दुई इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माणमा ४ लाख ५६ रुपैयाँ अनियमितता गरेको भन्दै सुर्खेतको सिम्ता गाउँपालिकाका इन्जिनियर नवीन शर्मा, सबइन्जिनियर शंकर पोखरेलसहित ५ जनालाई मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।

मुद्दा दायर गरिएकामा दुई इन्जिनियरसँगै सडक उपभोक्ता समितिका अध्यक्ष भुवनसिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्दसिंह ठकुरी पनि छन् । अख्तियारले अभियोगपत्रमा ५ जनाले मिलेमतोमा सिम्ता–२ को देउली–सिर्पा–काफलकोट जोड्ने सडकमा भएभन्दा बढी काम देखाई अनियमितता गरेको उल्लेख गरेको छ । गाडी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने नाममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घूस लिएको अभियोगमा महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा प्रहरी जवानत्रय देवेन्द्रबहादुर बलायर, हिटलर साउद र लोकेन्द्र थापा छन् ।

अख्तियारले दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरका नायब सुब्बा देउमान कडरियाविरुद्ध पनि मुद्दा चलाएको छ । उनले लालपुर्जा दिन सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

जुम्लाको सिञ्जास्थित चन्द्रसूर्य आधारभूत विद्यालयका शिक्षक वीरबहादुर बुढाविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको पुष्टि भएकाले बुढाविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

पाथीभरा गोल्डकप : रेडस्टार सेमिफाइनलमा

आनन्द गौतम

(ताप्लेजुङ) — झापाको रेडस्टार क्लब मंगलबार पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रेडस्टारले आफ्नै जिल्लाको टिम गोर्खा स्पोर्टिङ क्लब दमकसँग १–० ले पराजित गरेको थियो ।

रेडस्टारको तर्फबाट दोस्रो हाफको छैटौं मिनेटमा दिवस गुरुङले गरेको गोल निर्णायक बन्यो। उनले कर्नर साइडबाट हानेको फ्रिकिक प्रहार सिधै पोस्टमा छिरेको थियो। उनको प्रहार रोक्नका लागि विपक्षी गोलकिपरले कुनै भेउ पाउन सकेनन्। रेडस्टारका बुद्ध चेम्जोङलाई लडाएपछि रेफ्रीले फ्रिकिक दिएका थिए।

क्यामरुनका बिग, आरयुल र निया गरी तीनसहित एनआरटिका गोलरक्षक दिपांशु रावल, थ्रीस्टारका विक्रम धिमाल, मनाङ मर्स्याङदीका दीपक राई र सुरज बिकलाई मैदान उतारेको गोर्खा स्पोर्टिङले गोल फर्काउन सकेन।

गोर्खाका टेकबहादुर बुढाथोकी वान भर्सेस वानमा गोल गर्न चुकेका थिए। क्यामरुनका दुई खेलाडीले पहेंलो कार्ड पनि पाए। गोर्खा २०७३ सालको पाथीभरा गोल्डकप विजेता टोली हो। रेडस्टारबाट झापा ११ का कर्ण लिम्बु, खामिर गिल्सन कन्दङ्वा, निशान लिम्बु, पूजन उपरकोटी, योगेश गुरुङ, आर्मीका दिवश चौधरीलगायतका खेलाडी मैदान उत्रिएका थिए। म्यान अफ द म्याच रेडस्टारका गोलकिपर दिवस चौधरी भए।

रेडस्टारले बिहीबार डाँगीहाट मोरङसँग खेल्नेछ। बुधबार रेडहर्स क्लब इलाम र एलेभेन एरोज सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। सुनसरीले दाउफिन्स क्यामरुनका प्रिसो, यानिक याना, एक्वेम बारथेमेलीलाइ ल्याएको छ भने थ्रीस्टारका विष्णु सुनुवार र रुपेश केसी, एनआरटीका जीवन धामी, मनाङका प्रवेश दनुवारलाई मैदानमा उतार्दै छ।

सरस्वतीका तीर्थ बस्नेतलगायतका खेलाडी छन्। इलामबाट विदेशी खेलाडी फोफना, ट्याम्पी, रोहित राई, निशान राई छन्। सुनसरी यूकेएफसी दार्जिलिङलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने इलाम पोमुकेछाङ ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो।

फाइनल भदौ ६ मा हुनेछ। विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछन्।

प्रकाशित : भाद्र ३, २०७६ २१:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्