कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको निष्कर्ष- ‘राज्य प्रणालीमाथि प्रहार’

संविधान जारी गर्ने मुख्य शक्तिहरुलाई एकठाउँमा उभिन आह्वान

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएर ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र राजावादीबाट राज्य प्रणाली नै उल्टाउने खालका गतिविधि बढ्न थालेको’ भन्दै संयुक्त रूपमा यसको सामना गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन् । उनले संविधान जारी गर्दाका राजनीतिक शक्तिहरूलाई यस्ता चुनौती सामना गर्ने सवालमा एकजुट हुन आह्वान गरेका हुन् । 

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको निष्कर्ष- ‘राज्य प्रणालीमाथि प्रहार’

सरकारको नेतृत्व लिएको १७ महिनामा पहिलो पटक ओलीले बोलाएको सर्वदलीय बैठकमा संसद्‌मा राष्ट्रिय हैसियत प्राप्त नेकपा, कांग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरूको उपस्थिति थियो । स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्रीले गणतन्त्रप्रति अनास्था फैलिन नदिनका लागि संविधान निर्माणका शक्तिहरू एकठाउँमा आउन जरुरी भएको बताएका थिए ।


शक्ति केन्द्रित गरी प्रधानमन्त्री ओलीले ‘एकदलीय शासनशैली’ लाद्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले सडक र सदनमा सरकारको आलोचना गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्रीले त्यस्तो आरोपको खण्डन गरेका थिए । ‘मैले एकदलीय शासन लाद्न खोजेको छैन, लोकतन्त्रका लागि हामीसँगै (देउवाप्रति संकेत गर्दै) जेलसमेत बसेका हौं, सरकार जसले चलाए पनि प्रणालीबाट चल्ने हो । म त्यसभन्दा बाहिर छैन, हिजो रायमाझी, तुलसी गिरीहरूले के गरे भनेर हेर्नु हुन्न,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले दक्षिणपन्थी र उग्रवापन्थीबाट प्रणालीमाथि नै प्रहार भइरहेको छ, यसविरुद्ध संविधान जारी गर्ने हामी मुख्य शक्तिहरू एकठाउँमा उभिनुपर्छ ।’


ओलीले बैठकको सुरुमा धारणा राख्नासाथ कांग्रेस सभापति देउवाले कार्यकारणी र संसदको भूमिकामाथि प्रश्न गरेका थिए । देउवाले मिडिया काउन्सिल, सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, सूचना प्रविधि, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी लगायत दर्जनौं विधेयकमा संविधानविपरीतका प्रावधान राखिएको भन्दै त्यसबाटै सरकारमाथि अविश्वास जागेको बताएका थिए । उनले मिडियालाई नियन्त्रण गर्न खोजिएको भन्दै पटक–पटक त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।


‘संविधानसँग बाझिने खालका विधेयक आउन भएन । पूर्ण प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘पुरानै विधेयक भए भइहाल्थ्यो । प्रेसलाई नियन्त्रण गर्ने गरी किन नयाँ विधेयक चाहियो ?’ उनले लोकतान्त्रिक मूल्यमान्यतालाई चोट पुग्ने गरी आएका विधेयक फिर्ता लिएर संसद्प्रतिको उत्तरदायित्वलाई गम्भीरतापूर्वक लिएमा सँगै अघि बढ्न सकिने बताए ।


जवाफमा प्रधानमन्त्रीले मिडियालाई नियन्त्रण गर्न नभई व्यवस्थित गर्न खोजिएको बताए । उनले सामाजिक सञ्जाल र कतिपय मिडिया जथाभावी गालीगलौजको स्तरमा उत्रिन थालेकाले त्यसलाई व्यवस्थित गर्न खोजिएको बताएका थिए । लगत्तै देउवाले प्रधानमन्त्री ओलीलाई गाली सुन्ने बानी बसाल्न सुझाव दिएका थिए ।


‘मलाई कति गाली गरेका छन् त सहेरै बसेको छु, गाली सुन्न किन नसक्ने ? तपाईंको पार्टीका नेताहरूको सोच गाली नै सुन्न नसक्ने हो ?,’ देउवाले भनेका थिए, ‘हामीमा सहने बानी चाहिन्छ । आलोचनाबाटै कतिपय कुरा थाहा हुन्छ । तर यसैलाई लिएर स्वतन्त्रताको ढोका बन्द गर्नॅ भएन ।’


देउवाको भनाइमा जोड दिँदै कांग्रेस उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खडका, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सरकारमाथि अविश्वास जन्मनुका कारणबारे थप व्याख्या गरेका थिए । सिटौलाले विप्लव माओवादीको गतिविधि ‘खतरनाक’ रहेको भन्दै प्रधानमन्त्रीलाई संविधान जारी गर्ने शक्तिसँग मिलेर अघि बढ्न सुझाएका थिए ।


कांग्रेस नेता रिजालले सत्ता आरोहणको सत्र महिनापछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री विपक्षीसँग विश्वास कायम गरेर अघि बढ्ने खोजेको संकेत मिलेको बताए । ‘मुलुक निर्माणमा सबै शक्तिलाई सँगै लिएर अघि बढ्नु पर्दो रहेछ भन्ने महसुस प्रधानमन्त्रीलाई भएको छ,’ उनले भने, ‘राष्ट्रसामु ठूला चुनौती छन् र आम निराशा व्याप्त छ भन्ने महसुस पनि उहाँले गर्नुभएको देखियो । सँगै यी चुनौतीको सामना एक्लै गर्न सकिँदो रहेनछ भन्ने उहाँको भनाइ पाइयो ।’ बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग निर्माणका विषयमा भने छलफल भएन । प्रधानमन्त्रीले यो विषयलाई लिएर बुधबार सत्तारूढ र प्रमुख प्रतिपक्षीबीच छुट्टै बैठक बोलाएकाले छलफल नभएको रिजालले बताए । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा छिट्टै पदाधिकारी नियुक्ति हुने बताएका थिए । दाहालले आधारभूत मुद्दाहरूमा प्रमुख शक्तिहरू एकैठाउँमा भएको उल्लेख गर्दै असन्तुष्टिलाई मिलाएरै जानुपर्ने बताएका थिए । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर र राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले संविधान संशोधनका विषय उठाएका थिए । भट्टराईले सम्झौताअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिएका थिए । ठाकुरले मधेस आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता नलिइएको र संविधान संशोधन प्रक्रिया अघि नबढेकाले सरकारप्रति विश्वासको वातावरण नबनेको बताएका थिए । ‘प्रचण्डजीले जहिले पनि क्रमभंग गर्नुपर्‍यो भन्नुहुन्छ, तपाईंलाई (प्रधानमन्त्री) क्रमभंग गरेर अघि बढ्ने अवसर छ, किन्तु परन्तु नभनी राष्ट्र निर्माणका लागि क्रमभंग गर्नुहोस्,’ राजपा संयोजक यादवको भनाइ थियो, ‘तपाईं अरू बेलाको जस्तो प्रधानमन्त्री पनि होइन । परिवारमा छोराछोरी छैनन्, कुनै लोभ पनि छैन । इतिहास रच्ने अवसर तपाईं किन गर्नु हुन्न ?’


मेरो स्वास्थ्यमा गम्भीर जटिलता छैन : ओली

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा बाहिर हल्ला भइरहेको जस्तो गम्भीर प्रकृतिको जटिलता नभएको बताएका थिए । मृगौला प्रत्यारोपण गर्नुपर्ने र गरिसक्यो भन्ने दुवै हल्ला सत्य नभएको भन्दै आफ्नो स्वास्थ्यमा गम्भीर प्रकृतिको जटिलता नदेखिएको प्रस्ट पारेका हुन् । ‘स्वास्थ्यमा ठूलो समस्या होइन । औषधि मिलाउनुपर्ने भएकाले म फेरि जान लागेको हुँ । त्यसका लागि ७/८ दिन सिंगापुर बसेर फर्कन्छु,’ ओलीको भनाइ थियो । ओलीले थप एउटा औषधिको डोज थप्नु र मिलाउनुपर्ने भएकाले जान लागेको बताएका थिए ।

प्रकाशित : भाद्र ३, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?