फेसबुकमा जथाभावी लेख्ने पक्राउ

काठमाडौँ — सञ्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा खुकुरी नचाई उच्च तहका नेताहरूलाई अश्लील गाली गर्दै भिडियो खिचेर फेसबुकमा पोस्ट गर्ने युवकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

फेसबुकमा जथाभावी लेख्ने पक्राउ

प्रहरीले बारा, जितपुरका सागर मैनालीलाई इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने तयारी थालेको छ । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार मैनालीले सोमबार उक्त भिडियो आफ्नै फेसबुकमा राखेका थिए ।

लामो समय मलेसिया बसेर केही समयअघि मात्रै नेपाल फर्केका मैनालीले नेताहरूप्रति आक्रोश पोख्दै लामिछानेलाई फसाउन खोजिएको दाबी गरेका छन् । उनले ‘गोर्खालीले बनाएको खुकुरीले नेताहरूलाई काट्ने धम्की’ दिएका थिए ।


लामिछानेलाई समर्थन गर्दै प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीलाई अमर्यादित शब्द लेखिएको फोटोसहितको सामग्री फेसबुकमा पोस्ट गरेको आरोपमा सोमबार प्रहरीले अछाम मंगलसेनका शंकर विकलाई पक्राउ गरेको थियो । विकले गल्ती गरेको भन्दै माफी मागेपछि प्रहरीले उनलाई कागज गरेर छाडिदिएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?