१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बन्द, उपचार प्रभावित  

प्रदीप मेन्याङ्बो

(सुनसरी) — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन आपूर्ति घटेपछि सेवा प्रभावित भएको छ । ६ महिनाअघि मात्रै जडान गरेर सञ्चालनमा ल्याइएको प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट बिग्रिएको छ । निजी क्षेत्रको कम्पनीबाट भइरहेको आपूर्ति मागका तुलनामा कम हुँदा उपचार सेवा प्रभावित भएको हो । 

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बन्द, उपचार प्रभावित  

निजी प्लान्टमा खराबी आएर उत्पादन हुन नसकेपछि प्रतिष्ठानले खनारको दुर्गा अक्सिजन प्लान्टले सिलिन्डरमा खरिद गरिरहेको छ । अर्कैको प्लान्टबाट अक्सिजन खरिद गर्नुपर्दा प्रतिष्ठानलाई दैनिक ६० हजारदेखि ८० हजार रुपैयाँसम्म व्ययभार पर्ने गरेको छ । दुर्गा प्लान्टले पनि पर्याप्त अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसकेपछि वार्डहरूमा विरामी भर्ना लिने दर कम गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ ।


बिग्रिएको प्लान्ट मर्मत गर्न दुई सातादेखि प्रयास गरिरहेको प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा. गुरु खनालले बताए । ‘हामीलाई सप्लाइ दिनेले मागको परिमाणअनुसार पठाउन नसक्दा सेवा प्रभावित रहेको अवस्था छ,’ उनले भने, ‘छिटै आफ्नै प्लान्ट चल्ने बनाउने कोशिस जारी छ । त्यो सञ्चभालनमा आए समस्या हटछ ।’


प्रतिष्ठानमा युनिषी इन्डियाले उपलब्ध गराएको २ सय ८० लिटर प्रतिमिनेट उत्पादन गर्ने सानो स्केलको पुरानो प्लान्ट बिग्रेको थियो । उक्त प्लान्ट बिग्रेको करिब १८ महिनापछि गत माघ २४ मा ३ करोड २४ लाख रुपैयाँ लगानीमा अर्को प्लान्ट जडान गरिएको थियो । उक्त प्लान्टका लागि पूर्वउपकुलपति प्राडा. बलभद्रप्रसाद दासको पालामा ०७३ जेठ २९ मा कार्यकरिणी समितिले गरेको निर्णयअनुसार टेन्डर खोल्ने निर्णय भएको थियो ।


टेन्डर पारेको काठमाडौंको डाइग्नोकेन प्रालिले १ सय २० दिनभित्र जडान गरिसकेर परीक्षण र सञ्चालन गर्नुपर्ने सम्झौता थियो । ०७५ भदौ अन्तिम सातामा मात्र युनिषी इन्डियासँग मिलेर ल्याएको उपकरण चौरमा त्यसै राखेर करिब ६ महिनासम्म डाइग्नोकेनका प्रतिनिधि विज्ञान अर्याल सम्पर्कविहीन भए ।


प्रतिष्ठान व्यवस्थापनले ठेकेदारलाई कारबाही प्रक्रियामा जाने चेतावनीपत्र लेखेपछि युनिषीले पठाएको प्राविधिकले प्लान्ट जडान गरे । तर, चालु भएको दोस्रो दिनमै दुईमध्ये एउटा जेनेरेटर बिग्रियो । यसबाट प्रतिष्ठानकै पदाधिकरीको मिलेमतोमा कबाडी प्लान्टमा ३ करोड २४ लाख रुपैयाँ डुबेको शंका गर्न थालिएको थियो ।


१६ सय लिटर प्रतिमिनेट उत्पादन क्षमताको नयाँ प्लान्टबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने भनिएको थियो । एक महिनाअघि प्लान्टबाट उत्पादन नै बन्द भएपछि प्रतिष्ठानले निजी क्षेत्रको कम्पनीबाट खरिद थालेको हो । युनिषी र डाइग्नोकेनले जडान गरेको प्लान्टले सम्झौताअनुसारको उत्पादन नगरेको र एउटा जेनेरेटरले काम नगरेको भन्दै प्रतिष्ठानले अक्सिजन जेनेरेटर निर्माता कम्पनी स्लोभाकियाको अक्सिवाइज, एयर कम्प्रेसर निर्माता कम्पनी जर्मनीको केजर, अक्सिजन बुस्टर निर्माता अमेरिकाको आरआइएक्स र मेनिफोल्ड बनाउने इटालीको एफडी कम्पनीलाई पनि पत्राचार गरेको थियो ।


ती कम्पनीहरूले अक्सिजन प्लान्टको सबै दायित्व युनिषी इन्डियाको भएकाले उतै सम्पर्क गर्नू भन्ने जवाफ पठाएका छन् । जडानको पाँच वर्षसम्म वारेन्टी भएपनि डाइग्नोकेन र युनिषीले मर्मत सम्भार गरिदिनुपर्ने सम्झौताविपरीत बेवास्ता गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?