अरुण खोलामा जामले सास्ती :  एक बोतल पानीको १००, चाउचाउ ७५ रुपैयाँ 

नारायण शर्मा

नवलपरासी — सडक जामको फाइदा उठाउँदै अरुण खोला आसपासमा स्थानीयले यात्रुबाट एक बोतल पानीको १०० र चाउचाउको ७५ रुपैयाँ लिन थालेका छन् । बिस्कुट ५० रुपैयाँ सम्ममा बेच्न थालेका छन् । 

अरुण खोलामा जामले सास्ती :  एक बोतल पानीको १००, चाउचाउ ७५ रुपैयाँ 

अरुण खोलाको पुलमा क्षति पुगे पछि बनाएको डाइभर्सनमा भएको जामका कारण पूर्व र पश्चिमतिर गाडिको लाइन हुँदै आएको छ । महेन्द्रराजमार्गमा सडकको दुवैतर्फ बाक्लो जंगल छ । जंगलमा अन्य पसल नभएका कारण यात्रु चर्को मूल्य तिर्न बाध्य भएका हुन ।


एकतर्फी सडक खुल्दा पनि ४ घण्टासम्म जाम हुँदै आएको छ । बजार नभएका कारण स्थानीयले जंगलमा जाममा परेका यात्रुबाट पानी, चाउचाउ जस्ता अत्यावश्यक वस्तुको अचाक्ली मूल्य लिने गरेका छन् । ‘एक बाेतल पानीको एक सय तिरे,’ झापा दमकबाट नेपालगञ्ज हिँडेका विक्रम पराजुलीले भने, ‘यस्तो चरम मूल्य लिँदा पनि कसैको चासो छैन ।’

पूर्व मेची र पश्चिम महाकाली पुग्न यहाँबाट बराबर दुरी पर्दछ । दुवैतर्फ जाने यात्रुको चाप सडकमा उत्तिकै छ । घण्टौ जाममा परेका कारण र नजिकमा किनमेलको पसल नभएका कारण जसले जति भन्छ त्यति मूल्य तिर्नुपर्ने बाध्यता रहेको मकवानपुरकी अजिता तमाङले गुनासो गरिन् । ‘पानी छैन, छहारी छैन । चर्को घाममा बसभित्र बस्दा निकै सकस हुने गरेको छ,’ उनले भनिन्, ‘जति मूल्य भने पनि तिर्नु पर्ने अवस्था छ ।’


उवासंघले थाल्यो समान बेच्न

चोरमारामा रहेको उद्योग वाणिज्य संघले यात्रुले चर्को मूल्यमा अत्यावश्यकीय समान खरिद गर्न बाध्य भएको जानकारी पाएपछि सानो गाडिमा चाउचाउ, बिस्कुट, पानी र चकलेटको बिक्रि सुरु गरेको छ ।


सोमवारबाट यात्रुको असुविधालाई ध्यानमा राखेर उद्योग वाणिज्य संघ मध्यबिन्दु नगरपालिकाको कार्यालयले सुपथ मूल्यमा अत्यावश्यक वस्तु बेच्न सुरु गरेको हो ।


उवासंघका अध्यक्ष केदार पराजुलीले बजारको दर रेटमै ग्राहकलाई जाममा परेको स्थानमै समान दिने उद्देश्यले ३ जना कर्मचारी खटाएर बिक्रि गर्न थालेको बताए । अध्यक्ष पराजुलीले जाममा परेका यात्रुलाई पानी प्रति बोतल १० रुपैयाँ, चाउचाउ १५ र बिस्कुट १० मा उपलब्ध गराउँदै आएकाे दाबी गरेकाे छ ।


छैन अनुगमन

बजार अनुगमनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय भने हजारौ यात्रुले जंगल बीचको राजमार्गमा एकसातादेखि चर्को मूल्यमा पानी खरिद गर्न बाध्य हुदाँ समेत बेखबर छ ।


पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बढी मूल्यमा बिक्रि गरिएको भन्ने जानकारी नै आफूलाई नभएको बताए । ‘अब अहिल्यै अनुगमन थालेर बढी मूल्य नलिने ब्यवस्था मिलाउँछु,’ उनले भने ।


एकतर्फी खुले पनि घण्टौं जाम

अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडकमा आएको बाढीले रोकिएको यातायात एकतर्फी खुलेको छ ।


खोलमा पानीको सतह घटेपछि यातायात एकतर्फी खुलाइएको हो । डाइभर्सन बनाएको कच्ची सडक भन्दा माथिबाट पानीको भेल बगेका कारण सोमबार दिनभर यातायात अवरुद्ध भएको थियो ।


अहिले राजमार्गमा लामो जाम बनेको छ । देशभरीकै ‘लाइफलाइन’ सडक भएका कारण महेन्द्र राजमार्गमा सवारी चाप अत्यधिक हुने गरेको छ ।

सडक डिभिजन कार्यालयले २ वटा डोजर लगाएर दोहोरो आवगमन हुने गरि डाइभर्सन बनाउदै गरेको छ । डिभिजन सडक कार्यालय बुटवलले पानी रोकिएकाले मंगलबार साँझसम्म दोहोरो यातायात संचालन हुने गरि काम भइरहेको जानकारी दिएको छ ।


वर्षात् हुनासाथ खोलामा पानी बढ्ने बित्तिकै यातायात बन्द हुने र पानी घटेपछि पुनःसुचारु हुने गरि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकसाता अघि अरुणखोला पुलमा गाडि ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिन लगाएर वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो ।


भाँचिएको पुल टेका लगाएर माथि उठाउने र सोझ्याउने काम पनि भइरहेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले दुई साताभित्र पुलबाटै यातायात संचालन हुने गरि काम भइरहेको जानकारी दिए ।


‘पुलको भाग माथि उचालेर सोझ्याउने र केही नयाँ सापो राखेर पुल सोझ्याउने काम भइरहेका छ,’ उनले भने, ‘भदौ १५ गतेसम्म पुलबाटै यातायात चल्न सक्ने बनाउँछौ ।’

प्रकाशित : भाद्र ३, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?