१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

टुक्रिँदै सगोल परम्परा, छुट्टिँदै परिवार

एउटाले कमाउने सम्पत्तिमा परिवारका धेरैजनाको भाग लाग्ने भएपछि छुट्टिएर सानो परिवारमा बस्न युवापुस्ताको रहर
कमल पन्थी

बर्दिया — पुस्तौंदेखि सगोलमा बसेर एउटै चुलोमा पाक्ने खाना खाने बारबर्दिया नगरपालिका–४ का वडा सदस्य लालबिहारी थारू दुई वर्षअघि परिवारबाट अलग्गिए । ४५ सदस्यीय परिवारबाट उनी अलग भएपछि अरू पनि बेग्लाबेग्लै बस्ने क्रम बढ्यो । 

टुक्रिँदै सगोल परम्परा, छुट्टिँदै परिवार

गुलरिया–१० का वडाध्यक्ष वीरेन्द्र चौधरीको ५० जनाको परिवार थियो । आठ वर्षदेखि उनी अलग्गै छन् । घरमूलीको आदेशानुसार चल्ने सगोल परिवारको मुख्य पेसा खेती हुन्थ्यो । एक दशकयता आर्थिक संकट, एउटाको कमाइमा धेरैजना आश्रित हुनुपर्ने र खेतीप्रति आकर्षण घट्दै जानुले संयुक्त परिवारबाट छुट्टिएर बस्ने क्रम बढेको हो ।

वडा सदस्य थारूले रोजगारीका लागि बाहिर जाने चलन भएपछि घरमूलीको निर्देशनमा चल्ने सगोल परम्परामा असर पारेको बताए । ‘सञ्चारको विकाससँगै गाउँघरका युवा रोजगारीका लागि विदेश जान थाले,’ उनले भने, ‘आफैंले कमाउन थालेपछि परिवारबाट अलग्गै बस्ने परिपाटी सुरु भयो ।’ सीमित जिम्मेवारी, आवश्यकता र सम्पत्तिमाथिको अधिकार आदिका सुविधाले छुट्टै सानो परिवारमा बस्ने चलन बढेको उनले बताए ।

गुलरिया नगरपालिका–१० थपुवाका हरिप्रसाद थारू पनि आठ वर्षअघि ठूलो परिवारबाट छुट्टिएका हुन् । उनका दुई भाइ पनि बुबाआमा जीवित छँदै आआफ्नो अंश लिएर छुट्टै घर बनाएर बस्न थाले । ६ बिघा जग्गामध्ये २/२ बिघा जग्गा भाइका नाममा गयो । ‘सगोलमा बस्दा आम्दानी बाँड्नु पर्थ्यो,’ उनले भने, ‘अहिले आफूले जोडेको सम्पत्ति बाँड्नुपरेन, सानो घरपरिवारसँग रमाइलो गरी बस्न थालेका छौं ।’ सगोलमा बस्दा घरधन्दा पालैपालो हुने गर्छ । एकआपसमा दुःखसुख बाँड्ने र काममा सघाउने हुन्थ्यो । खेतमा काम गर्ने युवा सगोलबाट अलग भएपछि मजदुरीका लागि अरूलाई गुहार्न बाध्य भएको वडाध्यक्ष चौधरीले बताए । ‘सगोलको ठूलो परिवारमा बस्दाका फाइदा पनि छन् तर समयले सगोलभन्दा सानो परिवार नै सुखी भन्ने बुझाइ बढेको छ,’ उनले भने ।

थारू समुदायमा सगोलमा रहने करिब ९० प्रतिशत जनसंख्या अहिले छुट्टिएर अलग्गै बस्न थालेको उनको अनुमान छ । सगोलबाट सानो परिवारमा अलग्गै बस्न खोज्ने गाउँघरमा बढ्दै छन् । गुलरिया थपुवाका ६८ वर्षीय गोलेराम थारूको परिवारमा २२ जना एकैसाथ छन् । परिस्थिति हेर्दै उनले पाँच छोराका लागि पाँच बिघा जग्गा भागबन्डा गरे । ६ बिघामध्ये एक बिघा आफूले राखेका छन् । भागबन्डा भए पनि पाँच छोराको खाने एउटै चुलो छ ।

ठूलो परिवारमा बुहारी र नातिनातिनाबीच हुने अन्तरकलहले पनि सगोल फरिवार टुत्रिँदै गएको बुढापाका बताउँछन् । कतिपय घरका श्रीमान् जागिर खान बाहिर गएर फर्कंदा कमाएको धनले परिवारमा कलह हुने गरेको छ । परिवार विभाजनको यो पनि कारक छ । स्थानीय हरिप्रसाद थारूले बढी मनमुटाव भएकाले सगोल परिवारबाट अलग भएको बताए । खेती प्रमुख पेसा मानिन्थ्यो । घरमूलीले भनेअनुसार चल्नुपर्थ्यो । अब खेतीयोग्य जमिन घट्दै गएपछि वैदेशिक रोजगारमा जान थालेपछि सगोलमा बस्ने चलन हराउँदै गएको छेदा थारूले बताए । ‘हाम्रा परिवारका धेरै युवा कृषि छाडेर अब अरू पेसामा छन्,’ उनले भने ।

अहिले पनि निकै रमाइलोका साथ एउटै चुलोमा पाकेको खाना खाने थारू समुदायका सगोल परिवार जिल्लामा नभएका भने होइनन् । जिल्लाका विभिन्न ठाउँमा पुस्तौंदेखि सगोलमा बसी एउटै चुलोमा खाने २० देखि ६० सदस्य एउटै परिवारमा बस्दै आएका छन् । समाजमा एक पुस्ता नबित्दै अलग्गै बस्ने सामान्य भए पनि गुलरिया नगरपालिका–१२ भैसाहीका ६० वर्षीय जोगीराम थारूको ठूलो परिवारमा अहिलेसम्म कसैले छुट्टै बस्ने आँट गरेका छैनन् । बारबर्दिया–४ की ५७ वर्षीया रामती थारूको २२ जनाको परिवार एकै घरमा बस्छन् ।

८१ वर्षीय महादेव थारू सगोलभन्दा अबका युवा एकल परिवार मन पराउने बताउँछन् । ‘जिल्लामा अब मुस्किलले ठूलो परिवार भेटिन्छ, निकै कम भइसके,’ बारबर्दिया–४ का फूलपाती चौधरीले भने । बर्दियामा करिब ५१ प्रतिशत थारू समुदायको बसोबास छ ।

प्रकाशित : भाद्र ३, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?