गोदामचौर बलात्कार : जिल्लाकै फैसला सदर

सामूहिक बलात्कारका तीन आरोपितलाई १०–१० वर्ष कैद

काठमाडौँ — उच्च अदालत पाटनले गोदामचौरमा भएको सामूहिक बलात्कारका तीन जना आरोपितलाई दोषी ठहर गर्दै १०–१० वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले ०७५ फागुन १७ गते जिल्ला अदालतले गरेको फैसला सदर गरेको हो ।

गोदामचौर बलात्कार : जिल्लाकै फैसला सदर

जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिंह महराको इजलासले ‘गोदामचौर क’ माथि सामूहिक बलात्कार गरी काल्नामुनि फालेको घटनामा उनीहरूलाई दोषी ठहर गरेको थियो । आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरी घटनामा पनि दोषी ठहर गर्दै बलात्कारमा ५ वर्ष र सामूहिक बलात्कारमा थप ५ वर्ष गरी १०–१० वर्ष कैद किटान भएको हो । उनीहरूबाट एक–एक लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला पनि सदर भएको छ ।


ज्यान मार्ने उद्योगमा पनि १० वर्षका दरले कैद सजाय फैसला भएको छ भने चोरीको आरोपमा ६० दिन कैद तोकिएको छ । पीडितले हराएको ३ हजार तीन जनाबाट दामासाहीबाट भराउने फैसला भएको छ । ‘सबै आरोप ठहर भई अधिकतम सजाय तोकिएको हो,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले कान्तिपुरसँग भने, ‘एउटै घटनाको फरक अभियोगमा कैद सजाय हुँदा बढी सजायमा साना सजाय खापिने भएकाले हरेकलाई एकमुस्ट १० वर्षका दरले कैद ठहर हुने जिल्लाकै फैसला सदर भएको हो ।’


पीडितको सनाखती कागज र बयानलाई इजलासले मुख्य प्रमाणका रूपमा ग्रहण गरी जिल्लाले फैसला सुनाएको थियो । पीडितले अस्पतालमा होस खुल्नासाथ आरोपितले आफूमाथि कसरी आक्रमण गरे भन्नेबारे प्रारम्भिक बयान दिएकी थिइन् । त्यहीअनुसार आरोपितको सनाखतसमेत गरेकी थिइन् ।


ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि ०७४ मंसिर २ गते साँझ सामूहिक बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनलाई घरनजिकैको खोलाकिनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएकामा टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । उनलाई ७ दिनसम्म आईसीयूमा राखिएको थियो ।


दाहिने हात टुक्राटुक्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी युवतीको स्टिल–सपोर्टले हात जोडिएको थियो भने टाउकाको गहिरो घाउमा ३० भन्दा बढी टाँका लगाइएको थियो । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगले पनि अनुसन्धान गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

गोदामचौर बलात्कार : तीन आरोपीलाई १० वर्ष कैद

प्रकाशित : भाद्र २, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?