कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्योः कांग्रेस

सन्जु पौडेल

रुपन्देही — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रजातन्त्रको खिलापमा लाग्ने कसैलाई नछोड्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको दुई दिने महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको र ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिए ।

सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्योः कांग्रेस

‘वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको छ,’ उनले भने, ‘सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्न खोजेको छ । मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ तर सरकारले आयोगको अधिकार समेत खोस्न लागि परेको छ । ’


देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गरिने बताए । भाषण गरेर चुनाव जित्न नसकिने भएकाले काम गरेर देखाउन नेता कार्यकर्तालाई उनले आग्रह गरे । पार्टी एकता आवश्यकता रहेकामा जोड दिदै देउवाले चुनाव जित्न पार्टी एकता बिना सम्भव नभएको बताए ।


पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । ‘सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्दैछ,’ उनले भने, ‘दुईतिहाई बहुमतको सरकारले केही काम गर्न सकेको छैन । सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको उनले बताए । नेता पौडेलले संविधानको मर्ममाथि नै प्रहार गरी राज्यको ढुकुटी रित्ताउन सरकार लागेको उनले आरोप लगाए ।


त्यस्तै पार्टीका उपसभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको भन्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।


पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ जानुपर्ने बताए । उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए ।

प्रकाशित : भाद्र २, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?