२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा

रासस

काठमाडौँ — अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा सोमबारदेखि सुरु भएको छ । 

एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता रहेको छ । सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीहरुलगायत एसिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।


सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हवाई क्षेत्रको सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास र क्षमता अभिवृद्धिका लागि आगामी रणनीति तय गर्न सम्मेलन उपयोगी हुने बताए । उनले विश्वकै संवेदनशील हवाई क्षेत्रको बृहत्तर विकास, सो क्षेत्रमा आएका आधुनिक प्रविधि र नव प्रवर्तनका विश्वव्यापी आयामलाई आत्मसाथ गरेर गुणस्तरीय हवाई सेवा अभिवृद्धि गर्नेतर्फ सामूहिक प्रयासको खाँचो औंल्याए ।


प्रधानमन्त्री ओलीले नेपालजस्तो हिमाल, पहाड र तराईको भौगोलिक संयोगयुक्त मुलुकका लागि सम्पर्क सञ्जाल विस्तार अति अपरिहार्य विषय भएको उल्लेख गर्दै भू–धरातलीय विशिष्टता, मौसमी अवस्था आदि संवेदनशीलतालाई समेत मध्यनगर गर्दै हवाई सुरक्षा, सेवा गुणस्तर र दीर्घकालीन सुधारका सामूहिक कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिए ।


मुलुकको हवाई संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, उच्चतम प्रविधिको प्रयोग र सेवा स्तरीकरणलाई विशेष प्राथमिकताकासाथ अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरेको बताउँदै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन पहलकदमी भइरहेको उल्लेख गरे । हवाई उड्डयनको क्षेत्रमा नीतिगत सुधारको काम अघि बढाइएको र आईकाओको चासो अनुरूप प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा स्थापित गर्न कानून निर्माणको चरणमा रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?