कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाहालले भने, 'नेकपाको सरकार ५ वर्षसम्म, ओलीजी समझदारी अनुसार चल्नुहुन्छ'

अजित तिवारी

जनकपुर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । उनले समझदारीको आशय भने खुलाएनन् ।

दाहालले भने, 'नेकपाको सरकार ५ वर्षसम्म, ओलीजी समझदारी अनुसार चल्नुहुन्छ'

‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ । यसमा कुनै दुविधा नै छैन,’ सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै नेकपाका अध्यक्ष दाहालले भने, ‘सरकार पनि ५ वर्ष जान्छ । ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’


धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर आएका हुन् ।


‘सरकारको पहिलो कानुनी जटिलता थियो । छिट–छिटो विकास होस् भन्ने जनताको चाहना थियो,’ दाहालले भने, ‘सरकारले पहिलो वर्ष यी सबै आधार बनाएको छ । अब सरकार अगाडि बढ्छ ।’


उनले समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने बताए । ‘पार्टी एकतामा धेरै भ्रम छर्न खोजियो । तर हामीले पार्टी एकता टुंग्यिाएका छौं,’ दाहालले भने ।


‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनाईको अपव्याख्या गरिएको बताउँदै अध्यक्ष दाहालले भने, ‘मैले त्यसो भनेकै होइन । पार्टी एकता गरिसकेका हौं । अब विकल्प छैन भनेको हो । मिडियामा अपब्याख्या गरियो ।’


आफूले बोलेको त्यो कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि उपस्थित रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाए ।


‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो । जुन गलत हो,’ दाहालले भने, ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन ।’ दाहाल पत्नी सीतासहित जनकपुर आएका हुन् ।

प्रकाशित : भाद्र २, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?