१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रोपाइँ गर्न खेतमै जाग्राम

एकपटक जोत्ने खेत किसानले ३ पटक जोतिसके । तर पानी नपरेर रोपाइँ हुन सकेको छैन । बीउ पनि सुक्न थालेका छन् । 
मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका–१३ बस्तीको अधिकांश क्षेत्रमा रोपाइँ हुन सकेको छैन । जिल्लाकै धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिएका बस्तीका खेत बाँझै छन् ।

रोपाइँ गर्न खेतमै जाग्राम

आमाडालाका ५०, वडपीपलका ६, भावर खोलाका ३०, नवाडीका ७, बडीघाटका १०, कोसैनका २० र भीमलाका ४० गरी १६३ परिवारका खेतमा रोपाइँ नभएको हो । ‘कहिले पानी पर्ला र रोपाइँ गरौंला भनेर किसान खेतमै जाग्राम बसेका छन्,’ स्थानीय टेकबहादुर धामीले भने, ‘खेतमै त्रिपाल टाँगेका छौं ।’


रोपाइँका लागि खेतमा त्रिपालै टाँगेर बस्नुपरेको यो पहिलो पटक भएको धामीले बताए । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसानले सधैंजसो खाद्यान्न अभाव झेल्नुपरेको छ । आकाशेपानीको मौका छोपी खेती गर्नुपर्ने उनीहरूको पुरानै नियति हो । सेती नदीसँगै जोडिएको खेत हिउँदमा मात्र होइन, वर्षामा पनि सुक्खै रहन्छ । साउन सकिनै लाग्दा पनि वर्षा नभएपछि खेत यो वर्ष पनि बाँझै रहने चिन्ता उनीहरूको छ ।


रोपाइँ गर्न आकाशेपानी पर्खिनुपर्छ । बेलैमा पानी परेन भने खेत बाँझै रहने भएपछि किसान वर्षभर खाने अन्न खोज्न तराई जाने गरेको स्थानीय एकेन्द्र धामीले बताए । बिजुली पनि नपुगेको यस क्षेत्रमा पम्प र लिफ्ट गरी सिँचाइ गर्न पनि असम्भव छ । खेतमा पानी नलाग्दा अधिकांश जग्गामा उब्जनी हुन सकेको छैन । ‘एक पटक जोत्नुपर्ने खेत ३ पटक जोतियो, तर रोपाइँ नै हुन सकेन,’ धामीले भने, ‘बीउ पनि सुक्न थालिसक्यो ।’


उनका अनुसार सेती नदी किनारका खेत लोभलाग्दो गरी पाटा मिलेका छन् । तर खोलाको पानी खेतसम्म ल्याउन नसक्दा रोपाइँमा व्यस्त हुनुपर्ने किसान फुर्सदिला छन् । ‘साउन सकिन लाग्दासमेत पानी नपर्दा खेती लगाउन नपाइएला भन्ने चिन्ताले पिरोलेको छ,’ अर्का स्थानीय रमेश धामीले भने, ‘यी खेतमा सिँचाइ सुविधा भए वर्षको दुई पटक धान उत्पादन गर्न सकिन्छ । प्रशस्त मौसमी तथा बेमौसमी तरकारी उत्पादनको सम्भावना छ । पानी नभएपछि थोरै खेतमा मात्र किसानले वर्षाको पानीको भरमा धान रोप्ने गरेका छन् ।’


स्थानीयका अनुसार खेतमा कुलो लाग्दैन । खोलामा समेत पानी छैन । आकाशेपानीको भर परेपछि खेत बाँझै छ । खेतमा धानको बीउ राखेको दुई महिना बढी भइसक्यो । धान रोप्न पानी छैन । ‘आकाशेपानीको भरमा रोपाइँ गर्थ्यौं, यसपाला पानी परेन खेत बाँझै छ,’ बस्तीका परे धामीले भने । सिँचाइका लागि अन्य कुनै विकल्प नभएको उनले बताए ।


‘यो वर्ष त भोकमरी पर्छ कि भन्ने चिन्ता लागेको छ,’ उनले थपे । जिल्लामा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । समयमै मनसुन सक्रिय नहुँदा यसपालि धान रोपाइँ समयमै सुरु हुन नसक्दा अधिकांश खेत बाँझै रहेको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?