२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भेलमा बग्न थाले सीमास्तम्भ

नेपाल–भारत सीमाका ५७८/७, ५७८/१०, ५७८/७, ५७७/७ र ५७७/९ नम्बरका स्तम्भ ढलेका छन् । ५७७/९ नम्बर स्तम्भ बालुवामा धसिएको छ । ५७८/३ र ५७८/६ नम्बरका स्तम्भको जग खोतलिएको छ ।
मनोज पौडेल

कपिलवस्तु — एक महिनाअघि आएको बाढीका कारण यहाँका पाँचवटा सीमास्तम्भ ढलेका छन् । केहीमा क्षति पुगेको छ । ढलेका स्तम्भलाई भेलले दिनदिनै सार्दै लगेको छ । त्यसलाई उठाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।

भेलमा बग्न थाले सीमास्तम्भ

विजयनगर गाउँपालिकास्थित चिरई खोलामा चारवटा स्तम्भ ढलेका छन् । विजयनगर–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमास्थित ५७८/७ नम्बरको स्तम्भ पानीमा ढलेको छ । त्यसभन्दा पाँच सय मिटर उत्तर ५७८/१० स्तम्भ लडेको छ । त्यसपछि ५७८/७ नम्बर स्तम्भभन्दा एक किलोमिटर दक्षिणमा दुईवटा ढलेका छन् ।

विजयनगर–५, गेडुवाजोत र भारतको प्रतापपुरको सीमामा रहेको ५७७/७ र ५७७/९ नम्बरका स्तम्भ ढलेका छन् । ५७७/९ नम्बर स्तम्भ बालुवामा धसिएको छ । त्यसको टुप्पो मात्र देखिन्छ । विजयनगर–५ का रामबहादुर थापा ढलेका सीमास्तम्भ देखेर चिन्तित छन् । ‘भेलले दिनदिनै सार्दै लगेको छ,’ उनले भने, ‘पछि यही कुराले विवाद नबढोस् ।’

प्रहरी जवान परशुराम यादवले दैनिक आएर निरीक्षण गर्ने गरेको बताए । ‘५७७/७ नम्बर स्तम्भ पानीमा डुबेको छ,’ उनले भने, ‘बाहिरै देखिँदैन ।’ स्तम्भ ढलेको बारे जिल्लामार्फत हेडक्वाटरमा जाहेर गरिसकेको इलाका प्रहरी गणेशपुरका निरीक्षक सुमन नेपालले बताए । ‘छिटो मर्मत गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘स्थानीयको माग त्यही छ ।’

उनका अनुसार ५७८/३ र ५७८/६ नम्बरका स्तम्भ पनि ढल्ने अवस्थामा छन् । जग देखिएको छ । बाढीले जग पुरेको माटो बगाएको छ । विजयनगर–१, चमरको जंगलमा रहेका दुई स्तम्भ क्षतिग्रस्त छन् । यसबारे स्थानीयले बुधबार जानकारी गराएका छन् । सबवन डिभिजन कार्यालय गुगौलीको गस्ती टोलीले साताअघि क्षति भएका सीमास्तम्भ फेला पारेको थियो ।

‘बाढीले एउटा सीमा स्तम्भ पुरिएको छ,’ सशस्त्र वनरक्षक नारायणप्रसाद तिमिल्सिनाले भने, ‘अर्कोको टुप्पो भाँचिएको छ ।’ ठूल्ठूला ढुंगाले पुरिएका छन् । स्तम्भ क्षतविक्षत छन् । सीमास्तम्भ रेखदेख गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख उपरीक्षक जनक पुरीले आफू नयाँ भएकाले बुझ्ने क्रममा रहेको बताए । बुझेर थप जानकारी दिने उनले सुनाए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार जग (फाउन्डेसन) कमजोर बनाउँदा स्तम्भ ढलेका हुन् । ‘मुस्किलले आधा मिटर पनि फाउन्डेसन छैन,’ विजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीले भने, ‘त्यही भएर टिकाउ भएन ।’

दुई मुलुकबीच सीमास्तम्भको संरक्षणमा बेवास्ता गरिएको उनले बताए । गत वैशाखमा स्तम्भ मर्मत र नयाँ गाडिएका थिए । दुई महिना नपुग्दै ढलेका हुन् । ठकुरापुरका अजय चौधरीले सरकारलाई यसबारे संवेदनशील हुन आग्रह गरे ।

‘बाढी आउनासाथ स्तम्भलाई बगाउने अवस्था छ,’ उनले भने, ‘त्यस कारण मर्मत ढिलो गर्न हुन्न ।’ उक्त पिलर जहाँ गाडिएका थिए, त्यहीं गाड्न प्राविधिक टोली छिटो आउनुपर्ने स्थानीय राजेन्द्र यादवले बताए । ‘सीमास्तम्भ बगेर अन्तै पुगेका छन्,’ उनले भने, ‘यो संवेदनशीलतालाई बुझ्नुपर्छ ।’

प्रकाशित : भाद्र २, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?